२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निर्वाचन ब्युरो गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन ब्युरो गठन गरेको हो ।
संयोजकमा उपसभापति पुष्पा भुसाल रहनेगरी ब्युरो गठन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार बैठकले उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहने गरी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेको छ ।
कांग्रेसले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ गठन गरेको छ ।
समितिमा सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश रसाइली ‘स्नेही’ सदस्य रहेका छन् । एक सदस्य पछि चयन गरिने दुलालले जानकारी दिए ।
कांग्रेसले महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा संगठन परिचालन तथा समन्वय समिति गठन गरेको छ ।
समिति सदस्यमा सहमहामन्त्रीद्वय बहादुरसिंह लामा र सहमहामन्त्री मुक्ताकुमारी यादव सदस्य छन् ।
यस्तै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति र केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन भएको छ ।
बैठकले सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि-२०८३ प्रदेश र जिल्ला कार्यसमितिको सुझाव सम्मिलित गरेर १ जेठदेखि लागु हुने गरी पारित गरिएको छ ।
यस्तै पार्टीमा वृहत्तर एकता कायम गर्दै १५ औं महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका नेताहरूसँग संवाद गर्न सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
प्रतिक्रिया 4