News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति असनमा सेतो मच्छेन्द्रनाथको रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन् ।
- सेतो मच्छेन्द्रनाथको ३२ हात लामो रथ चैत्र शुक्ल अष्टमीदेखि तीनधारा पाठशालाबाट तानेर असन ल्याइएको छ।
- रथयात्रा तीन दिनसम्म असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छेन्द्रबहालमा पुगेर सम्पन्न हुन्छ।
१३ चैत, काठमाडौं । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका छन् ।
असनमा गएराति करिब १० बजे उनले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना एवं दर्शन गरेका हुन् । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदशैंका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।
रथ दोस्रो दिन असनबाट बसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन बसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ ।
राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्राको प्रक्रिया सुरु हुने परम्परा छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ ।
रथयात्राका लागि बिहीबार बेलुकी ५ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन बिहीबार रथ असन पुर्याइएको छ ।
सोही क्षेत्रमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । चैत्र शुक्ल अष्टमीका दिन बिहीबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी एवं काठमाडौँ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रहिसकेका नीलकाजी शाक्यले जानकारी दिए ।
प्रतिक्रिया 4