+
+
Shares

डिजिटल हिंसामा परेकी अमिसाले पाएको हिम्मत– अझै सशक्त भएर बोल्नेछु

अमिसा यस्ता आक्रमणबाट थाक्नेवाला छैनन् । साइबर ब्युरोमार्फत भिड्दैछिन् । सबै स्क्रिन सट, आईडी, कमेन्टहरू संकलन गरेर राखेकी छन् । कसैले रोकेर रोकिने ‘मुड’मा उनी छैनन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ चैत १८ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन शाह नेतृत्वको सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ भदौका जेनजी आन्दोलन दमन आरोपमा पक्राउ गर्‍यो।
  • ओली पक्राउ परेपछि नेकपा एमालेले देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्‍यो र च्यासलमा सचिवालय बैठक डाक्यो।
  • एमाले प्रदर्शनमा सहभागी अमिसा पराजुलीले आफ्नो तर्क राख्दा यौन हिंसाका धम्कीहरू पाएकी छन् र सामाजिक सञ्जालमा भाइरल भएकी छिन्।

१८ चैत, काठमाडौं । बालेन शाह नेतृत्वको नवगठित सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्‍यो । २३ भदौका जेनजी आन्दोलनलाई दमन गरेको भन्दै सरकारले ओलीलाई पक्राउ गरेको थियो ।

अध्यक्ष ओली पक्राउ परेसँगै नेकपा एमाले तरङ्गित बन्यो । पक्राउ परेकै दिन पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक डाक्यो र देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्‍यो ।

सचिवालय बैठकका निर्णय सुन्न आम कार्यकर्ता पार्टी कार्यालयमा जम्मा भएका थिए । मिडियाकर्मी र कार्यकर्ताको भिडले च्यासल गर्माएको थियो ।

महिलाको संख्या न्यून रहेको त्यो भिडमा देखा परिन्– अमिसा पराजुली ।

सूर्यविनायक नगरपालिका–७, गुण्डुकी अमिसा त्यसबेलासम्म सार्वजनिक वृत्तको राडरमा परेकी थिइनन् । बिजनेस स्टडिजमा स्नातक गरिरहेकी उनको दैनिकी आमनागरिकको झैँ सामान्य थियो । पार्टीप्रति आस्था रहेको र ओली पक्राउ गैरन्यायिक भएको बुझाइ उनको थियो । त्यसैले पार्टी कार्यालयमा बसिरहेको महत्वपूर्ण बैठकका निर्णय सुन्न पुग्नुलाई उनले तत्कालीन आवश्यकता ठानिन् ।

च्यासलमा एमाले कार्यकर्ताले केहीबेर प्रदर्शन गरेपछि पार्टीको औपचारिक निर्णयबमोजिम माइतीघरमा हुने भनिएको प्रदर्शनमा पनि अमिसा पुगिन् । उक्त प्रदर्शन शान्तिपूर्ण थिएन । प्रहरीले लठीचार्ज गर्‍यो । कार्यकर्ता घाइते भए । कतिपयले प्रदर्शन जारी राखे । अमिसा त्यही भिडको हिस्सा थिइन् ।

यद्यपि, कतिपयले प्रदर्शनमा अराजक व्यवहारसमेत देखाइरहेका थिए, जो ठिक शैली नभएको तर्क अमिसा स्वयंको छ । माइतीघरमा प्रदर्शन गरिरहँदा एक जनाले उनीसँग प्रतिक्रिया लिन खोजे । आफ्नो लोकतान्त्रिक हक प्रयोग गरेर तर्क राखिरहेकी उनलाई क्यामेराले कैद गरे । सामाजिक सञ्जालमा उक्त पोस्ट यत्रतत्र भयो ।

नेकपा एमाले प्रदर्शनको क्रममा अमिसा ।

‘गृह मन्त्रालय आफ्नो छ भन्दैमा उहाँहरूले जे पनि गर्न सक्नुहुँदो रहेछ नि त । म भन्न चाहन्छु, यो सरकारमाथि निन्दा छैन, आलोचना छैन । जनादेशको पालना गरेर जनताले जसलाई मत दिनुभएको थियो, त्यसलाई मानेका छौँ,’ अमिसाले उक्त कुराकानीमा भनेकी थिइन्, ‘तर कोही पनि कानुनमाथि नाइके बन्न खोज्यो भने खबरदार ! त्यो मान्छेलाई एमालेको जनसागरले छाड्ने छैन ।’

दिउँसो यसरी मिडियासँग कुरा गरेकी अमिसालाई घर फर्कंदासम्म केही अत्तोपत्तो थिएन । तर बिहान च्यासलमा सार्वजनिक राडरमा नपरेकी उनी अधिकांशको टार्गेटमा परिसकेकी थिइन् । घर पुगेर इन्स्टाग्राम खोल्दा मेन्सनको थुप्रो थियो ।

भिडियोमा भ्युज पनि कल्पना गरेभन्दा नाघिसकेको थियो । सामाजिक सञ्जालमा फलोअर्स एकाएक बढेका थिए । टिकटकको ‘फर यू पेज’मा पनि आफ्नै अनुहार देखिन थाल्यो । फेसबुक रिल्समा पनि आफ्नै भिडियो देखिए । त्यसपछि उनलाई बल्ल थाहा भयो– भाइरल भइसकिएछ ।

‘भाइरल हुनु मेरो उद्देश्य थिएन,’ अमिसाले अनलाइनखबरसँग भनिन्, ‘मैले आफ्नो तर्क राखेको थिएँ । असहमत हुनेले असहमति जनाउन्, सहमत हुने त भइहाले । मेरो सोच त्यति मात्र थियो ।’

तर, अमिसाको सोचले सामाजिक सञ्जाल प्रयोगकर्तालाई फरक पर्नेवाला थिएन । जे कमेन्टहरू आउन थाले, त्यो उनीप्रतिको असहमति मात्र थिएन । तर्कको जवाफ तर्कमा होइन, आक्रमणमा झेल्न बाध्य बनिन्, उनी । अझ यौन हिंसाका धम्कीहरू आउँदा उनलाई थप कठिन बनायो ।

नाम र अनुहार नै राखेर बलात्कारका धम्की आए । ‘यसरी, यति जनासम्मले बलात्कार गर्नुपर्छ’ भन्नेसम्मका कमेन्टहरू आए । मेसेज बक्स पनि त्यस्तै मेसेजले भरियो ।

‘बलात्कार त यिनीहरू हुनुपर्ने ।’

‘ओ गड ! बस् एक बार दिलादे ।’

‘भा** ।’

‘** हान्नुपर्छ, एमालेको भूत उत्रिन्छ ।’

‘पागल्नी, आफ्नो खुट्टामा आफैँ बञ्चरो हानिछे ।’

‘केपी बा’को बुढेसकालको साहारा भाइरल नानी । कस्तो लाग्यो जोडी साथीहरू…,’ भन्दै ओलीले उनलाई सिन्दुर हाल्दै गरेको एआई निर्मित फोटो ।

यसरी सामान्य मान्छेलाई पढ्न र हेर्नसमेत असहज हुने कमेन्टहरू अमिसामाथि खनिन्छन् । ‘निर्मला पन्त र इनिशा विकको जस्तो हालत यसको चाहिँ हुनुपर्ने’ भन्ने खालका कमेन्टले झन् अत्यास बनाउँछ । आफू भाइरल बनेको त्यो रात अमिसा ‘ब्रेकडाउन’ नै भइन् । सोही रात इन्स्टाग्राम नै डिएक्टिभेट गरिदिइन् ।

अमिसा बाहिर निस्कन सक्ने अवस्था थिएन । एमालेको अर्को प्रदर्शनमा पनि जान पाइनन् । आफ्ना धारणा राखेकै कारण सार्वजनिक वृत्तबाट तिरस्कृत हुने अवस्थामा पुगिन् । तिरस्कार मात्र होइन, अधिकांशले धम्कीहरू दिए, त्यसले झन् चिन्तित बनायो । अहिले पनि उनी सहजै निस्कन सक्दिनन् । अन्जान नम्बरका कल उठाउन सक्दिनन् ।

हामीले कुराकानीका लागि भेट्दा पनि अमिसा परिवारका सदस्यहरूसहित आएकी थिइन् । तर परिवारका सदस्य र अन्य सामान्य विवरण खुलाउन पनि उनको लागि अहिले जोखिम छ, जुन गुनासो कुराकानीको क्रममा पोखिन् ।

‘कोही मान्छेले बलात्कार गर्छु भनेर कमेन्ट गर्न सक्छ भने, उसको दिमागमा त्यो कुरा आइसकेको छ,’ अमिसाले भनिन्, ‘दिमागमा आइसकेको छ भने साँच्चिकै गर्न पनि सक्छ । त्यही डरले मलाई थिच्यो ।’

सोही डरले गर्दा उनी आज पनि मास्क लगाएर हिँड्छिन् । एक्लै घरबाट पठाउन पनि परिवारले हिम्मत गर्दैन । अन्जान नम्बरबाट आएको कल ‘टेक्स्ट मेसेज’ नआएसम्म ब्याक नगर्ने अवस्था छ । यी सबै अमिसाको पछिल्लो दैनिकी हो ।

सामाजिक सञ्जालमा त खेदिएकै थिइन्, त्यसमा थपिए आफन्त पनि । भोलिपल्टैबाट आफन्तका फोन बज्न थाले । त्यो कल सहानुभूतिका लागि होइन, बरु उल्टै प्रश्न सोध्न तम्सिन्थे । कतिले आमाको हुर्काइमा नै प्रश्न गरे । त्यो क्षण अमिसाका लागि दोहोरो मार थियो । बाहिरबाट बलात्कारको धम्की, भित्रबाट ‘किन बोलिस’ जस्ता प्रश्न ।

‘त्यो बेला मेरो मनोबल झन् खस्किएको थियो,’ अमिसाले तत्कालीन क्षण सम्झिइन् ।

अमिसासँगै आएकी उनकी आमा पनि राजनीतिमा सानैबाट चासो राख्थिन् । एक वर्षअघि मात्र बितेका हजुरबुबा पनि तत्कालीन मालेका अनुयायी थिए । सानैदेखि नातिनीलाई लोकतन्त्र, गणतन्त्र, राष्ट्रियताको पाठ पढाउँथे । ‘उहाँले मलाई अन्याय भएको लागे सडकमा ओर्लिन नडराउनु भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘विद्रोह भनेको के हो, त्यो उहाँले नै सिकाउनुभयो ।’

आमाले पनि कुन पार्टी राम्रो भनेर कहिल्यै भनिनन् । बरु सही/गलत के हो भनेर छुट्याउन सिकाइन् । त्यसैले अहिले पनि आफ्नो छोरीले धारणा राखेकै कारण यस्ता धम्की आउनुले समाज गलत बाटोमा गइरहेको भान उनलाई हुन्छ । आफ्नी छोरीले बोलेकै कारण यो अवस्था आउनु अस्वस्थ समाजको सूचक भएको उनले बताइन् ।

अमिसाले भनिन्, ‘तर आज मलाई बलात्कार गर्छु भन्ने मान्छे खुल्लमखुला हिँडिरहेको छ । यसबारे कसैलाई पर्वाह छैन । भोलि केही भइहाले यिनै मान्छे फेरि मेरो लागि भनेर क्यान्डल बाल्न निस्कन्छन् । यो हिप्पोक्रेसी हो ।’

नाम खुलाउन नचाहेकी अमिसाकी आमाले अनलाइनखबरसँग भनिन्, ‘मेरी छोरी कसैलाई ठग्न गएकी थिइनन् । केही गलत गरेकी छैन । त्यसैले उसले वा हामीले लाज मान्नुपर्ने केही छैन । बरु लाज त त्यस्ता कमेन्ट गर्नेलाई हुनुपर्ने हो, मेरी छोरीलाई होइन ।’

अमिसाले केपी ओलीलाई दुई–अढाइ वर्षदेखि समर्थन गर्दै आएकी छन् । कालापानी–लिपुलेक जस्ता राष्ट्रियताको विषयले उनलाई नेताका रूपमा ओलीप्रति आकर्षित गरेको थियो । उनले १६ वर्षकी हुँदा ओलीलाई पहिलो पटक भेटेकी थिइन् । त्यसबेला ओलीले ‘पेट्रिअटिजम, नेसनलिजम’ पढाएको सम्झना अमिसालाई छ ।

तर, अहिले उनै ओलीमाथि अन्याय भएको भन्दै बोलेकी उनलाई धाकधम्की आइरहेको छ । यसका बाबजुद कतिपयले स्वस्थ आलोचना पनि गरेको उनको स्मरणमा छ । कतिले ‘पार्टीको अनावश्यक प्रचार’ भन्दै मुद्दामाथि तर्क–वितर्क गरेका छन् । कतिले उनको उपस्थितिलाई नै प्रश्न गरेका छन् । तर अमिसा यस्ता स्वस्थ आलोचनालाई स्वाभाविक ठान्छिन् ।

‘यसरी प्रतिपक्षले असहमति जनाउनुभयो भने राम्रो लाग्छ । क्रिटिसिजम पढ्छु, सिक्छु । कहिलेकाहीँ मैले गल्ती गरेछु कि भने पनि सच्चिन तयार हुन्छ,’ अमिसाले भनिन्, ‘तर मेरो विरोध एउटै कुरामा छ–  तर्कको जवाफ तर्कले दिनुपर्छ । यौन हिंसाका धम्कीले होइन ।’

सँगसँगै उनको प्रश्न छ, ‘मेरो ठाउँमा पुरुष भएको भए के हुन्थ्यो ? सोही तर्क र अभिव्यक्ति पुरुषबाट आएको भए के हुन्थ्यो ?’

जवाफ अमिसा आफैँसँग छ, ‘आफूले जस्तो धम्की झेल्नु पर्दैनथ्यो । ट्रोल/मिम बने पनि यो तहको धम्की पक्कै भेल्नु पर्दैनथ्यो ।

हुन पनि त्यस दिन एमाले प्रदर्शनमा प्रतिक्रिया दिनेमा पुरुष नै धेरै देखिन्थे । तर ती सबैलाई थिच्यो, अमिसाको प्रतिक्रियाले । त्यसैले यो आक्रमण महिला भएकै कारण भएको बुझाइ उनको छ ।

‘महिला बोल्दा यौनिकीकरण गर्ने, पुरुष बोले भने तर्कमाथि बहस गर्ने वा सामान्य ट्रोल/मिम बनाएर पन्छिने, यो कस्तो समाज हो ?,’ अमिसाको प्रश्न छ ।

सबैभन्दा दु:खलाग्दो पाटो, जसले बलात्कारको धम्की दिएको थियो, त्यही मान्छेको प्रोफाइलमा ‘जस्टिस फर निर्मला पन्त/इनिसा विक’ लेखिएको उनले पाइन् । कतिले त आफ्ना तीन–चार वर्षकी छोरीको जन्मदिनको फोटो राखेका थिए । त्यो देखेपछि उनले आजसम्म किताबहरूमा पढ्दै आएको हिप्पोक्रेसीबारे नजिकबाट चिनिन् ।

निर्मला पन्तलाई वलात्कृत हुँदै गर्दा कस्तो भयो होला ? इनिशा बिकलाई के भयो होला ? ती सबैको ठाउँमा बसेर सोच्न बाध्य भएको उनी सुनाउँछिन् ।

अझ सार्वजनिक पदमा भएको मान्छेले यस्ता कमेन्ट गर्दा त आफू कस्तो खतरनाक समाजमा छु भन्ने कुराले चिन्तित बनायो ।

‘जबसम्म कुनै महिला बलात्कृत भएर मर्दिनन्, तबसम्म यो समाज र यो व्यवस्था बोल्दैन । निर्मला पन्त मरिन्– बल्ल माइतीघर भरियो । इनिशा गइन्– बल्ल मैनबत्ती बाल्न मान्छे निस्किए,’ अमिसाले भनिन्, ‘तर आज मलाई बलात्कार गर्छु भन्ने मान्छे खुल्लमखुला हिँडिरहेको छ । यसबारे कसैलाई पर्वाह छैन । भोलि केही भइहाले यिनै मान्छे फेरि मेरो लागि भनेर क्यान्डल बाल्न निस्कन्छन् । यो हिप्पोक्रेसी हो ।’

अहिलेसम्म अमिसाको नाममा नक्कली टिकटक अकाउन्ट बनिसकेका छन् । हजारौँ फलोअर्स बटुलिसकेको उक्त अकाउन्टबाट मान्छेहरू लाइभ नै बस्ने गरेको पनि उनले भेट्टाएकी छिन् । ‘अमिसा पराजुली अफिसियल’ भनेर आईडीहरू बनेका छन् । छद्म आईडी खोल्नेहरूले टिकटक लाइभमा बसेर गिफ्ट लिइरहेका छन् । सामाजिक सञ्जालका सबैतिर उनका नाममा खुलेका यस्ता आईडीले अनावश्यक दु:ख दिइरहेको छ ।

जबकि, अमिसा स्वयं भने सहन नसकेर आफ्ना सबै अकाउन्ट प्राइभेट गरेर बसेकी छिन् । कुनै प्लेटफर्म सहजै खोलेर हेर्नसक्ने मनस्थितिमा उनी छैनन् । त्यति मात्र होइन, मिडियासँग पनि उनको गुनासो छ । कतिपयले अनावश्यक उचालेर उनका बाइटहरू हालिरहेको र विवादमा ल्याएकोमा चिन्ता छ । कम्तीमा मिडिया सजग भइदिए पनि यी कुरा केही हदसम्म नियन्त्रण हुन्थ्यो कि भन्ने उनलाई लाग्छ ।

तर, अमिसा यस्ता आक्रमणबाट थाक्नेवाला छैनन् । साइबर ब्युरोमार्फत भिड्दैछिन् । सबै स्क्रिन सट, आईडी, कमेन्टहरू संकलन गरेर राखेकी छन् । आफन्त वा कसैले रोके पनि रोकिने ‘मुड’मा उनी छैनन् । यस्ता विषयमा अब न्यायिक लडाइँ लड्नुपर्ने उनको भनाइ छ ।

अझ यस्ता विषय आउँदा साइबर ब्युरो स्वत: सक्रिय हुनुपर्ने माग उनको छ । उनी उदाहरण दिन्छिन्, ‘घरमा आमाले एक झापड खाँदा छोराछोरीले नबोले, भोलि लात्ती सहनुपर्ने दिन आउँछ । एक झापडमै सम्बन्धित सरोकारवाला बोलियो भने भोलि लात्ती उठ्दैन । त्यसैले अहिले आफूले बोले भोलि अरूले यस्ता दुर्व्यवहार भोग्नु पर्दैन ।’

जीवनभर आफू यस्ता दुर्व्यवहार र महिला हकको लागि झन् सशक्त भएर बोल्ने बताउँदै अमिसाले थपिन्, ‘अब हरेक महिला त्यस्ता कमेन्ट गर्नेको फोटो र स्क्रिन सट लिएर माइतीघरमा उभिनुपर्छ । जसले हाम्रो डिफेम गर्नुपर्छ, उनीहरूको पनि त्यस्तै गर्नुपर्छ । म यसको लागि अझै सशक्त भएर आउनेछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?