News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले वित्तीय सुशासनलाई आफ्नो मार्गदर्शन सिद्धान्त भनेका छन्।
- श्रेष्ठले मन्त्रालयका पदाधिकारीसँग छलफल गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिएको बताए।
- मन्त्री श्रेष्ठले दशकौं पुराना सिँचाइ योजनाहरू गुणस्तरीय तवरबाट निर्माण गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे।
१३ चैत, काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूहरूको मार्गदर्शन सिद्धान्त भनेकै वित्तीय सुशासन रहेको बताएका छन् । शुक्रबार ऊर्जामन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले ठोस निर्णय नगरे पनि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताए ।
ऊर्जा मन्त्रालय तथा मातहत संस्थाहरूका प्रमुखसँग छलफल गरेका श्रेष्ठले सामान्य बैठकहरूको पनि लेखापरीक्षण गरिनुपर्ने बताए । ‘मन्त्रालय र मातहतका संस्थाहरूबाट के कस्ता काम भइरहेका छन् र कसरी आगामी दिनमा काम हुनेछ भन्ने आउटलाइनको हिसाब मात्र निवेदन गरेँ,’ मन्त्री श्रेष्ठले भने, ‘विस्तृत विभाग अन्तर्गतका छलफलमा जाउँला, जति पनि जटिलताहरू छन्, कहाँ अड्केको छ, केले गर्दा अप्ठ्यारो भएको छ भन्ने विषय खोज्ने हामीले नै हो ।’
दशकौं पुराना सिँचाइका योजनाहरू कार्यान्वयन हुन नसकेको अवस्था रहेको श्रेष्ठले बताए । ‘ती आयोजनालाई समयमा गुणस्तरीय तवरबाट निर्माण गर्नुपर्ने मुख्य चुनौती छ’ उनले भने । मधेशमा बढ्दो मरभूमि चुनौतीलाई प्रभावकारी समाधान गर्नुपर्ने उनले बताए ।
बारा, पर्सा जिल्लामा अहिले पनि सुक्खायाममा पालिकाहरूले ट्याङ्करबाट पानी खुवाउनु परिरहेको अवस्था रहेको सुनाउँदै मन्त्री श्रेष्ठले भने, ‘यो समस्यामा पनि एकपटक हामी गहन छलफल गरेर काम गर्नु पर्नेछ ।’
शुक्रबार मन्त्रालयमा जम्मा भएका विभिन्न अधिकारीहरूलाई सामूहिक भावनामा जोड दिन सुझाए । मन्त्रालय तथा मातहतका संस्थाका पदाधिकारीको भावनालाई सकारात्मक सदुपयोग गरियो भने देशको हितमा काम हुने उनको भनाइ छ । ऊर्जा मन्त्रालयको महत्त्वलाई बुझेर सापेक्ष नीति तथा कार्यक्रमहरूमा काम गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए ।
प्रतिक्रिया 4