News Summary
Generated by OK AI. Editorially reviewed.- इरानमा इजरायल र अमेरिकाले वरिष्ठ नेताहरूको हत्या गरेपछि महायुद्धको अवस्था सिर्जना भएको छ।
- इरानी सिनेमा काव्यात्मक, यथार्थवादी र प्रतीकात्मक शैलीमा सामाजिक तथा राजनीतिक विषयवस्तु प्रस्तुत गर्छ।
- इरान-इराक युद्धले इरानी सिनेमालाई न्यूनतावादी र काव्यमय यथार्थवादतर्फ विकास गराएको छ।
इजरायल र अमेरिकाले इरानका वरिष्ठ नेताहरूको हत्या गरेपछि इरान हाल महायुद्धको चपेटामा फसेको छ । इरान मात्र हैन मध्यपूर्वका धेरै देशहरू, इजरायल, अमेरिका र युरोप पनि यस युद्धबाट प्रभावित बनेका छन् । युद्धका नैतिक, आर्थिक र राजनैतिक पक्षहरू हुन्छन् ।
युद्धले कसैलाई फाइदा हुन्छ धेरैलाई नोक्सान नै गर्छ । यद्यपि केहीका फाइदाका लागि भए पनि संसारमा युद्धहरू भइरहन्छन् । मलाई लाग्छ एक जना पनि निर्दोष व्यक्तिको हत्या हुन्छ भने त्यो युद्धको औचित्य पुष्टि हुन सक्दैन चाहे त्यो धर्मयुद्ध नै किन नहोस् ।
मलाई सिनेमा औधी मनपर्छ । सिनेमा हेरेर घन्टौँ बिताउनु, सिनेमा पढाउनु र सिनेमाको बारेमा लेख्नु मेरो उत्साह, जुनून र दिनचर्या सबै हो । इरानी सिनेमाहरू संसारमै बन्ने सिनेमाहरू मध्ये अब्बल हुन्छन् भन्दा अत्युक्ति हुँदैन ।
थुप्रै इरानी सिनेमाहरूले मेरो हृदय छोएका छन् र मेरो मस्तिष्कमा नमेटिने छाप छोडेका छन् । मैले यो आलेख किन लेख्दछु भन्ने कुरा इरान युद्धले इरानी सिनेमा पर्ने प्रभाव सँग जोडिएको छ । १९८० देखि १९८८ सम्म चलेको इरान इराक युद्धले त्यस बेलाको इरानी सिनेमाको विकासलाई प्रतिकुल असर पारेको थियो तर निस्तेज गर्न सकेन ।
कलाले विभिन्न रूपमा आफ्नो बाटो पहिल्याउँछ तर कहिलेकाहीँ बाटाहरूमा लाग्ने ठूला–ठूला पर्खालहरूले कला र सभ्यताहरूलाई समाप्त बनाएका उदाहरणहरू प्रशस्त छन् । यो युद्ध पनि इरानी सिनेमा र सभ्यताको पतनको कारक नबनोस् ।
के हुन इरानी सिनेमाका विशेषता ?
इरानी सिनेमा काव्यात्मक हुन्छन् र यथार्थवादी पनि । सिनेमामा दार्शनिक गहिराइ उनीहरूको विशेषता हो । सेन्सरसिपको सीमितताका बाबजुद कथावाचन शैली उम्दा हुन्छ । संवाद यति गहकिला हुन्छन् कि इरानी सिनेमाका दर्शकलाई अरू सिनेमाका संवाद फगत फिका लाग्छ, पातलो रङ र चिनी नभएको फिका चिया जस्तो ।
इरानी सिनेमामा प्रतीक र बिम्बहरूको प्रयोग अद्भूत रूपमा गरिएको हुन्छ । राजनैतिक, सामाजिक, सांस्कृतिक र व्यक्तिगत चरित्रलाई बिम्बको माध्यमबाट प्रस्तुत गर्न सायदै इरानी सिनेमालाई संसारका अरू सिनेमाले प्रतिस्पर्धा देलान् । विश्वास नलागे सन् २००० मा जाफर पनाहीले निर्माण र निर्देशन गरेको ‘द सर्कल’ हेर्नुहोस् ।
इरानी सिनेमामा काव्य र बिम्बहरूको थोरै कुरा गरौँ । सिनेमाको यो छनोट सौन्दर्यको छनोट मात्र हैन राजनैतिक र सांस्कृतिक अवरोधले सिर्जना गरेको रणनीति पनि हो । सिधा रूपमा समाजका विसङ्गतिलाई प्रहार गर्दा झेल्नु पर्ने अवरोध छल्न सुरु गरिएको रणनीति समय सँगै सुन्दर बिम्बको सशक्त प्रयोगमा परिणत भयो ।
सिनेमा निर्माताहरूले राजनैतिक, सामाजिक र दार्शनिक विषयवस्तुहरूलाई फरक रूपमा प्रस्तुत गर्न रोजेको बाटो कालान्तरमा गएर काव्य र बिम्बको समष्टिगत प्रारूप बन्यो । इरानी सिनेमामा देखाइने कुनै पनि वस्तुलाई लिएर तपाई भ्रममा नपर्नु होला त्यहाँ देखाइने धुलो, हावा, रूख, बाटो, पहाड, झ्याल, ढोका, पर्खाल आदिलाई हल्का रूपमा लिनुभयो भने अनर्थ हुन्छ । ती अरू सिनेमामा जस्तो केवल देखाउनका लागि देखाइएका हुँदैनन् । प्रत्येकले केही न केही अर्थ बोकेका सामान्य लाग्ने तर मजबुत बिम्ब हुन्छन् ।
अब्बास किरोस्तामीले आफ्ना सिनेमामा बाल बालिकाहरूमार्फत प्रयोग गर्ने बिम्ब दमदार हुन्छन् । निर्दोषता, सत्य र नैतिक स्पष्टता बाल मनोविज्ञानमार्फत कसरी प्रयोग गरेको छ भनेर बुझ्न १९८७ मा किरोस्तामीले लेखेको र निर्देशन गरेको ‘व्हेर इज द फ्रेन्डस हाउस’ भन्ने सिनेमा हेर्दा हुन्छ । एउटा सानो केटाले आफ्नो साथीको नोट बुक फिर्ता गर्न गरेको यात्राले नैतिक उत्तरदायित्व र मानवीय संवेदना बिम्बित गर्छ ।
उसले बोकेको नोट बुक आफैँमा जिम्मेवारी र चेतनाको प्रतीक हो । इरानी सिनेमामा देखाइने सामान्य वस्तुले पनि बृहत् अर्थ बोकेको हुन्छ । किरोस्तामीले लेखेको र जाफर पनाहीले निर्देशन गरेको ‘द ह्वाइट बलुन’ (१९९५) मा प्रयोग गरिएको बलुनको बिम्ब इच्छा, वाल आकाङ्क्षा र कमजोर आशा हो । अजगर फरादीको सिनेमा ‘अ सेपेरेसन’ ( २०११) मा देखाइएको घर झगडाले तत्कालीन इरानको वर्ग संघर्ष, नैतिक अस्पष्टता र सत्य तथा न्यायको खोज बिम्बात्मक रूपमा प्रस्तुत गरेको छ ।
सिनेमा निर्माणमा न्यूनतावादी सोच
इरानी सिनेमाको अर्को विशेषता सिनेमा निर्माणमा न्यूनतावादी सोच हो । सिनेमाका पटकथा सामान्य हुन्छन्, सीमित लोकेसनको छनोट र न्यून कलाकारको अभिनयले सिनेमालाई थोरै बजेटमा सीमित गर्न मद्दत गर्छ ।
कथाहरू दैनिक जीवनका क्रियाकलाप, बालबालिकाहरूको मनोविज्ञान, ग्रामीण परिवेश र मानिसका सामान्य संघर्ष वरिपरि घुमेका हुन्छन् ।
इरानी सिनेमाले कथानक र यथार्थको झिनो रेखालाई मेटाइदिएको हुन्छ त्यसैले इरानी सिनेमालाई डकुमेन्ट्री र सिनेमाको सम्मिश्रण भन्दा फरक पर्दैन । कलाकारको छनोट पनि काइदाको हुन्छ । सिनेमा निर्माताले व्यावसायिक कलाकार अत्यावश्यक बाहेक प्रयोग गरेको पाइँदैन । अव्यावसायिक कलाकार को छनोटले सिनेमाको खर्च घटाउँछ ।
न्याचुरल लाइटमा सिनेमा खिच्नु इरानीहरूको विशेषता हो । अनावश्यक चमक दमक मन नपाउने भएकोले उनीहरू दर्शकलाई ‘रियल सिनेमा’ को अनुभव गराउन खप्पिस हुन्छन् ।
व्यक्ति प्रदान र अस्तित्ववादी विषयवस्तु
इरानी सिनेमा व्यक्तिविरुद्ध समाजको प्रस्तुतीकरण हो । जीवन, मृत्यु, आत्मसम्मान, आध्यात्मिक र तात्विक विषयवस्तुको प्रयोग इरानी सिनेमाका आत्मा हो भन्दा फरक पर्दैन । निक्कै सिनेमाहरूमा महिलाहरूको काम, कर्तव्य, अधिकार, व्यक्तिगत स्वतन्त्रता र परिवेशको सीमितता देखाइएको हुन्छ । इरानी समाज र जीवन विश्वभरका धेरै मानिसहरूका लागि नदेखेको र नसुनेको विषय हो ।
उनीहरूका सिनेमाले सामाजिक परिवेश, व्यक्तिगत संघर्ष, अस्तित्वको सङ्कट र स्वतन्त्रताको छनोट र पारिवारिक दुख काव्यात्मक रूपमा उजागर गरिदिन्छ । हामीले देखेको इरानी समाज भनेको नै इरानी सिनेमा हो र इरानी सिनेमा भनेको त्यहाँको समाज । इरानी सिनेमाले समाजलाई ऐनामा प्रस्तुत गर्छ तर ऐनाको बिम्बलाई पेन्टरको ब्रसले परिमार्जन र संशोधन गरेको हुन्छ ।
हो त्यही संशोधन कलात्मकता हो जुन अरू विश्व सिनेमामा कम हेर्न पाइन्छ । मलाई इरानी सिनेमाको अर्को मन पर्ने कुरा उनीहरूले शोषण, असमानता र विद्रोहलाई कसरी कलात्मक रूपमा प्रस्तुत गरेका हुन्छन् भन्ने हो । पर्सियन कविता र सुफी दर्शनबाट प्रभावित भएकोले यसमा काव्य, संगीत र तालमेल उम्दा हुन्छ । अध्यात्म र सामाजिक यथार्थ बिम्बका रूपमा प्रख्यात कवि रूमि र हफिजले कवितामा लेखेझैँ किरोस्तामी, माजिदी र पनाहीले सिनेमामा कुँदेका हुन्छन् । इरानी सिनेमाको यो एउटा अद्भूत परम्परा हो।
इरानी सिनेमामा अक्सर देखिने सडक यात्रा अस्तित्व सङ्कट र पहिचानको यात्रा हो । आउनुहोस् एक छिन अब्बास किरोस्तामीले लेखेको, निर्माण, सम्पादन र निर्देशन गरेको ‘टेस्ट अफ चेरी’ मा भएको प्रमुख पात्रको सडक यात्रामा सामेल बनौँ । सिनेमाको प्रमुख पात्र तेहरानको सडकमा एक जना कामदारको खोजीमा निस्कन्छ ।
उसले कामदारलाई आफ्नो काम गरे बापत ठूलै रकम दिने योजना बनाएको हुन्छ । यात्राको क्रममा रहस्य खुल्दै जान्छ र उसको आत्महत्या गर्ने योजना दर्शकलाई थाहा हुन्छ । प्रमुख पात्रले आफ्नो चिहान पनि खनी सकेको हुन्छ ।
अब उसलाई यस्तो कामदारको जरुरत हुन्छ जसले आत्महत्यापश्चात् उसलाई चिहानमा गाडिदियोस् । उसले आत्महत्याको कारणबारे कसैलाई भन्दैन । अन्त कसरी हुन्छ भन्ने थाहा पाउन त तपाईँले सिनेमा हेर्नु पर्यो । यति राम्रो सिनेमाको स्पोइलर म किन दिऊँ? यो यात्रा एउटा कुशल बिम्ब हो । यही हो अस्तित्वको संकट र खोज भनेको । यही पात्रको यात्रा । हामी सबैको यात्रा ।
युद्धको सिनेमामा प्रभाव
भनिन्छ ‘सिनेमामा युद्धहरू हुन्छन् तर युद्धमा सिनेमाहरू मर्छन्’ । सिनेमा मात्र हैन प्राय जसो कलाका सबै विधाहरूलाई युद्धले प्रभावित गर्छ । १९८० देखि १९८८ सम्म भएको इरान-इराक युद्धले सिनेमालाई असर त गर्यो तर इरानी सिनेमाको पुनर्जागरण पनि भएको देख्न सकिन्छ ।
युद्धले अरू कलाका विधाहरूलाई धेरै प्रभावित गर्यो तर सिनेमालाई भने नयाँ सिराबाट विकसित हुने अवसर प्रदान गर्यो । युद्धपश्चात् इरानी सिनेमा मितव्ययी बन्यो । कम खर्चमा कसरी सिनेमा बनाउने भन्ने खोज सुरु भयो र पूर्णतया सफल पनि । युद्धले इरानी सिनेमालाई प्रतिरोध, स्मृति र काव्यमय यथार्थवादको सिनेमामा रूपान्तरण गर्यो, जहाँ मौनता र सरलताले समेत कलात्मक र भावनात्मक भार वहन गर्छन् ।
युद्ध पछि इरानी सिनेमा अरू धेरै देशहरूको युद्धपछिको सिनेमाभन्दा फरक ढंगको विकास भयो । प्रत्यक्ष युद्ध दृश्यहरूमा केन्द्रित रहनुको सट्टा, यसले राज्यद्वारा प्रवर्द्धित प्रचारात्मक सिनेमाबाट क्रमशः मानवतावादी, न्यूनतावादी र रूपकात्मक शैलीतर्फ रूपान्तरण गर्यो ।
अब्बास किरोस्तामी र जाफर पनाहीजस्ता निर्देशकहरूले युद्धका कथाभन्दा फरक सामान्य मानिसको जीवन, बालबालिका, नैतिक द्विविधा र सामाजिक यथार्थमा ध्यान केन्द्रित गरे, जहाँ प्रतीक र रूपकमार्फत युद्धको आघात अप्रत्यक्ष रूपमा व्यक्त गरिन्छ । यस विकासले इरानी सिनेमालाई विश्व स्तरमा काव्यमय यथार्थवाद, विषयवस्तुको विरोधाभास र दार्शनिक गहिराइका लागि चिनायो, जहाँ युद्ध प्रत्यक्ष देखिँदैन तर समाजलाई प्रभावित गर्ने पृष्ठभूमिको रूपमा सधैँ उपस्थित हुन्छ ।
यसको विपरीत, हालको इरान-इजरायल-अमेरिका युद्धले फरक प्रभाव पार्ने सम्भावना छ । यो द्वन्द्व ठूलो स्तरको विनाश, राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय सम्बन्ध सँग जोडिएको छ, जसले समाजमा गहिरो असर पारिरहेको छ । यदि यो अवस्था जारी रह्यो भने, इरानी सिनेमा पुनः स्पष्ट राजनीतिक कथावस्तुतर्फ फर्किन सक्छ, जहाँ राज्य-समर्थित युद्ध सिनेमाको पुनरागमन हुन सक्छ । साथै स्वतन्त्र फिल्म निर्माताहरूले युद्धको आघात, निर्वासन, सेन्सरसिप र प्रतिरोधका विषयहरूलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न सक्छन्।
आजको डिजिटल युग र विश्वव्यापी पहुँचका कारण नयाँ सिनेमाले अन्तर्राष्ट्रिय, आलोचनात्मक र तत्काल प्रतिक्रिया दिने शैली अपनाउन सक्छ, जसले केवल राष्ट्रिय पीडा मात्र नभई विश्व राजनीति, विस्थापन र वैश्विक चिन्तालाई पनि समेट्नेछ ।
यसरी, अघिल्लो युद्धले सूक्ष्म र काव्यमय अभिव्यक्तिलाई जन्म दिएको भए, वर्तमान द्वन्द्वले अझ तात्कालिक र प्रत्यक्ष राजनीतिक सिनेमा विकास गर्न सक्छ, तर अझै पनि इरानी सिनेमाको परम्परा अनुसार मौनता, रूपक र दैनिक जीवनमार्फत ऐतिहासिक आघात व्यक्त गर्ने शैली कायम रहने सम्भावना छ ।
(लेखक नेपाली तथा अन्तर्राष्ट्रिय सिनेमाका अध्येता साथै नेपाल फिल्म क्याम्पसका प्रमुख हुन्)
प्रतिक्रिया 4