News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानडामा जन्मिएकी बलिउड अभिनेत्री नोरा फतेहीमाथि कन्नड गीत 'सरके चुनर तेरी सरके'को हिन्दी संस्करण अश्लील भएको आरोपमा वर्क परमिट रद्द गर्न माग गरिएको छ।
- सरकारले उक्त गीतलाई प्रतिबन्ध लगाएको छ भने राष्ट्रिय महिला आयोगले यस विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गरेको छ।
- नोरा फतेहीले गीत कन्नड भाषामा सुट गरेको र हिन्दी अनुवादबारे अनभिज्ञ रहेको बताएकी छन्, तर वकिलहरूले उनको स्पष्टीकरणलाई अस्वीकार गरेका छन्।
मुम्बई । क्यानडामा जन्मिएकी बलिउड अभिनेत्री नोरा फतेहीलाई अझै मुस्किल बढेको देखिन्छ । कन्नड फिल्म ‘केडी डेभिल’को गीत ‘सरके चुनर तेरी सरके’लाई लिएर अहिले विवाद चर्किएको छ ।
यस गीतको हिन्दी संस्करणमा प्रयोग भएका शब्दलाई धेरैले अश्लील भन्दै आलोचना गरेका छन् । यही कारण फतेही र अभिनेता सञ्जय दत्त दुवै आलोचनाको केन्द्रमा छन् ।
विवाद अझै बढ्ने देखिन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार, १० जना वकिलको समूहले गृह मन्त्रालयसँग फतेहीको वर्क परमिट रद्द गर्न माग गरेको छ । उनीहरूले फतेहीलाई देशबाट निष्कासन गर्नुपर्ने मागसमेत गरेका छन् ।
यसबीच, सरकारले ‘सरके चुनर तेरी सरके’ गीतलाई प्रतिबन्ध लगाइसकेको छ ।राष्ट्रिय महिला आयोगले पनि यस विषयलाई गम्भीर रूपमा लिएको उल्लेख छ ।
गीतकार रकीब आलमले भने यसको जिम्मेवारी निर्देशकमाथि थोपरेका छन् । उनका अनुसार निर्देशक प्रेमले कन्नड गीतलाई जबरजस्ती शब्दानुवाद अनुवाद गर्न लगाएका कारण यस्तो विवाद सिर्जना भएको हो ।
फतेहीविरुद्ध सूचना तथा प्रसारण मन्त्रालय, केन्द्रीय फिल्म प्रमाणन बोर्ड, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय महिला आयोगमा पनि उजुरी दर्ता गरिएको छ ।
नोराविरुद्ध चालिएको यो कदम केही हदसम्म अनौठो पनि देखिन्छ, किनकि फिल्मका निर्माता वा यही गीतमा देखिएका अभिनेता सञ्जय दत्तविरुद्ध त्यति ठूलो आवाज उठेको छैन, जति आलोचना भने अभिनेत्री नोरामाथि केन्द्रित भएको छ ।
उजुरीमा वकिलहरूले उक्त गीतलाई ‘अत्यन्त अश्लील’ र यौन उत्तेजना फैलाउने खालको भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार यो गीतले सार्वजनिक नैतिकता मात्र होइन, महिलाको गरिमामाथि पनि आघात पुर्याउँछ । फतेहीले यस्तो सामग्रीसँग जोडिएर भारतमा काम गर्ने आफ्नो अधिकारको दुरुपयोग गरेको दाबी गरिएको छ ।
उजुरीमा विदेशी ऐन, १९४६ का प्रावधान पनि उल्लेख गरिएको छ । सार्वजनिक शिष्टता वा व्यवस्था बिगार्न सक्ने गतिविधिमा संलग्न विदेशी नागरिकविरुद्ध सरकारले कारबाही गर्न सक्ने अधिकार रहेको उजुरीमा उल्लेख छ । यससँगै पासपोर्ट (भारत प्रवेश) ऐन, १९२० लगायतका अन्य कानुनी प्रावधानको पनि हवाला दिइएको छ ।
याचिकामा ‘सरके चुनर तेरी सरके’ गीतले विभिन्न कानुन उल्लंघन गरेको दाबी पनि गरिएको छ । यसमा भारतीय न्याय संहिता, महिलाको अश्लील चित्रण (निषेध) ऐन, १९८६ र सूचना प्रविधि ऐन, २००० समावेश छन् । यस्ता प्रस्तुतिले अश्लीलता बढाउने, महिलालाई वस्तुका रूपमा देखाउने र समाजमा गलत धारणा बलियो बनाउने तर्क पनि वकिलले गरेका छन् ।
यसअघि सामाजिक सञ्जालमा आलोचना र ट्रोलिङ बढेपछि फतेहीले पनि प्रतिक्रिया दिएकी थिइन् । उनले आफूलाई गीतका शब्दको अर्थबारे जानकारी नभएको बताइन्, किनकि उनले यो गीत कन्नड भाषामा सुट गरेकी थिइन् । पछि निर्माताले यसलाई हिन्दीमा अनुवाद गरेर रिलिज गरेको विषयमा आफू अनभिज्ञ रहेको उनले स्पष्ट पारेकी छन् ।
इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै उनले भनिन्, ‘मैले यो गीत तीन वर्षअघि कन्नडमा सुट गरेकी थिएँ । त्यो बेला यो ठूलो फिल्मको हिस्सा थियो र सञ्जय दत्त पनि थिए, त्यसैले मैले सहमति दिएको थिएँ ।’
उनले थपिन्, ‘मलाई यो ‘नायक होइन खलनायक हुँ म’को रिमेक हो जस्तो लागेको थियो । यसको हिन्दी संस्करणमा मेरो कुनै भूमिका थिएन । कन्नड भाषा नआउने भएकाले मैले अरूले भनेकै कुरामा भरोसा गरेँ । पछि गीतलाई हिन्दीमा डब गर्ने र शब्द परिवर्तन गर्ने काम गर्दा मसँग कुनै अनुमति लिइएन ।’
फतेहीले गीतको लञ्च कार्यक्रममा देखिएको अनुभव पनि सुनाएकी छन् । कार्यक्रममा कन्नड संस्करण हेर्दा केही तस्बिर आफूलाई ठीक नलागेको उनले बताइन् । उनले एआईबाट बनाइएका केही तस्बिर प्रयोग गरिएकोमा पनि असन्तुष्टि जनाइन् ।
वकिलहरूले फतेहीको यो स्पष्टीकरणलाई अस्वीकार गरेका छन् । उनीहरूका अनुसार यो ‘पछि बनाइएको बहाना’ मात्र हो । कलाकारले कुनै प्रोजेक्टबाट पारिश्रमिक र श्रेय लिन सक्ने भए पनि त्यसको सामग्रीबाट अलग हुन नसक्ने उनीहरूको तर्क छ । साथै, एआई प्रविधिको प्रयोगले जिम्मेवारी हटाउँदैन भन्ने कुरा पनि वकिलहरूले जोड दिएका छन् ।
विवाद चर्किएपछि निर्माताले युट्युबबाट उक्त गीत हटाएका छन् । यो विषय संसदसम्म पनि पुगेको छ । केन्द्र सरकारले बुधबार औपचारिक रूपमा यो गीतमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले लोकसभामा सांसद आनन्द भदौरियाको प्रश्नको जवाफ दिँदै उक्त निर्णयबारे जानकारी गराएका हुन् ।
प्रतिक्रिया 4