News Summary
Generated by OK AI. Editorially reviewed.- अमेजन एमजीएम स्टुडियोले नयाँ जेम्स बण्ड फिल्म निर्देशनका लागि डेनिस भिलेनुभलाई चयन गरेको छ।
- फिल्म प्रमुख कोर्टनी भ्यालेन्टीले नयाँ बण्ड घोषणा कहिले हुन्छ भन्ने विषयमा 'धेरै उत्साहित नहुनुहोस्' भनेकी छिन्।
- नयाँ बण्डको भूमिकाका लागि जेकब एलोर्डी, क्यालम टर्नर र लुइस पाट्र्रिज चर्चामा छन्, तर अन्तिम निर्णय अझै बाँकी छ।
जेम्स बण्ड फर्किनेछन्, तर कहिले भन्ने कुरा अझै स्पष्ट छैन ।
अमेजन एमजीएम स्टुडियोले आउँदो फिल्मबारे छोटो जानकारी दिएको छ । जासुसी फ्रेन्चाइजको सिर्जनात्मक नियन्त्रण हालै आफ्नो हातमा लिएको स्टुडियोले नयाँ श्रृंखला निर्देशनका लागि डेनिस भिलेनुभलाई चयन गरेको छ ।
‘ड्युन’ जस्ता सफल फिल्म निर्देशन गरेका भिलेनुभको छनोटलाई सकारात्मक रूपमा हेरिएको छ । साथै, ‘पीकी ब्लाइन्डर्स’का निर्माता स्टिभन नाइटलाई पटकथा लेखनको जिम्मेवारी दिइएको छ ।
अब भिलेनुभसँगै निर्माता एमी पास्कल र डेभिड हेयम्यानको अगाडि सबैभन्दा ठूलो चुनौती छ- नयाँ जेम्स बण्डको भूमिका निर्वाह गर्न सक्ने कलाकार छान्ने । तर, सिनेमाकोन कार्यक्रममा स्टुडियोले आफ्नो आगामी फिल्म सूची प्रस्तुत गर्दा बण्डको भूमिकाका लागि कसलाई रोज्ने भन्नेबारे कुनै संकेत दिएन ।
अमेजन एमजीएम स्टुडियोकी फिल्म प्रमुख कोर्टनी भ्यालेन्टीले भनिन्, ‘तपाईंहरू सबैलाई कहिले नयाँ जेम्स बण्ड घोषणा हुन्छ भन्ने चासो छ भन्ने मलाई थाहा छ । तर धेरै उत्साहित नहुनुहोस् । हामी यो काम निकै सावधानी र सम्मानका साथ गर्दैछौं । यो हाम्रो लागि जीवनकै ठूलो सपना हो, र हामी यसलाई हल्का रूपमा लिने अवस्थामा छैनौं ।’
उनले थपिन्, ‘इतिहासकै सबैभन्दा प्रिय फ्रेन्चाइजमध्ये एकलाई विश्वस्तरीय फिल्म निर्माण टोलीसँग जोड्दा- जसमा निर्देशक डेनिस भिलेनुभ, निर्माता एमी पास्कल र डेभिड हेयम्यान, कार्यकारी निर्माता टान्या लापोइन्टे र लेखक स्टिभन नाइट छन् । हामी बण्डको विरासतलाई सम्मान गर्ने स्तरको फिल्म तयार गर्ने आधार बनाइरहेका छौं । फिल्म आउनेछ, र सही समयमा हामी थप जानकारी दिनेछौं ।’
नयाँ बण्डको भूमिकाका लागि को आउला भन्ने विषयमा चर्चा चुलिएको छ । जेकब एलोर्डी, क्यालम टर्नर र लुइस पाट्र्रिज जस्ता कलाकारको नाम चर्चामा छ । तर जो कोही चयन भए पनि, उनीहरूले ठूलो जिम्मेवारी वहन गर्नुपर्नेछ ।
अघिल्लो जेम्स बण्डको रुपमा ड्यानियल क्रेगलाई इतिहासकै उत्कृष्ट बण्डमध्ये एक मानिन्छ, सीन कोनेरीसँगै । ‘क्यासिनो रोयाल’ र ‘स्काइफल’ जस्ता फिल्मले श्रृंखलालाई नयाँ उचाइमा पुर्याएका थिए । उनले सन् २०२१ को ‘नो टाइम टु डाइ’ पछि बण्डको भूमिका नगर्ने निर्णय गरिसकेका छन् ।
अमेजनका लागि ‘बण्ड २६’ सफल बनाउनु अत्यन्तै महत्वपूर्ण छ । सन् २०२२ मा एमजीएम स्टुडियो खरिद गर्न कम्पनीले ८ अर्ब डलरभन्दा बढी खर्च गरेको थियो, जसको मुख्य कारण नै यो फ्रेन्चाइज हो । त्यसैले, नयाँ फिल्मले ‘गोल्डफिङ्गर’ जस्तो स्तर हासिल गर्ने अपेक्षा गरिएको छ, ‘ए भ्यु टु अ किल’ जस्तो होइन ।
भेराइटीबाट ।
प्रतिक्रिया 4