News Summary
Generated by OK AI. Editorially reviewed.- क्यूएफएक्स सिनेमाजले २२ अप्रिलमा माइकल ज्याक्सनको बायोपिक 'माइकल' को नेपालमै विशेष 'पेड प्रिभ्यु शो' आयोजना गर्ने जनाएको छ।
- फिल्ममा माइकलको भूमिकामा उनका भतिजा जाफर ज्याक्सन छन् जसले माइकलसँग शारीरिक हाउभाउ र प्रस्तुतीकरणमा मिल्दोजुल्दो देखिन्छन्।
- निर्देशक एन्टोनी फुक्वाले फिल्मलाई संगीत कथा मात्र नभई भावनात्मक र मानवीय कथा बनाउने प्रयास गरेको उल्लेख छ।
काठमाडौं । ‘माइकल’ फिल्मको प्रदर्शनअघि नै नेपालमा विशेष ‘पेड प्रिभ्यु शो’ हुने भएको छ । क्यूएफएक्स सिनेमाजले प्रदर्शन मिति २४ अप्रिल (११ बैशाख) कुर्नु नपर्ने भन्दै दर्शकलाई पहिले नै फिल्म हेर्ने अवसर दिइने जनाएको हो ।
क्यूएफएक्सका अनुसार ठमेलस्थित छाया सेन्टरमा ‘माइकल’को एक्सक्लुसिभ ‘पेड प्रिभ्यु’ आयोजना गरिनेछ, जहाँ दर्शकले नेपालमै सबैभन्दा पहिले माइकल ज्याक्सनको बायोपिक हेर्ने मौका पाउनेछन् ।
प्रिभ्युका लागि सिट संख्या सीमित हुने भएकाले चाँडै टिकट सुरक्षित गर्न पनि आग्रह गरिएको छ । साथै, फिल्मको कथा अरूबाट थाहा पाउनु अघि आफैं हेर्न नछुटाउन क्यूएफएक्सले दर्शकलाई अपिल गरेको छ ।
‘पेड प्रिभ्यू शो’ को एड्भान्स टिकट बिक्री पनि हलले शुक्रबारदेखि थालेको छ । २२ अप्रिल अर्थात ९ बैशाखमा ‘पेड प्रिभ्यू शो’ गर्न लागिएको हो ।
हलिउडका ‘किङ अफ पप’ माइकल ज्याक्सनको जीवनमा आधारित यो फिल्मप्रति विश्वभर उत्साह देखिएको छ । नेपालमा पनि यसको अग्रिम प्रिभ्युले दर्शकमाझ थप उत्सुकता बढाउने अपेक्षा गरिएको छ ।
‘माइकल’ हलिउडमा निर्माण भएको एक बायोपिक फिल्म हो, जसले ‘किङ अफ पप’ माइकल ज्याक्सनको जीवनयात्रालाई केन्द्रमा राख्छ । यो फिल्ममा उनको बाल्यकालदेखि सुरु भएको संगीत यात्रा, विश्वव्यापी लोकप्रियता, व्यक्तिगत संघर्ष र विवादसम्मका पक्ष समेट्ने प्रयास गरिएको छ ।
फिल्ममा माइकलको भूमिकामा उनका भतिजा जाफर ज्याक्सन देखिन्छन् । उनी शारीरिक हाउभाउ र प्रस्तुतीकरणका हिसाबले माइकलसँग निकै मिल्दोजुल्दो देखिन्छन्, जसले फिल्मलाई अझ विश्वसनीय बनाएको छ ।
निर्देशक एन्टोनी फुक्वाले फिल्मलाई केवल संगीत कथा मात्र होइन, एक भावनात्मक र मानवीय कथा बनाउने प्रयास गरेका छन् । फिल्ममा माइकलका चर्चित गीतहरू, स्टेज प्रदर्शन र ऐतिहासिक क्षणहरू पुनः सृजना गरिएको छ ।
फिल्मको विशेषता भनेको यसको स्केल र प्रस्तुति हो । ठूलो बजेटमा बनेको यो फिल्ममा कन्सर्ट दृश्य, नृत्य, संगीत र भिजुअल प्रस्तुति निकै भव्य रूपमा देखाइएको छ ।
यद्यपि, फिल्म विवादबाट पनि मुक्त छैन । माइकल ज्याक्सनमाथि लागेको केही गम्भीर आरोपहरूलाई फिल्ममा समेटिएको छैन भन्ने विषयले चर्चा चुलिएको छ । त्यसैले केहीले यसलाई उनको छवि सफा गर्ने प्रयासका रूपमा पनि हेरेका छन् ।
प्रतिक्रिया 4