News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा चैतको तुलनामा ०.०९४ प्रतिशत बिन्दुले घटाएका छन्।
- एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ५ प्रतिशत ब्याजदर तय गरेको छ, जुन पाँच वर्ष वा सोभन्दा लामो अवधिका लागि मात्र हो।
- राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि बोन्ड र स्थायी निक्षेप सुविधा प्रयोग गरी बैंकको पैसा खिचिरहेको छ।
३० चैत, काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ ।
बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । सोमबार वैशाख महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् ।
चैतको तुलनामा वैशाखमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।
वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा चैतको तुलनामा वैशाखमा ०.०९४ प्रतिशत बिन्दुले झरेको छ । चैतमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४९४ प्रतिशत रहेकोमा वैशाखमा ४.४०० प्रतिशतमा झरेको छ ।
चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएका बैंकमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड छन् । त्यस्तै स्थिर राखेकामा कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर वैशाखमा ५.०० प्रतिशत कायम रहेको छ । एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ५ प्रतिशत ब्याजदर तय गरेको छ, तर यो ब्याजदर ५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि मात्रै हो । अरु सबै बैंकको व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल रहेको छ ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर पनि लामो अवधिको हो ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर
| बैंक | चैतको ब्याजदर % | वैशाखको ब्याजदर % |
| कृषि विकास | ४.१५ | ४.१५ |
| सिटिजन्स | ४.५० | ४.१५ |
| एभरेस्ट | ४.२५ | ४.०५ |
| ग्लोबल आईएमई | ४.५० | ४.५० |
| हिमालयन | ५.०० | ४.५० |
| इन्भेस्टमेन्ट मेगा | ४.५० | ४.५० |
| कुमारी | ४.१२ | ४.०५ |
| लक्ष्मी सनराइज | ४.५० | ४.५० |
| माछापुच्छ्रे | ४.५० | ४.५० |
| नबिल | ४.५५ | ४.५५ |
| नेपाल | ४.२५ | ४.२५ |
| नेपाल एसबीआई | ४.२५ | ४.२५ |
| एनआईसी एसिया | ५.०० | ४.७५ |
| एनएमबी | ५.०० | ५.०० |
| प्राइम कमर्सियल | ४.१५ | ४.१५ |
| प्रभु | ४.५५ | ४.५५ |
| राष्ट्रिय वाणिज्य | ५.०० | ४.७५ |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ४.२५ | ४.०० |
| स्ट्यान्डर्ड चार्टर्ड | ४.११ | ४.१० |
प्रतिक्रिया 4