+
+
Shares

भोजराज प्रतिवेदन कार्यान्वयन भएन, गुठीका हजारौं बिघा जग्गा फर्काउन सकिएन

दुई दशकअघि सरकारले जनकपुरधामको गुठी, मठ–मन्दिर तथा सार्वजनिक पोखरीको अतिक्रमित जग्गाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पारे पनि कार्यान्वयन हुन सकेको छैन ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ चैत १८ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा २५ गुठीका ९ हजार ८४६ बिघा १२ कट्ठा जग्गा अतिक्रमणमा परेको छ र प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन।
  • २०६२ मा गठित कार्यदलले जनकपुरधामका मठ–मन्दिर र सार्वजनिक पोखरी संरक्षणका लागि प्रतिवेदन तयार पारे पनि कार्यान्वयन भएको छैन।
  • सरकारले अतिक्रमित गुठी जग्गा संरक्षण र मुक्तिका लागि पहल गर्नुपर्ने माग उठेका छन्।

१८ चैत, जकपुरधाम । जनकपुरधाम बजार क्षेत्रमा अधिकांश गुठीको जग्गा छ । गुठी, मन्दिर, कुट्टीका सार्वजनिक जग्गा धेरै अतिक्रमण भइसकेको छ । बाँकी रहेका जग्गा पनि अतिक्रमणको चपेटामा छन् ।

जनकपुरधाममा बाँकी रहेका सार्वजनिक जग्गाको पनि संरक्षण तथा सम्बर्द्धन हुन सकेको छैन । न त अतिक्रमण भएका हजारौं बिघा गुठीका जग्गा फर्काउन सकिएको छ ।

दुई दशकअघि सरकारले जनकपुरधामको गुठी, मठ–मन्दिर तथा सार्वजनिक पोखरीको अतिक्रमित जग्गाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पारे पनि कार्यान्वयन हुन सकेको छैन ।

तत्कालीन श्री ५ को सरकारको निर्देशनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा २६ साउन २०६२ मा भोजराज घिमिरेको संयोजकत्वमा उच्चस्तरीय कार्यालय गठन गरिएको थियो ।

गठित कार्यदलको प्रतिवेदनअनुसार जनकपुरधाममा २५ गुठीका ९ हजार ८४६ बिघा १२ कट्ठा जग्गा अतिक्रमणमा परेको निष्कर्ष थियो । जुन अर्बौं मूल्य बराबरका हुन् । यी जग्गा निजीकरण भइसकेको त्यस बेलाको गठित कार्यादलको निष्कर्ष छ ।

उक्त प्रतिवेदन कार्यान्वयनमा नआउँदा गुठीसँगै, जनकपुरधामका जानकी मन्दिर लगायतका मठ–मन्दिर, धार्मिक ऐतिहासिक सार्वजनिक पोखरीसमेत लोप हुने अवस्थामा पुगेका छन् ।

प्रतिवेदनअनुसार नगर क्षेत्र भित्र रहेका ४९ पोखरीमध्ये पाँच वटा पूर्ण रूपमा हराइसकेका छन् भने कूल ८२ पोखरीमध्ये करिब ३२.८ प्रतिशतले अस्तित्व गुमाइसकेका छन् । कयौं पोखरीहरू पुरेर भवन निर्माण गरिएको छ ।

जानकी मन्दिरको नाममा रहेको जग्गासमेत अनाधिकृत रूपमा बिक्री गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । मन्दिरका महन्थहरूले विभिन्न कित्ताहरू न्यून मूल्यमा बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदनको परिचयमा गठित कार्यदलका संयोजक घिमिरेले २०६२ माघ १० गते सरकारलाई बुझाएको प्रतिवेदनमा समयमा कार्यदलको प्रतिवेदन मुर्त रूप दिने अपेक्षा राखेका थिए ।

‘यो प्रतिवेदनमा दिइएका सुझावहरू समयसापेक्ष हुने भएकाले समयसँगै ती पनि परिवर्तन हुन सक्छन् । त्यसर्थ, कार्यान्वयन पनि सँगसँगै हुन सकेन भने समयको अन्तरालमा सुझावको महत्व पनि फरक भइसकेको हुनसक्छ,’ घिमिरेले प्रतिवेदनको परिचयमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘अत: श्री ५ को सरकारले प्रतिवेदनको सिफारिसलाई कार्यान्वयन गर्ने दिशामा यथाशीघ्र अग्रसरता देखाई कार्यदल गठन एवं प्रतिवेदनको औचित्यलाई मुर्त रूप दिनेछ भन्ने कुराप्रति समेत म विश्वस्त छ ।’

प्रतिवेदनमा उनले स्थानीय स्रोतलाई प्रस्ताव गरिएअनुसारका धार्मिक पर्यटकीय विकास कार्यक्रममा लगानी गरी कार्यक्रम सञ्चालन भएमा थागामी १० वर्ष भित्रमा जनकपुर स्वच्छ, सफा एवं नमुना नगरी हुने विश्वास लिएका थिए ।

तर, राजतन्त्रको अन्त्य भई देशमा लोकतन्त्र, गणतन्त्र आएको दुई दशक हुन लाग्दा पनि अझैसम्म भोजराज प्रतिवेदन कार्यान्वयन भएको छैन । अझैसम्म पजकपुरमा अतिक्रमित गुठी तथा सार्वजनिक जग्गा, पोखरी, पाटी–पौवालाई मुक्त गराई अतिक्रमण गर्नेहरूलाई कानुनी दायरामा ल्याउन सकिएको छैन ।

हालसम्म सरकारले प्रतिवेदन कार्यान्वयन नगर्दा नागरिक निराश छन् भने अतिक्रमण गर्ने भूमाफिया र मन्दिर तथा कुट्टीका महन्थहरूको रजगज छ ।

अधिवक्ता राहुल झा जकपुरधामले देशकै सबैभन्दा ठूलो गुठीको जग्गा घोटालाको साक्षी बन्नु परेको बताउँछन् ।

‘जनकपुर देशकै सबैभन्दा ठूलो गुठी जग्गा घोटालाको साक्षी बनेको छ । जहाँ लगभग ९ हजार बिघा जग्गा अतिक्रमित छ,’ उनले भने ।

दुई वर्षअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले गुठीका जग्गामाथि पहलकदमी लिने बताएका थिए । अहिले रास्वपाकै सरकार बनेकोले यस्ता अतिक्रमित जग्गाको संरक्षण र संरक्षण सुनिश्चित गर्न सरकारको भूमिका हुनुपर्ने झाको माग छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?