+
+
Shares

वर्ष २०८२ मा जम्मा ६ प्रतिशत बढ्यो सेयर बजार, ०८३ मा तोडिएला रेकर्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वि.सं. २०८२ सालमा सेयर बजार नेप्से परिसूचक २८३३ अंकमा बन्द भयो, जुन ६.४२ प्रतिशतले मात्र वृद्धि हो र पुरानो रेकर्ड ३१९८ अंक नटुट्यो।
  • जेनजी विद्रोहका कारण निजी सम्पत्तिमा तोडफोड र आगजनी हुँदा लगानीकर्ताको मनोबल घटेर नेप्से २४८७ अंकसम्म झर्‍यो।
  • २०८३ सालमा न्यून ब्याजदर, वित्तीय सहजता र आर्थिक बाह्य सूचकको मजबुत अवस्थाले सेयर बजारमा नयाँ रेकर्ड बन्न सक्ने सम्भावना छ।

३० चैत, काठमाडौं । वि.सं. २०८२ साल सेयर बजारमा त्यति प्रतिफलमूलक रहेन । २०८१ सालको अन्तिम कारोबार दिन २६६२ अंकमा रहेको बजार २०८२ को अन्तिम दिन २८३३ अंकमा बन्द भयो । समग्रमा एक वर्षमा जम्मा १७१ अंक अर्थात् ६.४२ प्रतिशत मात्रै बजार बढ्यो ।

यसअघि २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनेको छ । सो रेकर्ड २०८२ सालमा पनि तोडिन सकेन । यो वर्ष साउन १३ गते नेप्से परिसूचक ३००२ अंकमा पुग्यो । त्यतिबेलै नेप्सेले पुरानो रेकर्ड तोड्ने चर्चा व्यापक चले पनि अन्ततः ३००२ नै वर्षभरिको उच्चतम अंक रह्यो । त्यसपछि ओरालो गति समातेको बजारलाई जेनजी विद्रोहले थप निराश तुल्यायो ।

भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी विद्रोहका बेला थुप्रै निजी तथा व्यावसायिक सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट भएसँगै लगानीकर्ताको मनोबलमा ठूलो असर पर्‍यो । परिणामस्वरुप ओरालो गतिको बजार असोज ३० गते २४८७ अंकसम्म झर्‍यो, जुन अंक वर्षभरिकै न्यूनतम रह्यो ।

एक वर्षमा बजारको आकार ४ खर्ब ७ अर्बले बढेको छ । २०८१ चैत मसान्तका दिन बजारको कुल पूँजीकरण (सूचीकृत सबै सेयरको मूल्य) ४४ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा अहिले ४८ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्सेमा उच्चतम अंक ३१९८ को रेकर्ड बनेको ४ वर्ष ८ महिना पूरा भएको छ । यति लामो समयसम्म सेयर कारोबारी तथा लगानीकर्ता प्रतिफलविहीनजस्तै हुन पुगेका छन् । बजारमा एक वर्षमा थ्रुप्रै कम्पनी थपिए ।

नयाँ कम्पनी थपिएपछि ती कम्पनीको मूल्य प्राथमिक बजारमा भन्दा दोस्रो बजारमा ५/६ गुणा महँगो हुने गरेको छ । नयाँ कम्पनीको मूल्य त्यसरी बढेकै कारण समग्र पूँजीकरण पनि उच्च हुने गर्दछ, जसले बजार परिसूचक नेप्से प्रभावित भएको छ । यहीं कारण समग्र नेप्से परिसूचक एक वर्षमा करिब ६ प्रतिशतले बढेको देखिए पनि दोस्रो बजारका लगानीकर्ता तथा कारोबारीले प्रतिफल बढाउन वा कमाउन सकेनन् ।

यतिबेला उत्पादन तथा प्रशोधन समूहको सूचक हालसम्मकै उच्च ११६८९ अंकमा पुगेको छ । यसको अर्थ उत्पादन तथा प्रशोधन समूहका सबै कम्पनीको मूल्य बढेर होइन, थपिएका नयाँ कम्पनीको मूल्य बढेका कारण यो सूचकले नयाँ रेकर्ड बनाएको हो ।

यस समूहमा कुल १५ कम्पनी सूचीकृत रहेका छन् । समूहका कुल कम्पनीमा ३३ प्रतिशत कम्पनी २०८२ सालमा मात्रै थपिएका हुन् । सागर डिस्टिलरी, श्रीनगर एग्रिटेक, एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स तथा पाल्पा सिमेन्ट यस समूहमा यो वर्ष सूचीकृत भए ।

सूचीकृत भएका यिनै कम्पनीको मूल्य प्राथमिक बजारकोभन्दा ५/६ गुणा बढ्यो, जसले समग्र समूहगत सूचकसँगै नेप्सेलाई पनि बढायो तर पुराना १० कम्पनीमा लगानीकर्ता तथा कारोबारीले यो वर्ष कमाएको प्रतिफल ज्यादै न्यून छ । यस्तै प्रवृत्तिले अरु समूहमा थपिएका नयाँ कम्पनीको पनि मूल्य बढ्यो र यसले बजार आकार ४ खर्ब ७ अर्बले बढायो ।

२०८३ मा बन्ला नयाँ रेकर्ड ?

२०८३ का लागि सेयर बजारका लागि अनुकूल विषय प्रशस्त छन् । पहिलो अनुकूल विषय हो : न्यून ब्याजदर । बैंकले २०८२ मा महिनैपिच्छे ब्याजदर घटाउँदै लगे । वैशाख महिनाका लागि पनि ब्याजदर थप घटेको छ ।

यो फागुन मसान्तसम्म आउँदा वाणिज्य बैंकहरुको औसत आधार दर जम्मा ५.१० प्रतिशत मात्रै छ । २०८१ फागुनमा यस्तो दर ६.३४ प्रतिशत थियो । चैतमा यो दर अझै घट्नेछ । ब्याजदर घट्दा निक्षेपको साटो लगानी सेयर बजारतिर मोडिन्छ ।

अर्कोतर्फ हाइड्रोपावर, उत्पादनमूलक, होटल तथा पर्यटन सेक्टर लगायतका कम्पनीलाई वित्तीय (ब्याज) भार कम हुन गई सिधै नाफा बढ्न जान्छ, जुन प्रभाव देखिसकिएको छ । समग्रमा बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेकाले अझै ब्याजदर बढ्ने संकेत देखिएकै छैन ।

त्यस्तै नियामक निकायबाट बजारका लागि एकपछि अर्को नीतिगत सहजता थपिँदै लगेको छ । चालु वर्षमा मात्रै नेपाल राष्ट्र बैंकले लघुवित्तलाई लाभांश दिन पाउने सीमा १५ बाट २५ प्रतिशत कायम गर्‍यो ।

बैंकहरुले सेयर होल्ड गर्नुपर्ने समयसीमा १ वर्षबाट ६ महिनामा झारियो । नीतिगत दरहरु पनि झरेका छन् । सेयर धितो कर्जामा व्यक्तिले पाउने सीमा १५ करोडबाट २५ करोड पुर्‍याइयो । मार्जिन कारोबारका लागि कार्याविधि तयार भएर कार्यान्वयनमा आएको छ ।

अर्थतन्त्रका वाह्य सूचक यतिबेला मजबुत अवस्थामै छन् । हालसम्मकै उच्च वैदेशिक मुद्रा सञ्चिति, बढ्दो रेमिट्यान्स आप्रवाह, मजबुत शोधनान्तर स्थितिजस्ता पक्ष सकारात्मक छन् । यसले गर्दा बजारले यसअघिको रेकर्ड तोड्ने आधार बनेका छन् ।

तर कतिपय अवस्थामा अनुकूल विषयले मात्रै पनि बजार बढाउन नसक्ने बताउँछन् लगानीकर्ता सुवासचन्द्र ढुंगाना । ‘अनुकूल विषयले मात्रै बढ्ने होइन, बेलाबेला देखिने राजनीतिक वा अन्य घटनाक्रमले मनोविज्ञानमा तुरुन्तै प्रभाव पार्दछ’ उनले भने । बजारले नयाँ रेकर्ड बनाउनका लागि ३ हजार माथि केही समय टिक्नुपर्ने जरुरत रहेको उनी बताउँछन् । पटक पटक बजारले ३ हजार आसपास पुगेर झर्ने गरेको छ । गत वर्ष असार १३ गते ३००२ अंकमा पुगेको बजार चैत १० गते २९६० अंक पुगेर फर्कियो ।

यतिबेला बजारका लागि एउटा चुनौतीका रुपमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली बनिरहेको छ । समयमै साँवा, ब्याज असुली नहुँदा बैंकहरुको गैरबैंकिङ सम्पत्ति र निष्क्रिय कर्जा बढ्दो छ । यसले गर्दा कतिपय बैंक तथा वित्तीय संस्था लाभांश दिन नसक्ने अवस्थामा छन्, जसले बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा असर परिरहेकै छ । बजारमा सबैभन्दा शक्तिशाली समूह नै यहीं सेक्टर रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?