३० चैत, काठमाडौं । मकवानपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालयमा भएको भेटका क्रममा सांसद उप्रेतीले वर्षौंदेखि हेटौंडा कपडा उद्योगसहित आफ्नो क्षेत्रमा थाँती रहेका पूर्वाधार, स्वास्थ्य, उद्योग, भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दा समाधान गरिदिन आग्रह गरेका हुन् ।
भेटमा क्रममा उनले थानकोट–चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नुपर्ने, कुन्छाल–कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने तथा अन्य सडकहरूको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्ने बताएका हुन् ।
त्यस्तै, हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्नुपर्ने, हेटौंडा क्षेत्रको सडक विस्तारका कारण नागरिकको घरजग्गा अलपत्र परेकाले तत्काल समाधान गर्नुपर्ने माग पनि उनले राखेका छन् । सांसद उप्रेतीले स्वास्थ्य क्षेत्रतर्फ हेटौंडा अस्पतालमा क्याथल्याब तथा हार्ट–लङ मेसिन जडान गर्नुपर्नेबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
उनले भूमिहीन समस्या समाधान, मध्यवर्ती क्षेत्रको न्यायसंगत पुनर्सीमाङ्कन तथा गाँजा वैधानिकतासम्बन्धी वैकल्पिक नीति निर्माण गर्दै भरियाहरूको जीवनस्तर उकास्न ठोस सरकारी योजना आवश्यक रहेकोसमेत बताएका छन् ।
विपद् व्यवस्थापनतर्फ चट्याङ रोकथामका लागि दीर्घकालीन गुरुयोजना निर्माण, कुलेखानी बाढीबाट प्रभावित सिस्नेरी क्षेत्रका पीडितलाई क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने माग उनले राखेका छन् । यसका साथै, चेपाङ र बाँकरिया जस्ता लोपोन्मुख समुदायको संस्कृति संरक्षण तथा जीवित संग्रहालय स्थापना गर्नुपर्ने विषय पनि उठाइएको छ ।
प्रधानमन्त्री शाहले आफूले उठाएका सबै विषयमा सकारात्मक प्रतिक्रिया दिएको सांसद उप्रेतीले बताए ।
प्रतिक्रिया 4