+
+
Shares

नेप्सेमा अब दुई ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने

सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।

भुवन पौडेल भुवन पौडेल
२०८३ वैशाख २ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जले सेयर खरिद बिक्रीका लागि चौबिसै घण्टा अर्डर दिन सकिने व्यवस्था धितोपत्र बोर्डले स्वीकृत गरेको छ।
  • धितोपत्र बोर्डले नेप्सेको सर्किट ब्रेकर सीमा ५ र ८ प्रतिशतमा सीमित गर्दै कारोबार स्थगित गर्ने नयाँ नियम स्वीकृत गरेको छ।
  • नयाँ नियमले गैरआवासीय नेपालीलाई पनि सेयर कारोबार गर्न सहज बनाउने र नियमित कारोबार समयपछि अर्डर दिन सकिने व्यवस्था गरिएको छ।

२ वैशाख, काठमाडौं । सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समय सापेक्ष बनाई संशोधन प्रस्ताव धितोपत्र बोर्ड पठाएको थियो । नेप्सेले प्रस्ताव गरेका केही व्यवस्थामा परिमार्जन गरेर बोर्डले स्वीकृत गरेको छ ।

नेप्सेले प्रस्ताव गरेअनुसारको सर्किट ब्रेक, कम्पनीको सेयर मूल्यमा उतारचढाव सीमा, कारोबार आदेश गर्न सकिने समयमा केही हेरफेर गरेर सञ्चालक समितिले स्वीकृत गरेको बोर्डका एक अधिकारीले बताए।

‘नेप्सेले तीन वटा सर्किटको प्रस्ताव गरेको थियो,’ ती अधिकारीले भने, ‘बोर्डले स्वीकृत गर्दा २ वटामा सीमित गरेको छ, त्यसैगरी कारोबारका लागि अर्डर हाल्न मिल्ने समय कारोबार समयबाहेक साँझ ६ बजेदेखि बिहान ६ बजे प्रस्ताव गरेकोमा बोर्डले त्यसलाई चौबिसै घण्टा बनाएको हो ।’

कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समयपछि पनि अर्डर गर्न सकिने व्यवस्था गरेको ती अधिकारीको भनाइ छ । ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ,’ उनले भने, ‘धितोपत्र प्राथमिक बजारका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गराउनलाई पनि ‘अफ आवर’ खरिद/बिक्री आदेशको व्यवस्था गरिएको हो ।’

नेप्सेको नियमित कारोबार सकिएपछि खरिद/बिक्री आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाइ वा बढाइ खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ । नेप्सेको नियमित कारोबार बिहान ११ बजे सुरु भई दिउँसो ३ बजे सकिन्छ । संशोधित विनियमावली अनुसार नियमित कारोबार समय बाहेक कुनै पनि समयमा अनलाइन खरिद वा बिक्री आदेश गर्न सकिन्छ ।

धितोपत्र बोर्डमा पठाएको विनियमावलीको संशोधन प्रस्ताव स्वीकृत भएर आएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । ‘बोर्डले स्वीकृत गरेको संशोधन नेप्सेको सञ्चालक समितिले निर्णय गरेर लागु गर्नेछ,’ पराजुलीले भने, ‘आगामी सातासम्म नेप्सेले पनि र्णिय गरेर लागु नै हुन्छ ।’

नियमित कारोबार बाहेकको समयमा खरिद/बिक्री आदेश दिँदा कम्पनीहरूको सेयर मूल्यको हकमा अन्तिम मूल्यमा २ प्रतिशत बढी वा घटी गरेर मूल्य तोक्न सकिन्छ । नेप्सेले पनि आफ्नो कारोबार प्रणाली सो अनुसार तयार गरिसकेको छ । हाल नेप्सेमा बिहान १० : ३० देखि १० : ४५ सम्म प्रि ओपन कारोबार हुन्छ भने ११ बजेदेखि ३ बजेसम्म नियमित कारोबार हुन्छ । हाल सो समयमा मात्र अर्डर दिन सकिने व्यवस्था छ ।

नयाँ व्यवस्थापछि गैरआवासीय नेपालीलाई सेयर कारोबार गर्न पनि सहज हुने बोर्डका ती अधिकारीको भनाइ छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई कारोबार गर्न अनुमति दिन सुझाएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ दफा ९ र १० परिमार्जन गरी, पूँजी लगानी कोष खडा नगरिकन व्यक्तिगत रुपमा नै गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्न सुझाएको छ । त्यसैगरी आयोगले दोस्रो बजारमा सेयर खरिदका लागि लगानीकर्ताले भित्र्याएको रकमको एक वर्षमा दुई पटक ५०–५० प्रतिशतसम्म रकम फिर्ता लान सक्ने व्यवस्था गर्नुपर्ने सुझाएको छ । यो व्यवस्था पनि धितोपत्र बोर्डले गरेको खण्डमा पूँजी बजारमा गैरआवसीय नेपालीको लगानी आउने सम्भवाना उच्च रहन्छ ।

संशोधित प्रावधानअनुसार नेप्सेको हालको ३ वटा सर्किट ब्रेकर २ मा झरेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालको पहलमा सेयर बजार सुधार सुझाव कार्यदल गठन भएको थियो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार बोर्डले सर्किट ब्रेकर सम्बन्धी व्यवस्था थप खुकुलो बनाउन लागेको हो ।

कार्यदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांकलाई इक्वीटी इन्डेक्सको रुपमा कायम राखी कारोबारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गर्ने र त्यसलाई बेञ्चमार्क सूचकांकको रूपमा प्रयोग गर्ने तथा सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न सुझाएको थियो ।

अहिले कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुन्छ । त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्छ । त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरिका लागि कारोबार बन्द गर्ने अभ्यास छ ।

बोर्डबाट स्वीकृत भएको नयाँ व्यवस्था अनुसार दुई सर्किटका लागि सीमा ५ प्रतिशत र ८ प्रतिशत तोकिएको छ । कारोबार सुरु भएको पहिलो २ घण्टामा नेप्से सूचक ५ प्रतिशतले घटेमा वा बढेमा सर्किट ब्रेकर प्रयोग हुनेछ । यसरी पहिलो सर्किट लागेपछि १५ मिनेटका लागि कारोबार बन्द गर्ने व्यवस्था गरिएको बोर्डका ती अधिकारीले जानकारी दिए ।

त्यसैगरी पहिलो सकर्टिपछि खुलेको बजार ८ प्रतिशते बढेमा वा घटेर सो दिनको कारोबार नै बन्द हुने व्यवस्था संशोधित विनियमावलीमा गरिएको ती अधिकारीले बताए । सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा नेप्सेले प्रस्ताव गरेभन्दा बोर्डले केही परिवर्तन गरेको छ । नेप्से पठाएको प्रस्तावमा सर्किट ब्रेकर लाग्ने दरको सीमा ४, ६, ८ प्रतिशत उल्लेख थियो ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?