+
+
Shares

प्रधानमन्त्री बालेनले बनाए यी कीर्तिमान

वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्दै रास्वपा प्रवेश गरेको अढाइ महिना नहुँदै बालेन देशको ४३ औं प्रधानमन्त्री भए ।

सइन्द्र राई सइन्द्र राई
२०८२ चैत १३ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका छन्, जो मुलुकमा बहुदलीय शासन प्रणालीपछि जन्मिएका पहिलो प्रधानमन्त्री हुन्।
  • बालेन्द्र शाहले झापा-५ निर्वाचन क्षेत्रमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै सर्वाधिक मत प्राप्त गर्ने कीर्तिमान बनाएका छन्।
  • प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा ७ जना ४० वर्षमूनिका छन् र गृहमन्त्रीमा सुधन गुरूङलाई नियुक्त गरेका छन्।

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री हुँदा अनेक कीर्तिमान बनेका छन् ।

मुलुकमा बहुदलीय शासन प्रणाली स्थापना भएपछि जन्मिएका व्यक्ति प्रधानमन्त्री हुने बालेन पहिलो व्यक्ति हुन् । अहिलेसम्म देशले राणाशासनकै बेला जन्मिएका व्यक्तिलाई नेतृत्व मान्दै थियो ।

जेनजी आन्दोलनपछि विस्थापित भएका शेरबहादुर देउवा राणा शासनकै बेला जन्मिएका नेता हुन् । जेन्जी आन्दोलन भएको थिएन भने ७९ वर्षका देउवा देशको प्रधानमन्त्री बन्ने लाइनमा थिए ।

तर देउवाको साटो ३६ वर्षका युवा बालेन प्रधानमन्त्री भए । बालेनलाई प्रधानमन्त्रीको सिट हस्तान्तरण गर्ने सुशीला कार्की ७३ वर्षकी छन् । अर्थात कार्कीले आफ्नो उमेरभन्दा आधा कम उमेरका व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गरिन् ।

सुशीला कार्कीभन्दा अघि ७४ वर्षका केपी शर्मा ओली प्रधानमन्त्री थिए । अझै २०/२५ वर्षसम्म नेतृत्व नछोड्ने सार्वजनिक घोषणा गर्दै हिँडेका ओलीलाई उनकै निर्वाचन क्षेत्र झापा-५ बाट बालेनले पराजित गरे ।

गत २१ फागुनमा सम्पन्न उक्त निर्वाचनमा बालेन र उनी आवद्ध रास्वपाका उम्मेदवारहरूको जितमा कीर्तिमानको वर्षा भए । निवर्तमान प्रधानमन्त्री ओलीलाई हराउँदा बालेनले सर्वाधिक मत पाएर निर्वाचित हुने कीर्तिमान बन्यो ।

झण्डै ५० हजार मतान्तरले ओलीलाई पराजित गर्दा बालेनले ६८ हजार ३४८ मत पाएका थिए भने ओलीले जम्मा १८ हजार ७३४ मत पाएका थिए ।

नेपालको संसदीय निर्वाचनमा बालेनले पाएको मत कीर्तिमानी हो, नेपालको संसदीय निर्वाचनमा अहिलेसम्म यति धेरै मत कसैले पाउन सकेका थिएनन् ।

उमेर समूहका हिसाबले मात्र नभएर समुदायगत प्रतिनिधित्वका हिसाबले पनि बालेन प्रधानमन्त्री बन्नु कीर्तिमान हो । नेपालको इतिहासमा अहिलेसम्म मधेशी समुदायका व्यक्ति प्रधानमन्त्री हुन सकेका थिएनन् । उनी पहिलो व्यक्ति बने जो मधेशी समुदायका प्रधानमन्त्री बने ।

बालेनअघि सुशीला कार्कीले पहिलो महिला प्रधानमन्त्रीको कीर्तिमान बनाएकी थिइन् । सुशीलाले तोडेको कीर्तिमानलाई बालेनले निरन्तरता दिए ।

राजनीति प्रवेशका हिसाबले पनि बालेनको कीर्तिमानी सफलता हो । यसअघि पञ्चायतकाल अथवा राजतन्त्रमा जंगबहादुर राणा र तुलसी गिरीले कम उमेरमा प्रधानमन्त्री बन्ने कीर्तिमान बनाए पनि बहुदलीय प्रणालीभित्रै निर्वाचन जितेर बालेन प्रधानमन्त्री भए ।

र्‍यापर पृष्ठभूमिका इन्जिनियर बालेन ०७९ को स्थानीय निर्वाचनबाट औपचारिक रुपले राजनीतिमा प्रवेश गरेका थिए । त्यसैबेला पनि उनको कीर्तिमानी जित थियो ।

कांग्रेस र एमाले नेतृत्वका दुई ठूला गठबन्धनका उम्मेदवारलाई बालेनले गैरदलीय (स्वतन्त्र) उम्मेदवार भएर मेयर जितेका थिए । मेयर जितेपछि युवा पुस्ताबीच सर्वाधिक लोकप्रिय भए । राजधानी शहरकै मेयर हुँदा अन्तर्राष्ट्रिय मिडियाको कभरेजमा परे ।

अमेरिकाको टाइम म्यागाजिनले संसारका सर्वाधिक सय नेताको सूचीमा बालेनलाई राख्यो । यसले उनको उचाइ र लोकप्रियता झनै बढायो ।

सामाजिक सञ्जालमा लेख्ने स्टाटस (कतिपय त आक्रामक र विवादित हुन्थे)मा हुने अन्तरक्रिया नेपालका कोही पनि नेताभन्दा कयौँ गुणा बढी हुन्थ्यो ।

तर, भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण मेयर पदबाट गत ४ माघमा राजीनामा दिएर बालेनले संसदीय राजनीतिको यात्रा सुरु गरे । सांसद पदको उम्मेदवार बन्नुअघि उनी रास्वपा प्रवेश गरे ।

वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्दै रास्वपा प्रवेश गरेको अढाइ महिना नहुँदै बालेन देशको ४३ औं प्रधानमन्त्री भए ।

राजनीति प्रवेशका हिसाबले मात्र नभएर अरु कुनै पार्टीमा गएर यति छोटो अवधिमै प्रधानमन्त्री बन्ने कीर्तिमान लगभग असंभव जस्तै हुन्छ । तर त्यो अपत्यारिलो सफलता निकाल्दै बालेन प्रधानमन्त्री भए ।

हिन्दू र बौद्ध धार्मिक विधि बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका बालेनले आफ्नो मन्त्रिपरिषद्लाई पनि युवामय बनाएका छन् ।

१५ सदस्यीय मन्त्रिपरिषद्‌मा ७ जना त ४० वर्षमूनिका छन् । आफूभन्दा तीन वर्ष मात्र बढी उमेरका सुधन गुरूङलाई गृहमन्त्री बनाउनु उनको अर्को अपत्यारिलो निर्णय हो । र, देशको नेतृत्व नाति पुस्ताको काँधमा आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?