News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म ‘केडी : द डेविल’ को गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक हुनासाथ अश्लीलता आरोप लागेर युट्युबबाट हटाइएको छ।
- अल इन्डियन सिने वर्कर्स एसोसिएसनले चलचित्र प्रमाणन बोर्डका अध्यक्षलाई पत्र लेखेर गीतप्रति कडा आपत्ति जनाएको छ।
- राष्ट्रिय मानव अधिकार आयोगले आपत्तिजनक शब्द प्रयोग भएको भन्दै निर्माता पक्षलाई नोटिस जारी गरेको छ र उजुरी पनि दर्ता भएको छ।
मुम्बई । आगामी बलिउड फिल्म ‘केडी : द डेविल’ को नयाँ गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक हुनासाथ विवादमा परेको छ । सर्वसाधारणको विरोध र कानुनी उजुरी बढेपछि यो गीत युट्युबबाट हटाइएको छ ।
संजय दत्त र नोरा फतेही फिचर्ड यस गीतमाथि अश्लीलता फैलाएको आरोप लागेको छ । गीतका शब्द र दृश्यलाई लिएर सामाजिक सञ्जालमा पनि तीव्र आलोचना भइरहेको छ ।
यसैबीच, अल इन्डियन सिने वर्कर्स एसोसिएसनले केन्द्रीय चलचित्र प्रमाणन बोर्डका अध्यक्ष प्रसून जोशीलाई पत्र पठाउँदै गीतप्रति कडा आपत्ति जनाएको छ । संस्थाले यस्ता अश्लील र द्धिअर्थी सामग्री भारतीय सिनेमाका लागि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
गीत स्ट्रिमिङ प्लेटफर्ममा सार्वजनिक हुनासाथ प्रयोगकर्ताले यसका शब्द र दृश्यलाई ‘फोहोर’ र ‘द्धिअर्थी’ भन्दै आलोचना गरेका छन् । विवाद यति बढ्यो कि सार्वजनिक भएको एक दिनमै निर्माता पक्षले गीत हटाएको छ ।
अहिले युट्युबमा गीतको लिंक खोल्दा भिडियो उपलब्ध नभएको, ‘यो भिडियो प्राइभेट छ’ भन्ने सन्देश देखिन्छ । नोरा फतेहीले पनि आफ्नो इन्स्टाग्राम खाताबाट उक्त गीतको भिडियो हटाएकी छन् ।
यस गीतलाई लिएर सर्वसाधारण मात्र होइन, फिल्म क्षेत्र र खेलकुद जगतका व्यक्तिले पनि असन्तुष्टि जनाएका छन् । गायक अरमान मलिकले सामाजिक सञ्जालमार्फत गीतको आलोचना गर्दै यसलाई गीत लेखन क्षेत्रमा ‘गिरावटको नयाँ उदाहरण’ भनेका छन् ।
त्यसैगरी, पूर्व क्रिकेटर हरभजन सिंहले पनि गीतको सामग्रीप्रति कडा आपत्ति जनाएका छन् । धेरैले नोरा फतेहीका नृत्य स्टेप र हाउभाउ अत्यन्त अश्लील रहेको भन्दै यसले युवामा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन् ।
गीतविरुद्ध कानुनी दबाब पनि बढ्दै गएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै फिल्मका निर्माता पक्षलाई नोटिस जारी गरेको छ । साथै, एक सामाजिक अभियन्ता तथा अधिवक्ताले दिल्ली प्रहरीको साइबर सेलमा पनि यस गीतविरुद्ध उजुरी दर्ता गराएका छन् ।
उजुरीमा यो गीतले समाजमा अश्लीलता फैलाउने आरोप लगाइएको छ । उजुरीकर्ताले गीतका शब्दकार रकीब आलम, निर्देशक प्रेम र संगीतकार अर्जुन जान्याविरुद्ध कडा कारबाही गर्न माग गरेका छन् ।
यो गीत फिल्म ‘केडी : द डेविल’को एक आइटम नम्बर हो । यसमा नोरा फतेहीले घाघरा-चोली लगाएर नृत्य गरेकी छन् । गीतको हुक स्टेप, जहाँ उनले आफ्नो पल्लु प्रयोग गरेकी छन्, सार्वजनिक भएसँगै चर्चामा आएको थियो ।
यद्यपि, यस विवादबारे फिल्मका निर्माता, संजय दत्त वा नोरा फतेहीको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया 4