१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेलाबारे पहिले पनि गरिरहेकै अभ्यास रहेको बताएका छन् । साेमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा खड्का–काेइराला समूहले नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न राखेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ,’ नेता कोइरालाले भने, ‘तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ ।’
संसद्मा हुने गतिविधि आफूहरू जानकारी लिन पनि यस्ता भेला भइरहने उनले आशय व्यक्त गरे । ‘संसद्मा के भइरहेको छ, कसो भइरहेको छ ? हामी संसद बाहिर छौँ, धेरै साथीहरू यसपटक । त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर छलफल हुन्छ,’ उनले भने ।
संसद्मा लैजाने विषयवस्तुका बारेमा संसद्बाहिर रहेका नेताहरूसँग सुझाव लिइराख्न पनि उनले नवनिर्वाचित सांसदहरूसँग आग्रह गरे । उनले भने, ‘मभन्दा पनि धेरै पुराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ । उहाँहरूसित हामीसित सरसल्लाह पनि गर्नुहोला ।’
संसदमा धेरै विषयवस्तु आउने बताउँदै उनले ती विषयवस्तु बुझेर विज्ञसँग छलफल गराउन आफू तयार भएको उनले बताए ।
प्रतिक्रिया 4