२६ चैत, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१, पोक्लाबाङमा निर्माणाधीन पोक्लाबाङ सांस्कृतिक संग्रहालय अहिले अन्तिम चरणमा पुगेको छ ।
लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजनाले स्थानीय पहिचान जोगाउने मात्र होइन, पर्यटन विकासको नयाँ सम्भावनासमेत बोकेको छ ।
फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरतर्फ परम्परागत शैलीमा निर्माण भइरहेको संग्रहालय झिंगटिको छानो र यू-आकारको ६ धुरे संरचनामा तयार गरिएको छ ।
स्थानीय वास्तुकलाको मौलिकता झल्काउने यस भवनले निर्माणकै क्रममा आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न थालेको छ । पहिले खासै पर्यटकीय गतिविधि नदेखिने यस क्षेत्रमा अहिले आगन्तुकको संख्या विस्तारै बढ्दै जान थालेको छ ।
पोक्लाबाङ क्षेत्र फेदापका १९ थरी याक्थुङ (लिम्बू) समुदायको ‘माङ्गेन्ना यक् (गढी)’ अर्थात् पुर्खाको उत्पत्तिस्थलका रूपमा परिचित छ । याक्थुङ समुदायमा प्रत्येक थरीको आफ्नै माङ्गेन्ना यक् हुने परम्परा रहिआएको छ, जहाँ पुर्खाले पहिलोपटक बसोबास सुरु गरेको स्थललाई पवित्र मानिन्छ । यही ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्ने उद्देश्यले पोक्लाबाङ यक् माङ्गेन्ना लुङ्धुङ थामरुङ संस्थाको नेतृत्वमा संग्रहालय निर्माण अघि बढाइएको हो ।
संग्रहालयमा लिम्बू समुदायसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक सामग्री, पुराना सांस्कृतिक वस्तुहरू संकलन गरी सुरक्षित राख्ने योजना रहेको समिति सल्लाहकार विजय निङलेकुले बताए । ‘यो संग्रहालयले हाम्रो इतिहास र पहिचानलाई भावी पुस्तासम्म पुर्याउने माध्यम बन्नेछ’, उनको भनाइ छ ।
सहरी विकास मन्त्रालयको भ्याटसहित २ करोड ७३ लाख रुपैयाँ बजेटमा मारुती बिल्डर्स निर्माण कम्पनीमार्फत २०८१ असारदेखि सुरु भएको यो परियोजना बहुवर्षीय योजनाअन्तर्गत सञ्चालनमा रहेको छ । चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही प्राविधिक तथा व्यवस्थापकीय कारणले काममा ढिलाइ भएको देखिन्छ ।
प्रारम्भिक चरणमा प्रयोग गरिएको सामग्रीको गुणस्तर तथा निर्माण प्रक्रियामाथि प्रश्न उठेपछि सुधार, अनुगमन र पुन: सम्झौतामार्फत काम अगाडि बढाइएको स्थानीय गोपाल निङ्लेकुको भनाइ छ । यता निर्माण पक्षले भने प्राविधिक जनशक्ति अभाव र सामग्री व्यवस्थापनमा समस्या आएका कारण काम प्रभावित भएको जनाएको छ । सब-इन्जिनियर सुवास मगरका अनुसार अब काम अन्तिम चरणमा पुगेको छ ।
स्थानीय दुई व्यक्तिले नि:शुल्क उपलब्ध गराएको करिब दुई रोपनी जग्गामा निर्माण भइरहेको यो संग्रहालय सम्पन्न भएपछि पोक्लाबाङ यक् क्षेत्र धार्मिक आस्थाको केन्द्रसँगै पर्यटन, संस्कृति र इतिहास अध्ययनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4