News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटबारे सरकारको तयारी सोधिन्।
- उनले रोपाइँको समयमा मल अभावले उत्पादन घट्ने, खाद्य सुरक्षा जोखिम र अर्थतन्त्रमा असर पर्ने बताइन्।
- ओलीले वैकल्पिक आपूर्ति स्रोत खोज्ने, रणनीतिक भण्डारण बढाउने र आकस्मिक राहत योजनाबारे सरकारसँग जवाफ माग गरिन्।
२४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले रोपाइँको समय आउनै लाग्दा किसानलाई आवश्यक सामग्रीको बन्दोबस्तीबारे सरकारको तयारी के भइरहेको छ भनेर प्रश्न गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा उनले पश्चिम एसियाको द्वन्द्वको कारण मलको मूल्य वृद्धि तथा आपूर्तिमा संकट देखिएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘रोपाइँको सिजन आउंदै छ। रोपाइँ अघि नै मल र कृषि सामग्री सुनिश्चित गर्नु अत्यावश्यक छ। तर पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटका संकेतहरु देखा परिसकेका छन्,’ उनले भनिन्, ‘यस विषयलाई लिएर सरकारको तयारी के छ? म सम्माननिय सभामुखमार्फत सोध्न चाहन्छु ।’
रोपाइँको समयमा किसानहरूले मल नपाउने, उत्पादन घट्ने र यही कारण खाद्य सुरक्षा जोखिमसँगै अर्थतन्त्रमा असर पर्ने पनि बताइन् ।
‘रोपाइँको मुखमा मल अभाव भएमा किसानहरु पिडित हुँदछन, हाम्रो उत्पादन घट्दछ, खाद्य सुरक्षा जोखिममा पर्दछ र हाम्रो अर्थतन्त्रमा समेत गम्भीर असर पर्दछ। त्यसैले वैकल्पिक आपूर्ति स्रोत खोज्ने, आपूर्ति विविधीकरण गर्ने- कृषि मलको आपूर्तिको प्रणालीको विधिकरणमा सरकारको रणनीति के छ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘रणनीतिक भण्डारण बढाउने काम तुरुन्त थालियोस् भनेर म सरकार समक्ष ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले अहिले हाम्रो मलको मौज्दात कति छ र सञ्जित कति भन्नेबारे पनि प्रश्न गरिन् । त्यस्तै उक्त सञ्चित मलले कति समयलाई थेग्न सक्छ भन्नेबारे पनि उनले सरकारसँग जवाफ माग गरिन् । उनले किसानका लागि आकस्मिक राहत योजनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । कृषि र परराष्ट्र मन्त्रालयबीच समन्वय गरी तत्काल यसबारे समाधान निकाल्न पनि उनको आग्रह थियो ।
प्रतिक्रिया 4