News Summary
Generated by OK AI. Editorially reviewed.- हंगेरीको निर्वाचनमा पिटर माग्यार नेतृत्वको तिस्जा पार्टीले १९९ मध्ये १३८ सिट जितेर अनुदारवादी प्रधानमन्त्री विक्टर ओर्बनको १६ वर्षे शासन अन्त्य गरेको छ।
- ओर्बनले आफ्नो पराजय स्वीकार गर्दै भने, 'नतिजा स्पष्ट छ र हाम्रो लागि यो निकै पीडादायक पनि छ' र जनताको फैसलालाई शिरोपर गरेको बताए।
- विजयपछि माग्यारले भने, 'हामीले हंगेरीलाई अनुदारवादी साङ्लोबाट मुक्त गरेका छौँ र आफ्नो देश फिर्ता लिएका छौँ' र नयाँ युरोपेली एकीकरणको प्रतिबद्धता जनाए।
१ चैत, काठमाडौं । १२ अप्रिल २०२६ को रात बुडापेस्टको डानुब नदी किनारमा उत्सवको माहोल थियो। लाखौँको संख्यामा भेला भएका हंगेरीका उदारवादी प्रदर्शनकारीको मुखबाट एउटा ऐतिहासिक नारा फेरि गुञ्जिरहेको थियो, ‘रुसीहरू घर जाओ !’
यो त्यही नारा थियो, जसले सन् १९५६ को सोभियतविरोधी क्रान्तिको समयमा हंगेरीको सडक तताएको थियो। ठीक ७० वर्षपछि फेरि त्यही नाराको पुनरावृत्ति भइरहँदा यसको प्रहार भने कुनै विदेशी सेनाप्रति नभई प्रधानमन्त्री विक्टर ओर्बनको शासनविरुद्ध केन्द्रित थियो। १६ वर्षसम्म हंगेरीमा अनुदारवादी लोकतन्त्र प्रयोग गरेका ओर्बनको सत्ता अन्ततः जनमतको लहरमा ढल्न पुगेको छ।
लामो समयदेखि सत्तामा पकड जमाएका ओर्बनले राति ९:३० बजेतिर हार स्वीकार गरे। आफ्नो पराजयप्रति ओर्बनले कुनै बहाना बनाएनन्। नतिजा स्वीकार्दै समर्थकहरूलाई धैर्य रहन आग्रह गरे।
‘नतिजा स्पष्ट छ र हाम्रो लागि यो निकै पीडादायक पनि छ,’ आफ्ना निराश समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने। ओर्बनले थपे, ‘यसपटक हामीलाई शासन गर्ने जिम्मेवारी र अवसर दुवै दिइएन। जनताको फैसलालाई हामी शिरोपर गर्छौँ।’
ओर्बनको बहिर्गमनसँगै युरोपको राजनीतिमा एउटा भिन्न धारको अन्त्य भएको विश्लेषण गर्न थालिएको छ । रुससँगको निकटताका कारण आलोचित बन्दै आएका ओर्बनको हारलाई लोकतन्त्रको पुनरुत्थानका रूपमा हेरिएको छ।
पिटर माग्यार नेतृत्वको तिस्जा पार्टी (तिस्जा–रेस्पेक्ट एन्ड फ्रिडम पार्टी) ले हंगेरी संसद्मा १९९ मध्ये १३८ सिट हात पार्दै ऐतिहासिक दुई–तिहाइ बहुमत हासिल गरेको छ। अर्कोतर्फ, लामो समयसम्म सत्ताको बागडोर सम्हालेको ओर्बनको फिडेज पार्टी मात्र ५५ सिटमा खुम्चिएको छ ।
यसपटक हंगेरीमा नागरिकको सहभागिता अभूतपूर्व रह्यो। मतदान प्रतिशत ७९.५१ प्रतिशत पुग्यो, जुन हंगेरीको लोकतान्त्रिक इतिहासकै अहिलेसम्मको सर्वोच्च मतदान दर हो।
विजय सुनिश्चित भएपछि बुडापेस्टमा उपस्थित समर्थकहरूको विशाल समूहलाई सम्बोधन गर्दै पिटर माग्यारले यस जितलाई देशको पुनर्जन्मका रूपमा व्याख्या गरे।
‘आज हामीले ओर्बन प्रणालीलाई पूर्ण रूपमा विस्थापित गरेका छौँ,’ माग्यारले विजयको घोषणा गर्दै भने, ‘हामीले हंगेरीलाई ‘अनुदारवादी’ साङ्लोबाट मुक्त गरेका छौँ र आफ्नो देश फिर्ता लिएका छौँ।’
अनुदारवादी प्रणालीको उदय र पतन
सन् २०१० मा सत्ताको बागडोर सम्हालेका विक्टर ओर्बनले १६ वर्षसम्म हंगेरीलाई एउटा अनौठो र विवादास्पद राजनीतिक प्रयोगको मञ्च बनाए। उनले आफ्नो शासन पद्धतिलाई ‘अनुदारवादी लोकतन्त्र’ को नाम दिएका थिए। यो पद्धति पश्चिमा उदारवादी मूल्य–मान्यताको सिधा अस्वीकार र राष्ट्रवादी–इसाइ परम्पराको जगमा उभिएको थियो।
ओर्बनले सत्तामा पुगेलगत्तै राज्यका हरेक अंगलाई आफ्नो अनुकूल ढाल्न सुरु गरे। उनले संविधान संशोधनमार्फत न्यायपालिकामाथि कडा नियन्त्रण कायम गरे। सार्वजनिक मिडियाको ८० प्रतिशतभन्दा बढी हिस्सा राज्य र सरकारनिकट व्यवसायीहरूको मुठ्ठीमा पुर्याए।
यति मात्र होइन, उनले निर्वाचन क्षेत्रहरूलाई आफ्नो पार्टी (फिडेज) को फाइदा हुने गरी ‘जेरिमेन्डरिङ’ (पुनर्सीमांकन) गरे। छिमेकी देशहरूमा रहेका हंगेरी मूलका मतदाताहरू (डायस्पोरा भोट) लाई आफ्नो पक्षमा रणनीतिक रूपमा परिचालन गरेर उनले सत्ताको सिंढी सुरक्षित बनाइरहे।
अन्तर्राष्ट्रिय समाचार संस्था पोलिटिकोले रिपोर्ट गरेको छ, ‘ओर्बनले १६ वर्षमा चुनावी प्रणालीलाई आफ्नो पक्षमा यसरी ढालेका थिए कि सामान्य परिस्थितिमा उनको पराजय असम्भव देखिन्थ्यो।’
सन् २०२२ को निर्वाचनमा ५४ प्रतिशत मत र संसद्मा दुई तिहाइ बहुमत जितेका ओर्बनका लागि सन् २०२६ को यो परिणाम अकल्पनीय थियो। विश्लेषकहरूले ओर्बन प्रणालीलाई ‘अजेय’ मानेका थिए। अन्ततः जनमतको शक्तिले ओर्बनको अभेद्य किल्लालाई धराशायी बनाउँदै असम्भवलाई सम्भव सावित गरिदिएको छ।
पिटर माग्यार जसले सत्ता पल्टाए

हंगेरीको निर्वाचनमा आएको यो आँधीका सूत्रधार पिटर माग्यार कुनै बाहिरी व्यक्ति होइनन्। पेसाले वकिल माग्यार लामो समयसम्म ओर्बनको ‘फिडेज’ पार्टीका कट्टर समर्थक र सहयोगी थिए। ओर्बन सरकारसँग उनको सम्बन्ध कति गहिरो थियो भन्ने कुरा उनकी श्रीमती ओर्बन क्याबिनेटमा न्याय मन्त्री भएबाटै प्रष्ट हुन्छ ।
तर, सन् २०२४ मा बाल यौन दुर्व्यवहार काण्डमा मुछिएका व्यक्तिलाई राष्ट्रपति काटालिन नोभाकले क्षमादान दिएपछि हंगेरीको राजनीतिमा भुइँचालो गयो। यही विवाद माग्यारका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो। उनले सार्वजनिक रूपमै सरकारको कडा आलोचना गर्दै फिडेज खेमा त्याग्ने निर्णय गरे। त्यसपछि उनले ‘तिस्जा’ नामक नयाँ राजनीतिक शक्तिको निर्माण गरे।
पोलिटिकोका अनुसार माग्यारको उदयलाई इन्साडरदेखि आउटसाइडरको यात्राको रूपमा हेरिएको छ। यसले उनलाई विशेष कूटनीतिक र राजनीतिक विश्वसनीयता दियो। उनी प्रणालीका बाहिरी आलोचक मात्र नभई प्रणालीभित्रका कमजोरी र भ्रष्टाचारका संयन्त्रका प्रत्यक्ष जानकार पनि थिए।
माग्यारले सन् २०२२ मा असफल सावित भइसकेको विपक्षी दलहरूको परम्परागत गठबन्धन बनाउने बाटो रोजेनन्। बरु उनले ‘तिस्जा’ लाई एउटा एकल र केन्द्रीय शक्तिको रूपमा स्थापित गरे। उनले वामपन्थी, उदारवादी र मध्य दक्षिणपन्थी विचारधाराका मतदाताहरूलाई एउटै छातामुनि ल्याउन सफल भए।
सामाजिक सञ्जालमा उनको ‘न डराउनुहोस्’ (ने फेल्येतेक) अभियानले डढेलोझैँ युवाहरूमाझ प्रभाव जमायो। रोयटर्सका अनुसार, तिस्जा पार्टीले १०६ वटा ‘सिंगल मेम्बर’ निर्वाचन क्षेत्रमध्ये ९४ वटामा कब्जा जमायो। ओर्बनको चुनावी इन्जिनियरिङले समेत रोक्न नसकेको यो जित कूटनीतिक र राजनीतिक वृत्तका लागि अझै पनि अकल्पनीय मानिएको छ।
जनजीवनको सङ्कट र युवाको विद्रोह

विक्टर ओर्बनको पराजयका पछाडिको मुख्य कारण सामान्य हंगेरी नागरिकको दैनिक जीवनमा देखिएको चरम पीडा र आक्रोश थियो। १६ वर्षसम्म राष्ट्रवादी नाराले अल्झाइएका जनता अन्ततः रित्तो गोजी र महँगीको वास्तविकतासँग जुध्न बाध्य भए।
सन् २०२२ देखि २०२६ को बीचमा हंगेरीले इतिहासकै कठिन आर्थिक समयको सामना गर्यो। मुद्रास्फीति दोहोरो अङ्कमा पुगेपछि खाद्यान्न, ऊर्जा र आवासको मूल्यले मध्यम र निम्न–मध्यम वर्गको ढाड सेक्यो। ओर्बन सरकारले लोकप्रियताका लागि लागु गरेको ‘प्राइस क्याप’ नीतिले केही समय राहत दिएको जस्तो देखिए पनि दीर्घकालमा यसले बजारमा आपूर्ति सङ्कट र कालोबजारीलाई प्रश्रय दियो।
बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ, ‘संस्थागत भ्रष्टाचार र आर्थिक ठहरावले युवा र मध्यम वर्गलाई यसरी आक्रोशित बनायो कि उनीहरूका लागि ओर्बनको राष्ट्रवादभन्दा भान्साको महँगी ठूलो मुद्दा बन्यो।’
स्वास्थ्य सेवा, शिक्षा र सार्वजनिक यातायात तीनै क्षेत्रमा अवस्था दयनीय थियो। अस्पतालहरूमा डाक्टरको अभाव, विद्यालयहरूमा शिक्षकको कमी र जीर्ण सार्वजनिक यातायातले नागरिकमा गहिरो असन्तुष्टि जन्माएको थियो।
अन्ततः यही सामाजिक सङ्कटले एउटा ठूलो जनविद्रोहको रूप लियो, जसको नेतृत्व युवा पुस्ताले मतदान केन्द्रसम्म पुगेर गरे।
युवा पुस्ताको राजनीतिक जागृति
चाथम हाउसको विस्तृत विश्लेषणले ओर्बनको ‘फिडेज’ पार्टी युवा पुस्तामा कति अलोकप्रिय थियो भन्ने एउटा डरलाग्दो चित्र प्रस्तुत गरेको छ। तथ्याङ्कअनुसार १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूमा फिडेजको समर्थन १० प्रतिशतभन्दा पनि कम झरेको थियो। यसको ठिकविपरीत, सोही उमेर समूहका ७० प्रतिशतभन्दा बढी मतदाताहरूले पिटर माग्यारको ‘तिस्जा’ पार्टीलाई रोजेका थिए।
द गार्डियनले उद्धृत गरेकी एक युवा मतदाताले भनेकी छन्, ‘हामीले हाम्रो आँखा अगाडि आवास सङ्कट, ब्रेन ड्रेन र सार्वजनिक सेवाहरूको क्षयीकरण देखिरहेका छौँ। हाम्रो पुस्ताका लागि ओर्बन अब कुनै पनि हिसाबले उज्ज्वल भविष्यको नाम थिएन।’
हंगेरीका लागि ब्रेन ड्रेन एउटा गम्भीर राष्ट्रिय समस्याका रूपमा खडा भएको थियो। देशमा भविष्य नदेखेर उच्च शिक्षित र प्रतिभाशाली युवाहरू धमाधम पश्चिम युरोप र अमेरिका पलायन भइरहेका थिए। देशका योग्य जनशक्ति बाहिरिँदा हंगेरीको भविष्य नै जोखिममा परिरहेको बेला माग्यारले एउटा मर्मस्पर्शी नारा अगाडि सारे, ‘हंगेरीलाई युरोपमा फर्काऔँ ।’ यस नाराले पलायन हुन तयार भएका र बाहिर बसिरहेका युवाहरूको हृदयलाई स्पर्श गर्यो।
भ्रष्टाचार र असमानता
ओर्बनको सत्ता ढल्नुको अर्को एउटा प्रमुख कारण संस्थागत भ्रष्टाचार र राज्यको स्रोतमाथिको कब्जा थियो। अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो भ्रष्टाचार सूचकाङ्कले हंगेरीलाई युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा भ्रष्ट मुलुकको रूपमा सूचीकृत गरेको छ।
ओर्बनको शासनकालमा हंगेरीमा सम्पत्तिको केन्द्रीकरण यसरी बढ्यो कि, त्यसले लोकतान्त्रिक मूल्य मान्यतालाई नै चुनौती दियो। ओर्बनको नीतिले हंगेरीमा ‘सरकारी ओलिगार्क’ को जन्म दियो । सरकार निकट रहेका सीमित व्यवसायीहरूले राष्ट्रिय सम्पत्ति, सार्वजनिक ठेक्का र विकास परियोजनाहरूमा आफ्नो पूर्ण नियन्त्रण कायम गरे।
यति मात्र होइन, ओर्बन प्रशासनले विदेशी लगानीकर्ताहरूमाथि विभिन्न कानुनी र प्रशासनिक झन्झट खडा गरेर दबाब दिने नीति अख्तियार गर्यो। यसको मुख्य उद्देश्य ती विदेशी लगानीकर्ताहरूलाई आफ्नो व्यवसाय सरकारनिकट व्यवसायीहरूलाई सस्तोमा बेच्न बाध्य पार्नु थियो। यस्तो ‘राज्य-प्रायोजित’ व्यावसायिक कब्जाले हंगेरीको खुला बजार अर्थतन्त्रलाई धराशायी बनाउँदै लगेको थियो।
पहिचानको द्वन्द्व र ओर्बनको ‘नैतिक पतन’
विक्टर ओर्बनको पराजयको पछाडि आर्थिक पक्ष मात्र नभई हंगेरीको समाजमा देखिन थालेको गहिरो ‘सांस्कृतिक थकान’ पनि एक प्रमुख कारण बन्यो। ओर्बनले १६ वर्षसम्म हंगेरीलाई ‘इसाइ मूल्य’, ‘परम्परागत परिवार नीति’ र ‘शरणार्थी विरोधी’ विचारधाराको किल्ला बनाउन खोजेका थिए। तर उनी स्वयं नैतिक संकटमा फस्दै गएपछि उनले उभ्याएका विचारहरू क्रमश: अवमूल्यीकृत हुँदै थिए ।
सन् २०२४ मा बाल यौन दुर्व्यवहार काण्डमा दोषी ठहरिएका एक व्यक्तिलाई तत्कालीन राष्ट्रपति काटालिन नोभाकले क्षमादान दिएको रहस्य खुलेपछि जनआक्रोशको ज्वालामुखी फुट्यो।
पिटर माग्यारले यसै घटनालाई ओर्बनको ‘भ्रष्ट र पाखण्डी प्रणाली’ को प्रतीकका रूपमा सडकमा ल्याए। ‘परिवारको रक्षा’ गर्ने नारा लगाउने सरकारले नै बालबालिकामाथि अपराध गर्नेलाई संरक्षण दिएको भन्दै जनताले ओर्बनको नैतिक अधिकारमाथि प्रश्न उठाए। द एटलान्टिकले यसलाई ओर्बनकै नैतिक स्खलनले गर्दा आफ्नो अजेयतालाइ परास्त गरेको कोणबाट कभर गरेको छ ।
माग्यारले यस निर्वाचनलाई केवल दुई दलबीचको प्रतिस्पर्धा मात्र बनाएनन्, बरु यसलाई हंगेरीको भविष्यको पहिचान ‘पूर्व वा पश्चिम’ बीचको छनोटका रूपमा प्रस्तुत गरे। ओर्बनले पछिल्ला वर्षहरूमा रूस र चीनप्रति अस्वाभाविक झुकावले देखाएका थिए ।
हंगेरीमा आएको यो परिवर्तनप्रति युरोपेली युनियनले निकै उत्साहजनक प्रतिक्रिया दिएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले चुनावी नतिजा सार्वजनिक भएलगत्तै भनिन्, ‘आज राति हंगेरीमा युरोपको हृदय फेरि बलियोसँग धड्किएको छ। हंगेरीले स्पष्ट रूपमा युरोपलाई रोजेको छ।’
यस जितसँगै हंगेरी अब ओर्बनको अनुदारवादी बाटोबाट फर्किएर पुनः युरोपेली मूलधारको लोकतन्त्रमा समाहित हुने विश्वास गरिएको छ।
ईयू कोषको रोक्का र ‘चिनियाँ लगानी’ को गलपासो
हंगेरीको पराजयमा वर्षौँदेखि थुप्रिएको आर्थिक असफलता र वैदेशिक लगानीको गलत प्राथमिकताले मुख्य भूमिका खेल्यो। युरोपेली संघसँगको बढ्दो टकराव र चिनियाँ ऋणमाथिको अस्वाभाविक निर्भरताले हंगेरीलाई आर्थिक धराशायीको सङ्घारमा पुर्याएको थियो।
ओर्बन सरकारका लागि सबैभन्दा ठूलो धक्का युरोपेली संघले रोक्का गरेको २० अर्ब युरोभन्दा बढीको कोष बन्यो। हंगेरीमा व्याप्त भ्रष्टाचार र ‘कानुनी राज्य’ को अवधारणा उल्लङ्घन गरेको आरोपमा ब्रसेल्सले यो विशाल रकम रोकिदिएको थियो।
चाथम हाउसको विश्लेषणअनुसार, युरोपेली संघसँगको यो द्वन्द्वले हंगेरीका ठूला पूर्वाधार परियोजनाहरू ठप्प भए, स्थानीय व्यवसायीले पाउने अनुदानमा कटौती भयो र सरकारको सार्वजनिक खर्च गर्ने क्षमता सीमित हुन पुग्यो। यही कोषको अभावले गर्दा देशमा मुद्रास्फीति नियन्त्रण बाहिर गयो।
युरोपेली कोषको विकल्प खोज्दै ओर्बनले ‘इस्टर्न ओपनिङ’ नीति अपनाए। सन् २०१५ मा हंगेरी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मा सामेल हुने पहिलो ईयू सदस्य बन्यो। साउथ चाइना मर्निङ पोस्टका अनुसार, सन् २०२२ र २०२४ बीच हंगेरीले युरोपमा भित्रिने चिनियाँ प्रत्यक्ष लगानीको लगभग २५ प्रतिशत हिस्सा एक्लै आकर्षित गर्यो, जबकि यसको जनसङ्ख्या युरोपेली संघको मात्र २ प्रतिशत हो।
तर, रोयटर्सले उल्लेख गरेअनुसार, ओर्बनको यो रणनीतिले छोटो अवधिका लागि केही लाभ दिए पनि दीर्घकालीन रूपमा हंगेरीमाथि ऋणको दबाब बढायो। सन् २०२३ हंगेरीले चीनतर्फ २ अर्ब डलरको निर्यात गर्दा १० अर्ब डलरको आयात गर्नुपर्ने स्थिति आयो।
संस्थागत नियन्त्रणमाथि जनमतको ‘सर्जिकल स्ट्राइक’
विक्टर ओर्बनको शासनलाई विश्वभरका कूटनीतिक विश्लेषकहरूले ‘लोकतान्त्रिक पतन’ को सबैभन्दा स्पष्ट उदाहरणका रूपमा व्याख्या गर्दै आएका थिए।
ओर्बनले ८० प्रतिशतभन्दा बढी सञ्चार माध्यममाथि राज्य र सरकार निकट व्यवसायीमार्फत नियन्त्रण कायम गरेका थिए। तर यसपटकको निर्वाचनमा उनको यो शक्तिशाली ‘मिडिया मेसिनरी’ प्रभावहीन सावित भयो। सिफआर (काउन्सिल अन फरेन रिलेसन्स) को विश्लेषणअनुसार, सामाजिक सञ्जालको व्यापकता र स्वतन्त्र डिजिटल पत्रकारिताले सरकारी प्रोपोगान्डालाई कडा प्रतिकार दिएको थियो।
ओएससीई (अर्गेनाइजेसन फर सेक्युरिटी एन्ड को-अपरेसन इन युरोप) को निरीक्षण टोलीले निर्वाचनलाई ‘स्वतन्त्र तर पूर्णतः निष्पक्ष नभएको’ भन्दै टिप्पणी गरेको छ। तर ७९.५१ प्रतिशतको रेकर्ड मतदानले ओर्बनले आफ्नै अनुकूल बनाएको ‘जेरिमेन्डरिङ’ (निर्वाचन क्षेत्र पुनर्सीमाङ्कन) र प्रणालीगत पूर्वाग्रहको पर्खाललाई सजिलै नाघिदियो।
सामरिक कारणहरू

युक्रेन युद्धले हंगेरीको भू-राजनीतिक अवस्थामा व्यापक परिवर्तन ल्याएको छ। प्रधानमन्त्री भिक्टर ओर्बनले रुसको पक्षमा उभिएर शान्तिको नारा दिए पनि युक्रेनका लागि तय गरिएको ९० अर्ब युरोको सहायता प्याकेजमा भिटो प्रयोग गरेपछि हंगेरी युरोपेली युनियनको मूलधारबाट एक्लिएको छ।
ऊर्जा सुरक्षाको नाममा रुसी ग्यास र तेलमाथिको परम्परागत निर्भरतालाई कायमै राख्ने ओर्बनको ‘व्यावहारिक नीति’ ले युरोपेली एकतालाई नै चुनौती दिएको देखिन्छ। यसैबीच, विपक्षी नेता पिटर माग्यारले नेटो र युरोपेली युनियनप्रतिको पूर्ण प्रतिबद्धता व्यक्त गरेपछि सुरक्षाको विषयमा चिन्तित रहेका मतदाताहरू उनीप्रति आकर्षित भएका छन्।
युरोपभर उत्साह, मस्को र बेइजिङमा चिन्ता
हंगेरीको निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय जगतबाट विभिन्न प्रतिक्रियाहरू आउने क्रम जारी छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले हंगेरीमा युरोपको हृदय बलियोसँग धड्किरहेको उल्लेख गर्दै त्यहाँका जनताले युरोपलाई रोजेको बताएकी छिन्।
त्यसैगरी, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई युरोप र युरोपेली मूल्य मान्यताको विजयका रूपमा ब्याख्या गरेका छन्। जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले एक बलियो, सुरक्षित र एकताबद्ध युरोप निर्माणका लागि सहकार्यको अपेक्षा राखेका छन्।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हंगेरीमा भएको यो परिवर्तनसँगै युरोपेली युनियनको सहायता प्याकेजमा लाग्दै आएको अवरोध हट्ने आशा व्यक्त गरेका छन्।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि मध्ययुरोपमा लोकतन्त्रको पुनरागमन भएको भन्दै यस नतिजाको स्वागत गरेका छन्। राजनीतिक विश्लेषक इभान क्रास्टेभका अनुसार यो परिणाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैका लागि व्यक्तिगत हारको विषय बनेको छ।

चीनको लगानीमा असर
भिक्टर ओर्बनको शासनकालमा हंगेरी चीनको ‘युरोपेली सबैभन्दा नजिकको मित्र’ मानिन्थ्यो, जसलाई लिएर युरोपेली युनियनभित्र हंगेरी चीनको ‘ट्रोजन हर्स’ बनेको भन्दै कडा आलोचना समेत हुने गरेको थियो।
सन् २०२६ को फेब्रुअरीमा चिनियाँ विदेश मन्त्री वाङ यीले बुडापेस्टको भ्रमण गर्दै दुई देशबीचको पारस्परिक सम्मान र ‘विन-विन’ सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। तर पिटर माग्यारको नेतृत्वमा नयाँ सरकार आउने निश्चित भएसँगै यो समीकरण फेरिने देखिएको छ।
माग्यारले विगतका गोप्य सम्झौताहरू सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् भने प्रस्तावित परराष्ट्र मन्त्री आनिता ओर्बनले हंगेरीले अब रुस वा चीनको स्वार्थका लागि युरोपेली एकतालाई कमजोर पार्ने भूमिका निर्वाह नगर्ने स्पष्ट पारेकी छिन्।
‘साउथ चाइना मर्निङ पोस्ट’ का अनुसार तिस्जा पार्टीको जितसँगै चिनियाँ कम्पनीहरूले अब कडा युरोपेली नियम र सम्झौताहरूको सूक्ष्म जाँचको सामना गर्नुपर्ने हुनसक्छ।
यस परिवर्तनको प्रभाव तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा देखिने विश्लेषण गरिएको छ। तत्कालका लागि चिनियाँ लगानीकर्ताहरूमा अनिश्चितता बढेको छ भने बीवाईडी र सीएटीएल जस्ता ठूला कम्पनीका उत्पादन प्रक्रियाहरू सन् २०२६ सम्मका लागि स्थगित भएका छन्।
मध्यकालीन रूपमा माग्यार सरकारले चीनविरुद्ध युरोपेली युनियनले लगाउने ट्यारिफमा समर्थन जनाउन सक्ने सम्भावना छ। दीर्घकालीन रूपमा, बीआरआई परियोजनाका लागि हंगेरी एउटा सफल उदाहरण मानिए पनि अब अन्य सदस्य राष्ट्रहरू चिनियाँ लगानीप्रति थप सतर्क हुने देखिन्छ।
एटलान्टिक काउन्सिलका अनुसार रुसले युरोपेली युनियनभित्र आफ्नो मुख्य सहयोगी गुमाए जस्तै अवस्था चीनका लागि पनि सिर्जना भएको छ। ‘एन बार्किन’ को विश्लेषण अनुसार हंगेरी र चीनको सम्बन्ध पूर्ण रूपमा नटुट्ने भए पनि पारदर्शिता र कानुनी कडाइले चिनियाँ फर्महरूका लागि चुनौती थपिने निश्चित छ।
अबको हंगेरी: अवसर र चुनौती
नयाँ प्रधानमन्त्रीका रूपमा माग्यारले युरोपेली युनियनसँगको पूर्ण एकीकरण, भ्रष्टाचार नियन्त्रण र आर्थिक स्थिरतालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्।
उनले ओर्बनले गरेका संस्थागत परिवर्तनहरूलाई उल्ट्याउँदै युरोपेली युनियनले रोक्का गरेको करिब २० अर्ब युरोको कोष फुकुवा गराउने योजना अघि सारेका छन्। यद्यपि, फिडेज पार्टी विपक्षीमा रहेर सिर्जना गर्न सक्ने अवरोध र चिनियाँ लगानीका सम्झौताहरू रद्द गर्दा आइपर्ने कानुनी तथा आर्थिक जटिलताहरू उनका लागि मुख्य चुनौती हुन्।
सीएसआईएसका विश्लेषकहरूका अनुसार यदि माग्यार सरकारले युरोपेली युनियनसँग समन्वय गरेर चीन नीतिमा सुधार ल्याउन सक्यो भने यो अन्य सदस्य राष्ट्रहरूका लागि एउटा उदाहरणीय मोडेल बन्न सक्छ।
ओर्बनको यो पराजयले विश्वव्यापी रूपमा दक्षिणपन्थी राष्ट्रवादको सीमालाई पनि उजागर गरिदिएको छ। संस्थागत नियन्त्रण, सञ्चार माध्यमको हेरफेर र राष्ट्रवादी नाराले जनताको वास्तविक असन्तुष्टिलाई दबाउन सकिँदैन भन्ने सन्देश यसले दिएको छ ।
प्रतिक्रिया 4