+
+
Shares

वैदेशिक रोजगारीमा रहेका बुवालाई उपसभामुख छोरीले दिएको खुसी

रुबीका बुवाको खुसी– छोरीले देश र जनताप्रति समर्पित भएर काम गरोस्

शोगारथले भने– विदेश नगए घर चल्दैन । बिदामा आएको बेला संयोगवश छोरी सांसद बनेकी छिन् । म त केही दिनमा फर्किन्छु । छोरीले देश र जनताप्रति समर्पित भएर काम गरोस् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ चैत २७ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीबाट सांसद बनेकी रुबीकुमारी ठाकुर राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उपसभामुख निर्वाचित भइसकेकी छिन्।
  • रुबीकुमारीको परिवार कमजोर आर्थिक अवस्थाको छ र उनका पिता शोगारथ ठाकुर २५ वर्षदेखि वैदेशिक रोजगारीमा छन्।
  • रुबीले वैदेशिक रोजगारीको पीडा र मधेशमा दाइजो प्रथाविरुद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

२७ चैत, जनकपुरधाम । जनकपुर–ढल्केवर सिक्स लेन सडकअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाबाट करिब २०० मिटर पश्चिम कोरगाउँमा छ, ४८ वर्षीय शोगारथ ठाकुर (हजाम) को घर ।

बिहीबार अपराह्न ४ बजे शोगारथ आफ्नै घरमा छोराछोरीसँग गफिँदै थिए । उनकी श्रीमती रेनुदेवी ठाकुर भने खेतको काममा व्यस्त थिइन् ।

८ दिनअघि मात्र साउदी अरबबाट घर फर्किएका शोगारथ निकै हर्षित देखिन्थे । यसको कारण थियो- उनकी छोरी रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट सांसद मात्र बनेकी थिइनन्, उपसभामुख बन्ने निश्चित भएको थियो ।

‘म वैदेशिक रोजगारीका क्रममा साउदीमा थिएँ । मैले छोरी सांसद बन्दैछिन् भन्ने कुरा समाचार हेरेर थाहा पाएँ । मेरा लागि यो समाचार कल्पनाभन्दा बाहिरको थियो । सांसद बनिसकेपछि छोरी रुबीले फोन गरेर सुनाइन् । मलाई त सपनाझैं लाग्यो,’ शोगारथले सुनाए ।

घर फर्किएपछि उनको खुसी झन् थपियो, कारण थियो– सांसद बनेकी छोरी अब गरिमामय उपसभामुख पदमा पुग्ने निश्चित भयो । उपसभामुखका लागि बिहीबार श्रम संस्कृति पार्टीबाट मनोनयन दर्ता गराएकी रुबी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थनमा संसद्बाट उपसभामुख निर्वाचित भइसकेकी छिन् ।

बिहीबार हामी उनको घर पुगेको केहीबेरमै रुबीको फोन आएको थियो । उनले बुबा शोगारथसँग खुसी साट्दै भनिन्, ‘बुबा म अब उपसभामुख बन्दैछु, मेरो मनोनयन दर्ता भयो ।’ यो सुनेपछि शोगारथका आँखामा खुसीका आँसु भरिएका थिए ।

कमजोर आर्थिक अवस्थाको यस परिवारले आफ्नै टोलमा समेत कुनै सदस्यले राजनीति गर्ने वा कुनै पद प्राप्त गर्ने कल्पनासमेत गरेका थिएनन् । ४८ वर्षीय शोगारथ विगत २५ वर्षदेखि वैदेशिक रोजगारीमा आवतजावत गर्दै आएका छन् । उनी विदेशमा कपाल–दाह्री काट्ने काम गर्छन् । उनको विदेशको आम्दानीले नै परिवार चलेको छ । ६ छोराछोरीको लालनपालन र शिक्षादीक्षा भइरहेको छ ।

परिवारसँग सम्पत्तिको नाममा चार धुरमा बनेको सानो, पुरानो पक्की घर र दुई कठ्ठा जमिन मात्र छ । गरिबीको कारण परिवार विगतमा कष्टबाट गुज्रेको छ ।

करिब अढाइ महिनाअघिसम्म यस परिवारको कुनै राजनीतिक लगावसमेत थिएन । गरिखाने यो परिवारलाई गाउँमा खासै वास्ता थिएन ।

रुबीसहित शोगारथका ६ सन्तान छन्, चार छोरी र दुई छोरा । जेठी छोरी सुरजको विवाह भइसकेको छ । माहिली छोरी शोभा स्नातक तहमा अध्ययनरत छिन् । सांसद बनेकी साहिली छोरी रुबीले सिभिल इन्जिनियरिङ अध्ययन गरेकी छन् । काइँली छोरी देवका कक्षा १२ उत्तीर्ण गरी हाल घरनजिकै रहेको भाटभटेनी सुपरमार्केटमा काम गर्दै छिन् । छोरा शनिले यसपटक एसईई दिए । कान्छो छोरा सोनी कक्षा ७ मा अध्ययनरत छन् ।

‘म २५ वर्षदेखि वैदेशिक रोजगारीमा खटिरहेको छु । त्यही कमाइले घर चलेको छ । बालबच्चालाई पढाइरहेको छु । अरू खासै प्रगति गर्न सकेको छैन । विगतमा धेरै दुःख कष्ट भोगेको छु,’ शोगारथले सुनाए ।

रुबीले घर नजिकैको श्री माध्यमिक विद्यालय, मुजेलियाबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । त्यसपछि उनले सर्लाहीको बलरा पोलिटेक्निक इन्जिनियरिङ कलेजबाट तीन वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ अध्ययन गरेकी हुन् । उनी धनुषाकै एक कन्सल्टेन्सीमा काम गर्दै आएकी थिइन् । रुबीको राजनीतिप्रति कुनै विशेष लगाव थिएन, त्यसैले सांसद बन्ने कुरा उनको कल्पनाभन्दा बाहिरको विषय थियो ।

‘अढाइ महिनाअघिसम्म मैले सांसद बन्छु भन्ने कल्पनासमेत गरेको थिइनँ । राजनीतिमा मेरो कुनै आबद्धता नै थिएन,’ रुबीले अनलाइनखबरसँग विगत सुनाइन् ।

तर, फागुन २१ गते सम्पन्न निर्वाचनको मुखमा उनी श्रम संस्कृति पार्टीमा आवद्ध भइन् । साधारण सदस्यका रूपमा जोडिएकी उनलाई सानोतिनो पदको मात्र अपेक्षा थियो । समानुपातिकतर्फ नाम समावेश गर्न श्रम संस्कृति पार्टीका मधेश इन्चार्ज दीपकजंग ठाकुरले फोन गरेर मागेपछि उनले आफ्नो नाम टिपाएकी थिइन् । भर्खरै खुलेको सानो पार्टीबाट समानुपातिक सूचीमा नाम राख्दा उनलाई खासै उत्साह लागेको थिएन । त्यसैले सांसद बन्ने कल्पना उनले गरेकी थिइनन् ।

‘म चुनावको बेला मात्र पार्टीमा जोडिएकी हुँ, सानोतिनो पदका लागि । दीपकजंग ठाकुरले नाम माग्दा टिपाएको थिएँ । सांसद नै बनुँला भन्ने कल्पना त गरेको थिइनँ,’ उनले भनिन् ।

फागुन १३ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ महोत्तरीको बर्दिबासमा आयोजित चुनावी सभामा आउँदा रुबी त्यहाँ पुगेकी थिइन् । सो अवसरमा हर्कसँग उनको सामान्य भेट भएको थियो ।

रुबीको बुझाइमा आफू जस्तो कमजोर आर्थिक अवस्थाको परिवारका सदस्यले सांसद बन्ने कुरा त सपना जस्तै हो । तर श्रम संस्कृति पार्टी र अध्यक्ष हर्कराज राईले आफू जस्ता पहुँचविहीन परिवारका व्यक्तिलाई अवसर दिनु ठूलो ‘सरप्राइज’ हो ।

‘मेरो परिवार र म जस्ता मान्छेले सांसद बन्छु भन्नु पनि सपना जस्तै हो । तर म जस्तो पहुँच नभएको कमजोर परिवारका मान्छेलाई सांसद र त्यसपछि उपसभामुख बनाउनु श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङको सरप्राइज नै हो,’ उनले खुसी व्यक्त गरिन् ।

रुबी आफ्नो पदीय भूमिका कुशलतापूर्वक निर्वाह गर्ने बताउँछिन् । वैदेशिक रोजगारीको पीडा र मधेशमा जरा गाडेर बसेको दाइजो प्रथाविरुद्ध काम गर्नु आफ्नो प्रमुख एजेन्डा भएको उनले बताइन् । यस विषयमा उनले बुधबार सदनमा शून्य समयमा बोल्दै आवाज उठाएकी थिइन् । वैदेशिक रोजगारीको पीडा उनले नजिकबाट बुझेकी छन् । किनभने, उनका बुबा शोगारथ २५ वर्ष विदेशमा श्रम गर्दा परिवारले भोग्नुपरेको दुःखको अनुभव उनलाई छ ।

त्यसैगरी, मधेशमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथाले निम्त्याएको महिला हिंसाविरुद्ध पनि काम गर्ने उनको प्रतिबद्धता छ ।

‘देशमा रोजगारीको वातावरण छैन । युवाहरू विदेशिनु परेको छ । स्वदेशमै रोजगारीको वातावरण बनोस्,’ उनले भनिन्, ‘मधेशमा दाइजो प्रथा चरम सीमामा पुगेको छ । यसबारे पनि म काम गर्ने प्रयास गर्छु ।’

छोरीलाई सांसद र उपसभामुख बनाएकोमा बुबा शोगारथ हर्क सम्पाङप्रति नतमस्तक छन् । छोरीले देश र जनताको लागि समर्पित भएर काम गरुन् भन्ने उनको चाहना छ ।

तीन छोरीको बिहेको जिम्मेवारी शोगारथको टाउकोमा छ । छोराछोरीको पढाइ र उनीहरूलाई लक्ष्यमा पुर्‍याउन पुनः वैदेशिक रोजगारीमा जाने बताउँछन् ।

‘विदेश नगए घर चल्दैन । म त बिदामा आएको थिएँ । संयोगवश छोरी पनि सांसद बनेकी छन् । खुसी साटासाट गरें । केही दिनपछि विदेश जान्छु,’ शोगारथले भने, ‘छोरी देश र जनताप्रति समर्पित भएर काम गरोस् ।’

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?