News Summary
Generated by OK AI. Editorially reviewed.- घरका दराज, बाथरुमका र्याक वा भान्साका कुनाकाप्चाहरू सफा गर्दा हामीलाई एउटा छुट्टै प्रकारको मानसिक शान्ति प्राप्त हुन्छ।
वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पुरानो चोला फेरेर नयाँ पालुवा पलाएझैँ हाम्रो जीवनशैलीमा पनि एउटा नयाँ ऊर्जा सञ्चार हुने गर्दछ । धेरैका लागि यो समय घरका पुराना र अनावश्यक सामानहरू पन्छाउने अर्थात् ‘डिक्ल्टरिङ’ गर्ने उपयुक्त अवसर हो।
पछिल्लो समय ‘सफ्ट डिक्ल्टरिङ’ को अवधारणा निकै लोकप्रिय बन्दै गएको छ, जसले हामीलाई साना-साना स्थानबाट अनावश्यक वस्तु हटाउन प्रेरित गर्छ । तर, दराजका र्याकहरू खाली गर्नु मात्र पर्याप्त छैन । ती खाली ठाउँहरूलाई फेरि नयाँ र अनावश्यक सामानले भरिन नदिनु नै वास्तविक चुनौती हो ।
हामी प्रायः सामान थुपार्ने मोहमा फसेका हुन्छौँ । जब हामी अनावश्यक सामग्री जम्मा गर्न गर्छौँ, तब मात्र हामीले पैसाको बचत गर्ने, व्यवस्थापनको झन्झटबाट मुक्त हुने र वातावरणमैत्री जीवन बिताउने अवसर पाउँछौँ ।
लेखिका आश्ली पाइपर भन्छिन्, ‘नयाँ सामान नकिन्नु भनेको केवल पैसा जोगाउनु मात्र होइन, यो आफू र आफ्नो वातावरणप्रति जिम्मेवार हुनु पनि हो ।’
आफ्नो जीवनलाई सरल, व्यवस्थित र अर्थपूर्ण बनाउनका लागि अनावश्यक किनमेलबाट बच्ने केही प्रभावकारी उपायहरू छन् ।
१. किनमेलको प्रक्रियालाई अलि कठिन बनाउने
अहिलेको डिजिटल युगमा किनमेल ‘फ्रिक्सनलेस’ अर्थात् निकै सजिलो भएको छ । मोबाइलको एउटा ‘क्लिक’ मै सामान घरको ढोकामा आइपुग्छ । तर, यही सहजता नै हाम्रो अनावश्यक खर्चको शत्रु हो । यदि हामीले किनमेलको प्रक्रियामा थोरै अवरोध वा ‘फ्रिक्सन’ सिर्जना गर्यौँ भने हामी कम सामान किन्न प्रेरित हुन्छौँ ।
कार्डको विवरण हटाउने
अनलाइन सपिङ साइटहरूमा सुरक्षित गरिएको क्रेडिट वा डेबिट कार्डको विवरण हटाउनुहोस् । जब तपाईंले प्रत्येक पटक सामान किन्दा उठेर वालेट खोज्नुपर्छ र कार्डको नम्बर टाइप गर्नुपर्छ, त्यतिन्जेलमा तपाईंको मस्तिष्कले सोच्ने समय पाउँछ, ‘के मलाई साँच्चै यो सामान चाहिएकै हो ? यसले मेरो जीवनमा के मूल्य थप्छ ?’
नोटिफिकेसन बन्द गर्ने
विभिन्न ब्रान्डहरूले पठाउने इमेल, म्यासेज वा ‘पुस नोटिफिकेसन’ हरूलाई ब्लक गर्नुहोस् । विभिन्न व्यापारिक संस्था तथा स्टोरहरूले तपाईंलाई २४ सै घण्टा विज्ञापन पठाइरहेका हुन्छन् । विज्ञापनको पहुँचबाट टाढा रहनु नै प्रलोभनबाट बच्ने उत्तम उपाय हो।
२. भविष्य होइन अहिलेको बारेमा सोच्ने
हामी अक्सर सामान किन्दा वर्तमानलाई भन्दा पनि ‘भविष्यको आफू’ लाई सोचेर किन्ने गर्छौँ । ‘यो लुगा म पछि पार्टीमा जाँदा लगाउँछु’ वा ‘यो सामान म पछि यस्तो काम गर्दा प्रयोग गर्छु’ भन्ने सोचले हामीलाई सामानको थुप्रोमा थुनेको हुन्छ ।
लेखिका कोर्टनी कार्भरका अनुसार, कुनै पनि वस्तु किन्नु अघि आफूलाई दुईवटा प्रश्न सोध्नुपर्छ:
-के यो मेरो आजको जीवनका लागि उपयोगी छ ?
-के म यसलाई आगामी ३० दिनभित्र प्रयोग गर्नेछु ?
हामी कतिपय अवस्थामा टेलिभिजनका पात्र वा सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ हरूबाट प्रभावित भएर सामान किन्छौँ । कसैले फिल्मको हिरोइनले जस्तै महँगो जुत्ता किन्छन्, जुन लगाएर हिँड्न पनि गाह्रो हुन्छ र लगाएर जाने ठाउँ पनि कतै हुँदैन ।
कोही मानिसहरू घरमा भव्य भोज आयोजना गर्ने कल्पनामा महँगा भाँडाकुँडाहरू किन्छन् । तर वास्तविकतामा उनीहरूलाई त्यस्तो भोज गर्ने फुर्सद वा रुचि नै हुँदैन । त्यसैले, आफ्नो वास्तविक जीवनशैली अनुसार मात्र सामान खरिद गर्नुहोस्।
३. किन्न मन लागेको कुराको सूची बनाउने
तपाईंलाई अत्यावश्यक नपरेका कुनै पनि सामान तत्काल नकिन्नुहोस् । बरू त्यसको सूची बनाएर राख्ने बानी बलाल्नु राम्रो हुन्छ । एउटा कापी वा मोबाइलको ‘नोट्स एप’ मा ती सामानहरूको सूची बनाउनुहोस् ।
महिनाको अन्त्यमा त्यो सूचीलाई पुनः हेर्नुहोस् । त्यति बेलासम्म त्यो सूचीमा भएका थुप्रै सामानप्रतिको मोह भंग भइसकेको हुन्छ ।अधिकांश सामानहरू अब तपाईंलाई उत्ति आकर्षक लाग्दैनन् । क्षणिक आवेग वा मुडका कारण हामीलाई कतिपय सामान अति आवश्यक लागेका हुन्छन्, तर समयको अन्तरालसँगै ती सामानप्रतिको मोह हराएर जान्छ।
धेरैजसो मानिसहरू तनावमा हुँदा, दुखी हुँदा वा अल्छी लाग्दा अनलाइन सपिङमा भुल्छन् । आफ्नो खरिद गर्ने प्रवृत्ति बुझ्ने । के तपाईं मध्यरातमा टिकटक वा फेसबुक स्क्रोल गर्दा अनावश्यक सामान अर्डर गर्नुहुन्छ ? यदि त्यसो हो भने, त्यो समयमा मोबाइल प्रयोग नगर्ने बानी बसाल्नुहोस्।
४. अरूबाट लिएर वा मिलिजुली चलाउने प्रवृत्ति अपनाउने
सबै सामानहरू आफैँले किन्नुपर्छ भन्ने छैन । कहिलेकाहीँ मात्रै प्रयोगमा आउने समानका लागि हत्त न पत्त पैसा खर्च गरिहाल्न बानी छाड्नुहोस् । यस्ता समान छिमेकी वा साथीभाइबाट लिएर प्रयोग गर्न पनि सकिन्छ । त्यही खालका समान आफ्नोमा छन् भने अरूलाई प्रयोग गर्न दिनु राम्रो हुन्छ।
विशेष गरी समारोहमा लगाउने महँगा लुगाहरू साथीहरूसँग साटासाट गर्ने संस्कृतिले पैसा मात्र जोगाउँदैन, सम्बन्धमा पनि निकटता ल्याउँछ।
सामुदायिक समूहहरूको उपयोग पनि गर्न सकिन्छ । आजकल फेसबुक मार्केटप्लेस वा ‘बाई नथिङ’ जस्ता समूहहरू सक्रिय छन् । जहाँ मानिसहरूले आफूलाई नचाहिने सामान अरूलाई निःशुल्क दिन्छन् वा साटासाट गर्छन्।
कतिपय ठाउँमा सार्वजनिक पुस्तकालयहरूले पुस्तक मात्र होइन, औजारहरू, खेलका सामग्री, वा वाद्ययन्त्रहरू समेत भाडामा दिने गर्छन् । यस्ता सुविधाहरूको खोजी गर्नुहोस् । एउटा सानो कामका लागि महँगो ड्रिल मेसिन किन्नु भन्दा सापटी लिनु बुद्धिमानी हुन्छ ।
५. सफ्ट डिक्ल्टरिङ र मानसिक शान्ति
घरका दराज, बाथरुमका र्याक वा भान्साका कुनाकाप्चाहरू सफा गर्दा हामीलाई एउटा छुट्टै प्रकारको मानसिक शान्ति प्राप्त हुन्छ । ‘सफ्ट डिक्ल्टरिङ’ ले हामीलाई वर्तमानमा बाँच्न सिकाउँछ । १० वर्षदेखि दराजमा थन्किएका र कहिल्यै प्रयोग नभएका सामानहरू अरू कसैका लागि उपयोगी हुन सक्छन् । तिनीहरूलाई दान गर्दा वा अरूलाई दिँदा आफूलाई आनन्द महसुस हुन्छ ।
जब हामीसँग कम सामान हुन्छ, त्यसलाई सफा गर्ने, मिलाउने र मर्मत गर्ने झन्झट पनि कम हुन्छ । यसले गर्दा हामीले आफ्नो महत्वपूर्ण समय र ऊर्जा आफूलाई मनपर्ने रचनात्मक कार्यमा खर्च गर्न सक्छौँ।
अन्तिममा,
जीवनशैलीलाई उत्कृष्ट बनाउनु भनेको नयाँ र महँगा सामानहरू थप्दै जानु होइन, बरु भएका सामानहरूको सही सदुपयोग गर्नु र अनावश्यक भारबाट मुक्त हुनु हो । सचेत भएर किनमेल गर्ने बानीले हाम्रो आर्थिक अवस्था सुदृढ बनाउनुका साथै पृथ्वीको पर्यावरणीय सन्तुलन कायम राख्न पनि मद्दत पुर्याउँछ।
प्रतिक्रिया 4