News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि प्रश्न उठाउँदा गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रश्न उठ्ने बताए।
- पौडेलले विशेष महाधिवेशनबाट निर्वाचित समिति नै पन्ध्रौं महाधिवेशनको तयारी समिति रहेको उल्लेख गरे।
- उनले प्रक्रिया जहाँ पुग्यो त्यहाँबाट फर्कन नहुने र सबै मिलेर पन्ध्रौं महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताए।
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि प्रश्न उठाउँदा गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रश्न उठ्ने बताएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानीका क्रममा विशेष महाधिवेशनबाट निर्वाचित समिति नै पन्ध्रौं महाधिवेशनको तयारी समिति रहेको जिकिर गरे ।
‘कोही अग्रजहरूले यो प्रक्रियागत ढंगले टुंग्याउने सन्दर्भमा कार्यशैलीको विषयमा रिजर्भेसन राख्नुभएको छ भने हामी त्यसलाई सच्याउन तयारी छौं,’ महामन्त्री पौडेलले भने, ‘हामी कसैलाई पनि सिनियर नेतालाई अपमान गर्ने कुनै उद्देश्य छैन । पार्टीलाई कसरी व्यवस्थित र एकीकृत गर्न सकिन्छ भन्ने कुरामा मात्रै चिन्तित छौं ।’
पार्टी नेतृत्वबारे प्रक्रिया जहाँ पुगको हो त्यहाँबाट फर्कनुपर्छ भन्ने तर्क ठिक नहुने उनको भनाइ छ ।
‘प्रक्रियाबाट जहाँ पुग्यो त्यहाँबाट फर्कनुपर्छ भन्ने पनि ठिक हुँदैन । सबै मिलेर सँगसँगै जाने, व्यवहारका कारण ठेस पुगेको छ भने त्यसलाई सच्याउने बाहेक कुनै विकल्प छैन,’ पौडेलले भने, ‘पन्ध्रौं महाधिवेशनको तयारीमा लाग्नेगरी वातावरण बनाउँदैछौं ।’
साथै, उनले विशेष महाधिवेशन र निर्वाचित नेतृत्वमाथि प्रश्न उठाउँदा निर्वाचनमाथि पनि प्रश्न उठ्ने जिकिर गरे ।
‘विशेष महाधिवेशनको बारेमा रिजर्भेसन राख्नुभएका अग्रज साथीहरू पनि पर्नुहुन्छ । विशेष महाधिवेशन र नेतृत्वमाथि प्रश्न उठाउँदा निर्वाचनमाथि पनि प्रश्न उठ्छ,’ महामन्त्री पौडेलले भने, ‘विशेष महाधिवेशनको नेतृत्व मान्दिनँ भन्दा निर्वाचन मान्न कसरी मिल्छ ? त्यसकारण यो धेरै अगाडि बढिसक्यो । अब प्रक्रिया जहाँ पुगको छ त्यहाँबाटै सँगसँगै अघि बढौं ।’
प्रतिक्रिया 4