News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११ बजे सिंहदरवारमा बस्दै छ र संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।
- कांग्रेस संसदीय दलको विधान अनुसार प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट दलको नेता निर्वाचित गर्ने र एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने व्यवस्था छ।
- संसदीय दलको नेता चयनमा गगन थापा र शेरबहादुर देउवा पक्षका कारण यसपालि पनि मतदान प्रक्रिया अपनाउने सम्भावना बढी रहेको कांग्रेस नेताहरूले बताएका छन्।
२३ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’
कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।
सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्नु परेकाले कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ । आइतबार डोलप्रसाद (डीपी) अर्याल सभामुख चयन भइसकेकाले अब अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।
अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसके ।
नेकपा एमालेले रामबहादुर थापालाई, नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई दलको नेता चयन गरिसकेका छन् ।
संसदीय दलको नेता चयनबारे कांग्रेसको विधानमा के छ ?
तर, प्रतिनिधिसभाको दोस्रो ठूलो दल एवम् प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन ।
प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् ।
कांग्रेस संसदीय दलको विधानको दफा ५ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा (१) र (२) अनुसार कांग्रेसमा दलको नेता चयन हुने गरेको छ ।
उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ ।
कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । निर्वाचनमा वर्तमान सभापति गगन थापालाई तत्कालीन सभापति शेरबहादुर देउवाले हराएका थिए ।
अहिले कांग्रेस संसदीय दलमा थापा र देउवा पक्षका रहेका कारण दलको नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।
प्रतिक्रिया 4