१४ चैत,विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ ।
शनिबार कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै सरकारको कदमले मुलुकलाई मुठभेडतर्फ धकेल्ने भन्दै तत्काल रिहाइको माग गरेका हुन् ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा गरिएको पक्राउ पूर्वाग्रही रहेको प्रदेश कमिटीले जनाएको छ । ‘२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अराजनीतिक दलको सरकारले लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार सुरु गरेको छ’, विज्ञप्तिमा भनिएको छ,‘ भाद्र २३ गतेको युवाहरूको शान्तिपूर्ण आन्दोलनलाई नियोजित रूपमा प्रयोग गरी गैरसंवैधानिक बाटोबाट बनेको सरकारले प्रतिशोध साध्ने काम गरेको छ ।’
अध्यक्ष पक्राउलाई कम्युनिष्ट आन्दोलन र लोकतन्त्र सिध्याउने खेलको रूपमा एमालेले व्याख्या गरेको छ । विज्ञप्ति मार्फत अध्यक्ष ओलीसहित गिरफ्तार गरिएका अन्य नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरिएको छ । सरकारको हस्तक्षेपविरुद्ध सशक्त आन्दोलन र संघर्षमा उत्रन एमाले कोशी प्रदेशले नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेको छ ।
एमालेले आन्दोलनको कार्यक्रम तय गर्न शनिबार विराटनगरमा बैठक आह्वान गरेको छ । केन्द्रीय सदस्य पर्शुराम बस्नेतका अनुसार बैठकले पार्टीको प्रदेश स्तरीय आन्दोलनको कार्यक्रम तय गर्नेछ । अध्यक्ष पक्राउको विरोधमा पार्टीले सडक, सदन र अदालतबाट कानुनी र राजनीतिक लडाइँ एकसाथ अगाडि बढाउने उनले बताए ।
‘हामी कानुनी लडाइँ पनि लड्छौं, सदनमा पनि सशक्त आवाज उठाउँछौँ र सडक संघर्षमा पनि उत्रिन्छौं’, बस्नेतले भने,‘हिजो पनि यस्ता दमनका विरुद्ध लडेका हौँ र आज पनि डटेर सामना गर्न तयार छौं ।’
प्रतिक्रिया 4