News Summary
Generated by OK AI. Editorially reviewed.- हैटीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा फौजको उपस्थितिले आन्तरिक शान्तिसुरक्षा तहसनहस भएको अवस्थामा केही राहत दिएको छ।
- सन् १९९४ मा अमेरिकी सेनाले हैटीको राष्ट्रिय सेना विघटन गराएर अरिस्टिडलाई मोहरा बनाएर सत्तारोहण गराएको थियो।
- हैटीको सेना विघटनपछि सुरक्षा कमजोर भएर गुण्डाराज फैलिएको र स्थानीय उत्पादन शून्यप्राय भएको छ।
म नेपाल प्रहरीमा कार्यरत रहँदा संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनार्थ खटिने सुरक्षाकर्मीको रूपमा सन् २००७-०८ र सन् २०१०-११ मा गरी दुई पटक क्यारेबियन राष्ट्र हैटीमा काम गर्ने अवसर पाएको थिएँ। अत्यन्त मनमोहक, सुन्दर समुद्री किनारा (Beach) हरूले तीनतिर घेरिएर रहेको टापु राष्ट्र हैटी भौगोलिक दृष्टिकोणले प्रकृतिको अनुपम उपहार नै हो भन्दा फरक नपर्ला।
भूमध्यरेखीय हावापानी, होचा पहाडी श्रृङ्खलाहरूले घेरिएर रहेको समथर उपत्यकाहरू, पर्याप्त पानीको स्रोत भएको, बाह्रै महिना सबै प्रकारका खेतीबाली, फलफूल लगाउन सकिने, अमेरिका, क्यानाडा जस्ता समृद्ध राष्ट्रहरूको नजिकै रहेका कारण उच्च पर्यटकीय सम्भावना पनि भएको देख्दा हैटी सबै दृष्टिकोणले समृद्धिको शिखरतर्फ उक्लँदै गरेको हुनुपर्ने हो।
तर बिडम्वना भोक, रोग, अशिक्षा र बेरोजगारीले थिलथिलो हैटीमा आन्तरिक शान्तिसुरक्षा तहसनहस भएका कारण संयुक्त राष्ट्रसंघीय सैनिक र प्रहरीको परेड मैदान भएको देख्दा मनै कटक्क हुनु अस्वाभाविक थिएन। त्यसै सन्दर्भमा राखिएको चासो, जिज्ञासा, साथीहरूसँग भएका छलफलका क्रममा जानकारी भएका कुराहरू सम्झना र केही टिपोटहरू अहिले अलिक फुर्सदिलो भएको समय अनि विश्व भूराजनीति झन्–झन् जकडिंदै गएको अवस्थामा कतिपय कुराहरू नेपाली परिवेशसँग पनि मेल खान सक्ने जस्तो लागेर सम्झना उतार्ने प्रयास गरेको छु।
व्यवस्थित अध्ययन नभएको कारण यसमा थुप्रै कमि–कमजोरीहरू पक्कै छन् त्यसप्रति सुधार सुझावको समेत अपेक्षा राखेको छु। म यहाँ कुनै विशेष विषयमा केन्द्रित नभई सतही रूपमा हैटीको स्थापनादेखि त्यहाँको सेना (सुरक्षा फौज) विघटन र त्यसले पारेका प्रभावहरूको बारेमा छोटो चर्चा गर्ने प्रयास गर्नेछु।
ऐतिहासिक पक्ष
क्यारेबियन समुद्रको करिब मध्य भागमा अवस्थित यो सुन्दर टापुमा शुरुमा स्पेनिसहरूको कब्जा र शासन थियो। सन् १६९७ मा टापुको पश्चिमपट्टिको करिब आधा भाग फ्रान्सलाई सुम्पिएपछि हैटी छुट्टै राष्ट्रको रूपमा अस्तित्वमा आएको देखिन्छ। उर्वर भूमि, उत्तिकै उपयुक्त मौसमका कारण त्यो समय ठूलो मात्रामा उखु र कफीको खेती गर्ने गरिएको इतिहास रहेछ हैटीको।
१८औं शताब्दीताका ‘क्यारेबियनको मोती’ नामले चिनिएको हैटीमा ठूलो मात्रामा उत्पादित चिनी र कफी युरोप लगायत मुलुकमा निर्यात गर्ने गरिएको इतिहास पाइन्छ। त्यो उत्पादनको मूल आधार भने अफ्रिकाबाट ल्याइएका लाखौं दास थिए। फ्रान्सेली शासकहरूले ती आयातित दासहरूलाई गरेको शोषणको छुट्टै कथा रहेछ, यहाँ त्यो विषयमा चर्चा गरिएन।
फ्रान्सको औपनिवेशिक शासन रहेको हैटीमा फ्रान्सेली क्रान्ति (१७८९-१७९९) को प्रभाव त्यहाँका दासमा पनि पर्ने नै भयो फलस्वरुप त्यहाँ पनि दासहरूले सन् १७९१ मा स्वतन्त्रता विद्रोहको सुरुआत गरे जसको नेतृत्व टुसेन्ट लभरेतेरले गरेका थिए। नेपोलियन बोनापार्टको ठूलो सेना परिचालनको बावजुद लामो संघर्ष र बलिदानको परिणामस्वरुप १ जनवरी १८०४ मा विद्रोहीहरूले हैटीलाई स्वतन्त्र घोषणा गरे।
यो नै विश्वको इतिहासमा दासहरूको विद्रोहबाट स्वतन्त्र बनेको पहिलो राष्ट्र हो, दास विद्रोहको सफलताको पहिलो कथा हो। तर त्यो स्वतन्त्रता बापत फ्रान्सलाई हैटीले १५ करोड फ्र्याङ्क तिर्नुपर्ने सम्झौता भएको थियो जुन रकम हैटीले १२२ वर्षमा मात्र तिर्न सक्यो। परिणामत: हैटीले विभिन्न पूर्वाधार र मानवस्रोत विकासमा लगानी गर्न नसकेर आजसम्म पनि विश्वका गरीबतम राष्ट्रहरूमध्ये रहन पुगेको छ।
अमेरिकाको प्रभाव
फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरे पनि आन्तरिक व्यवस्थापनको समस्या लगायत कारण लामो समयसम्म हैटी गतिहीन नै रह्यो। हैटीलाई यसैबीच सन् १९१५-१९३४ सम्म अमेरिकाले सैन्य हस्तक्षेप गरेर अफ्नो प्रभावमा लियो। त्यहाँको कानूनहरू आफू अनुकूल जारी गरायो। अमेरिकी कम्पनीहरूलाई त्यहाँ जमिन किन्न सक्ने अधिकार दिलायो। त्यहाँको सेनालाई सुदृढ गर्ने काम पनि अमेरिकाले गरेको थियो तर त्यही सेना समेतको असहयोगका कारण सन् १९३४ मा अमेरिकाले हैटी छोड्नुपर्ने परिस्थिति बन्यो तथापि अप्रत्यक्ष रूपमा अमेरिकी प्रभावले निरन्तरता पाउने अवस्था सिर्जना भयो जुन अद्यापि रहेको छ। त्यसपछि लामो समय अमेरिकी स्वार्थ प्रतिकूल नरहेका कारण बेबी डकको तानाशाही शासनकाललाई अमेरिकी समर्थन रह्यो।
सन् १९८६ मा हैटीमा भएको जनविद्रोहको सामना गर्न नसकेर बेबी डक फ्रान्स पलायन भएपछि त्यहाँको शासन सत्ता सेनाले आफ्नो हातमा लियो। सेनाले नै सन् १९९० मा गराएको राष्ट्रपतीय निर्वाचनमा गरीब जनताको पक्षमा लगातार आवाज उठाइरहने एक चर्चका पादरी जाँ बर्ट्रान्ड अरिस्टिड निर्वाचित भए। ‘गरीबहरूको मसिहा’, ‘गरीबहरूको आवाज’ आदि नामले चिनिएका अरिस्टिड निर्वाचित भएर राष्ट्रपति भएको ७ महिनामै सेनाद्वारा अपदस्थ भएपछि सन् १९९१ मा भागेर अमेरिका पुगे।
त्यतिन्जेलसम्ममा अमेरिकाको निष्कर्ष के थियो भने सन् १९३४ मा भएको हैटीबाट अमेरिकी बहिर्गमनदेखि डुभालियर शासनकाल हुँदै अरिस्टिडको सत्ता बहिर्गमनसम्म अमेरिकी स्वार्थमा बाधा भनेको आफैंद्वारा दीक्षित हैटीका ७५०० सेना नै हुन् भन्ने थियो। फलस्वरुप ७५०० सेना रहेको हैटीमा २० हजार अमेरिकी सेना सहित सन् १९९४ मा अरिस्टिडलाई हैटीमा फर्काएर सेनाको बलमा सत्तारोहण गराइए र अरिस्टिडलाई मोहरा बनाएर त्यहाँको राष्ट्रिय सेना पूर्ण विघटन गरिदिए।
जननिर्वाचित सरकारलाई हटाई पटक–पटक राजनैतिक अस्थिरता सिर्जना गरेको, प्रजातान्त्रिक आन्दोलनको दमन गरेको, मानवाधिकार उल्लङ्घन गरेको जस्ता रेडिमेड आरोपहरू लगाएर हैटीको राष्ट्रिय सेनाको विघटनपश्चात् त्यहाँको शान्तिसुरक्षामा पर्न गएको प्रभावको प्रतिफल नै वैदेशिक हस्तक्षेप र संयुक्त राष्ट्रसंघीय उपस्थितिको प्रमुख कारण थियो भन्दा अत्युक्ति नहोला।
हैटीमा छुट्टै प्रहरी संगठन थिएन सेनाकै टुकडीले प्रहरीको पनि काम गर्थ्यो। सेनाले नै नागरिक प्रहरीको पनि भूमिका निर्वाह गर्ने भएको कारण निश्चय पनि केही नकारात्मक पक्षहरू हुँदा हुन्, समाजमा सेनाप्रतिको सम्मानमा पक्कै पनि कमी थियो होला भन्ने कुराको अन्दाज स्थानीय अभिव्यक्तिहरूबाट गर्न सकिन्थ्यो यद्यपि पछिल्लो अवस्था भन्दा सैनिक ज्यादती नै सही भन्ने निष्कर्षमा हैटीका जनता पुगेको आभास हुन्थ्यो।
ठिक जसरी नेपाली समाजमा पनि परिवर्तनपछिका अवस्थाहरूमा दलहरू भन्दा पञ्चायत ठिक, राजा नै ठिक भन्ने आवाजहरू सुन्न सकिन्छ। राज्यबाट अनुचित फाइदा लिन सक्ने तरमारा वर्ग बाहेक आम सर्वसाधारण जनताले समाजमा शान्ति, स्थायित्व र अनुशासनको अपेक्षा गरेको हुने रहेछ भन्ने अनुभूति त्यहाँ पनि भयो।
हैटीको राष्ट्रिय सेनाको विधिवत् विघटनपश्चात् त्यहाँको शान्तिसुरक्षाको अवस्था अत्यन्त नाजुक भएर गयो। कृषि, उद्योग, व्यापार व्यवसाय सबै चौपट। राज्यमा सुरक्षा फौज नहुनु वा कमजोर हुनुको पीडा त्यहाँका जनताको आँखामा देख्न सकिन्थ्यो। कसैले कुनै व्यवसाय गरे त्यहाँ जसले सक्छ उसले लुटेर लिने अवस्था निर्माण भएको थियो। समाजमा पूरै गुण्डाराजको स्थापना भएको अवस्थामा किन गुण्डा, ग्याङ्स्टारहरूको लागि काम गर्ने? भन्ने भावना प्रबल भएपश्चात् हैटीमा उत्पादनमूलक सबै पेशा वा व्यवसाय बन्द नै भए।
नेपालमा पनि भर्खरै माओवादी द्वन्द्वबाट समाज रूपान्तरणको अवस्था थियो र तुलना गरिन्थ्यो, डर लाग्थ्यो हामी र हाम्रो समाज राष्ट्र पनि त्यतै जाने त होइन? जसले खेतीपाती गर्थे आधा हिस्सा वा त्रिखण्ड गरेर माओवादीले लिन्थे, किसानले दु:ख गरेर अलैंची, अदुवा लगायत नगदे बाली खेती गरेर उब्जाउँथे सबैमा माओवादी हिस्सा छुट्याउनुपर्ने, खसीबोका, बंगुर, कुखुरा पाल्यो लुकाई–लुकाई माओवादी दस्तालाई खुवाउनुपर्ने नत्र भौतिक कारबाहीको त्रास जस्ता पीडाले ठूलो समूह गाउँ छोडेर शहरतिर विस्थापित भएको ताजा अनुभव थियो।
हैटीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा फौजको उपस्थितिले केही राहत महसुस भए पनि निर्धक्क भएर कुनै पेशा वा व्यवसाय गर्ने वातावरण निर्माण भइसकेको थिएन। त्यहाँ सानो संख्यामा स्थानीय प्रहरीको गठन र परिचालनको सुरुआत भए पनि सीमा सुरक्षा र आन्तरिक सुरक्षामा त्यसको प्रभावकारिता छँदै थिएन भन्दा हुन्छ। विघटित सेनाहरूको हतियारको व्यवस्थापन व्यवस्थित हुन नसकेको कारण थुप्रै सशस्त्र समूह सक्रिय थिए। सुनिन्थ्यो एकपटक राष्ट्रपतिको सुरक्षा जिम्मा नै एउटा गुण्डा ग्याङलाई दिइएको थियो रे!
ल्याटिन अमेरिका, क्युवा र क्यारेबियन क्षेत्रमा तत्कालीन सोभियत संघ र कम्युनिष्ट प्रभाव विस्तार रोक्ने वा नियन्त्रण गर्ने रणनीति अनुरूप अमेरिकाले हैटीमा आफ्नो प्रभाव कायम गर्न शुरुमा सेनालाई तालिम, हतियार लगायतको सहयोग उपलब्ध गरायो तर कालान्तरमा त्यहाँको सेनाले अमेरिकी स्वार्थ अनुरूप सहयोग नगरेको महसुस भएपछि अमेरिकाले नै कठपुतली राष्ट्रपति एरिस्टिडलाई उपयोग गरेर सेना विघटन गराएको हो भन्ने त्यहाँका बहुसंख्यक जनताको बुझाइ थियो।
शुरुमा ‘गरीबहरूको मसिहा’ भनेर लोकप्रिय मतसहित निर्वाचित राष्ट्रपति अरिस्टिडलाई अन्ततोगत्वा जनताले विदेशी एजेन्टको रूपमा लिन थालेपछि आन्तरिक शान्तिसुरक्षाको अवस्था तहसनहस भयो।
स्थानीय उत्पादन शून्यप्राय भयो। त्यसपछि अमेरिकी सस्तो चामलसँगै मासु, तरकारी समेत विदेशबाट आयात हुन थाल्यो। त्यसले हैटीका कृषकहरूलाई थप बर्बाद बनायो।
अहिले हाम्रो देश नेपालमा पनि ठूलो मात्रामा कृषि उपजहरू भारत र चीनबाट आयात हुन्छ र कतिपय कुरा हाम्रो उत्पादन भन्दा सस्तोमा उपलब्ध छ। यसले नेपाली कृषकहरूलाई विस्थापित गर्ने दिशामा गति बढाइरहेको महसुस हुन्छ। केही ठूला किसानले उत्पादन गरेका कृषि उपज बिक्री नहुने अवस्था सिर्जना गरिंदैछ जसको असर स्वरुप क्रमश: सबैले खेती गर्न छोड्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिन्छ। सरकारको स्थानीय उत्पादनलाई संरक्षण, प्रवर्धन गर्ने नीति हुँदै नभएको त होइन तर प्रभावकारी हुनसकेको छैन।
भूराजनीतिक कारण
महाशक्ति राष्ट्र अमेरिकालाई हैटी जस्तो सानो गरीब र अविकसित राष्ट्रमा चासो रहनुपर्ने कारण के पो होला र जस्तो लाग्नु स्वाभाविक हो तर हैटीको भौगोलिक अवस्थिति सामरिक दृष्टिले अमेरिकाको लागि महत्वपूर्ण भएको ठानिएको हुन सक्छ। हैटी पानामा तिर जाने सामुद्रिक बाटोमा पर्ने महत्वपूर्ण बिन्दु विन्डवार्ड प्यासेजको नजिक छ भने यो क्यारेबियन सागर र आन्ध्र महासागर जोड्ने मुख्य जलमार्ग पनि हो।
त्यसैगरी हैटी क्युवासँग नजिकको दूरीमा रहेका कारण अमेरिकाले एक सैनिक अखडाको रूपमा विकास गर्न खोजेको पनि हुन सक्छ भन्ने लाग्छ। त्यसैगरी हैटीको सेना विघटनमा अमेरिकी चासो हुनुपर्ने मुख्य कारण हैटी आफ्नो सुरक्षाको निमित्त अमेरिकामा निर्भर रहोस् स्वतन्त्र र आत्मनिर्भर नबनोस् भन्ने पनि हुन सक्छ।
यहाँनेर हाम्रो देशको सन्दर्भमा पनि हैटीको जस्तै प्रश्न उठ्ने गर्छ कि नेपाल जस्तो अल्पविकसित, भौगोलिक विकटता भएको, भूपरिवेष्ठित साथै प्राकृतिक स्रोतसाधनको पनि उल्लेखनीय प्रचुरता नदेखिएको मुलुकमा चीन र भारत त सीमा जोडिएका मुलुक भएको कारण आफ्नो सुरक्षा चासो राख्नु स्वाभाविकै भए पनि अमेरिका, युरोप जस्ता सबै दृष्टिले सम्पन्न मुलुकहरूले किन चासो र सरोकार राख्छन्? धेरैलाई चासो हुनु स्वाभाविक नै हो।
नेपाल सधैंभरि कमजोर र परनिर्भर राष्ट्रको रूपमा रहिरहेमा आ–आफ्ना स्वार्थ सिद्ध गर्न समय–समयमा यहाँको भूमि र सत्तालाई प्रयोग गर्न सकिने एउटा कारण हुन सक्छ भने पश्चिमाहरूले उदीयमान महाशक्ति राष्ट्र चीनलाई सबैभन्दा नजिकबाट हेर्ने बिन्दुको रूपमा दक्षिणएशियामा आफ्नो प्रभाव कायम गर्न एउटा साझेदारका रूपमा नेपाललाई उपयोग गर्ने रणनीति हुनसक्छ भन्ने लाग्छ। यहाँका विभिन्न राजनैतिक दलहरूले पनि सबै खाले घटना, परिघटनाहरूलाई आफू र आफ्नो पार्टी स्वार्थ अनुरुप उछाल्ने गरेको पाइन्छ।
कहिले हाम्रो जस्तो मुलुकमा सेनाको संख्या कटौती गर्नुपर्छ यसको काम छैन भन्ने, कहिले सशस्त्र प्रहरी माओवादी द्वन्द्व सकिएसँगै यसको औचित्य सकियो विघटन गर्नुपर्छ भन्ने त कहिले प्रहरी समायोजनको नाममा नेपाल प्रहरीलाई विभाजन गरेर सुरक्षा व्यवस्थालाई कमजोर बनाउने अफवाहहरू फैलाइन्छ ताकि देशमा सुरक्षा अस्थिरताको उपयोग गरेर आ–आफ्ना क्षणिक स्वार्थसिद्ध गर्न सकियोस्।
यसरी सरसर्ती हैटीको अवस्था हेर्दा र केही प्रसंगहरूमा नेपालसँग तुलना गर्दा कुनै पनि मुलुकको सर्वाङ्गीण विकास, शान्ति र स्थिरताको निमित्त सुरक्षा स्थिति सबैभन्दा महत्वपूर्ण पक्ष देखिन्छ। विदेशी शक्तिराष्ट्रहरूले रणनैतिक, भौगोलिक अवस्थितिमा रहेका मुलुकहरू आफू अनुकूल बनुन् भन्ने रणनीति बनाएर क्रियाकलापहरू सञ्चालन गरेका हुन्छन्। यस्तोमा विदेशी रणनीतिलाई चिर्न सक्ने कूटनीतिक चातुर्यले मात्र देश समृद्ध बनाउन सक्छ। शक्तिराष्ट्रहरूलाई गाली गरेर उग्र राष्ट्रवादी गतिविधिले चुनाव जित्न त सकिएला तर वर्तमान जटिल भूराजनैतिक परिस्थितिमा देश समृद्ध बनाउन सकिंदैन।
– खापुङ नेपाल प्रहरीका पूर्व आईजीपी हुन् ।
प्रतिक्रिया 4