News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग नेपाली नागरिकले भोगिरहेको कानुनी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
- पोर्चुगलमा २ हजारभन्दा बढी नेपालीले नक्कली प्रहरी रिपोर्टका कारण प्रक्रियागत र कानुनी झमेलो भोगिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
- दुवै मन्त्रीले नेपाल र पोर्चुगलबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार र आईटी क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
१९ चैत, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका राज्य तथा विदेशमन्त्री पाउलो रान्जेलसँग त्यहाँ रहेका नेपाली नागरिकले भोगिरहेको कानुनी तथा प्रक्रियागत समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
बुधबार दुई मन्त्रीबीच भएको टेलिफोन वार्तामा मन्त्री खनालले सो आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, नयाँदिल्लीस्थित पोर्चुगल र नेपालको दूतावासबाट प्रमाणीकरण गरिएको भनिएका सक्कली कागजात, विशेषगरी ‘प्रहरी रिपोर्ट’ (पुलिस क्लियरेन्स सर्टिफिकेट) मा नक्कली छाप लगाइएका कारण हाल पोर्चुगलमा २ हजारभन्दा बढी नेपालीले प्रक्रियागत र कानुनी झमेलाको सामना गरिरहेका छन् । मन्त्री खनालले मानवीय दृष्टिबाट पनि ती नेपालीको अवस्थामाथि पुनर्विचार गरिदिन समकक्षी रान्जेललाई अनुरोध गरेका थिए ।
टेलिफोन वार्ताका क्रममा पोर्चुगलका विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । उनले प्रभावित नेपाली नागरिकको समस्यालाई मानवीय दृष्टिकोणबाट समीक्षा गर्न सम्बन्धित निकायहरूसँग सकारात्मक रूपमा अनुरोध गर्ने आश्वासन दिएको मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
साथै, कुराकानीका क्रममा मन्त्री रान्जेलले नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा दुवै देशका मन्त्रीले नेपाल र पोर्चुगलबीचको राम्रो द्विपक्षीय सम्बन्ध रहेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुबीच जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि (आईटी) जस्ता क्षेत्रमा आपसी सहयोगलाई थप विस्तार र सुदृढ गर्ने प्रतिबद्धता आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4