News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका बिराज बिकलाई पक्राउ गरेको छ।
- बिराज बिकले अर्काको नाममा जारी प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए र उनी कक्षा ११ मा अध्ययनरत छन्।
- प्रहरीले घटनामा संलग्न अंकिश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डीएसपी पुष्कर बोगटीले बताए।
२० चैत, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको डीएसपी बोगटीले बताए ।
बिकले हेटौंडा-१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए ।
प्रतिक्रिया 4