+
+
Shares

‘लालीबजार’ को ट्रेलर : साहुको शोषणविरुद्ध वादी महिलाले गर्ने संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कथानक फिल्म ‘लालीबजार’ को ट्रेलर १८ बैशाखदेखि प्रदर्शन तयारीका लागि युट्युबमा सार्वजनिक गरिएको छ।
  • फिल्मले पश्चिम तराईको वादी समुदायका महिलाको सामन्ती र पितृसत्तात्मक समाजबाट भोगिएको श्रम र यौन शोषणको कथा प्रस्तुत गर्छ।
  • स्वस्तिमा र रवीन्द्रसिंह बानियाँले मुख्य भूमिका निर्वाह गरेका छन् भने निर्देशक यम थापाले महिला सशक्तीकरणको सन्देश दिन खोजेका छन्।

काठमाडौं । सीमान्तकृत वादी समुदायको मर्मस्पर्शी कथा प्रस्तुत गर्ने कथानक फिल्म ‘लालीबजार’ को ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथावस्तु, चरित्र चित्रण, मुड र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ ।

आमा र छोरीको हृदयस्पर्शी कथा बुनिएको फिल्ममा स्वस्तिमाले वादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन् । मालिकको कब्जाबाट छोरीलाई मुक्त गराएर उचित शिक्षा, दिक्षा दिन उनले समाज र मालिकसँग गरेको संघर्ष यसमा चित्रण छ ।

आमाको मुख हेर्ने दिनको अवसरमा सार्वजनिक गरिएको ट्रेलरको कथा पनि आमाको संघर्ष वरपर छ ।

पश्चिम तराईको वादी समुदायका महिलाले सामन्ती र पितृसत्तात्मक समाजबाट भोग्नुपरेको श्रम र यौन शोषणको मर्मस्पर्शी कथालाई निर्देशक तथा पटकथा लेखक यम थापाले दृश्यमा उतारेका छन् । सीमान्तकृत समाजको बलियो कथामार्फत उनले महिला सशक्तीकरणको सन्देश दिन खोजेका छन् ।

छोरी जन्मिएपछि नाकमा लगाइने नत्थीमार्फत कसरी मालिकले सदियौंदेखि श्रम र यौन शोषण गरिरहेका छन् र त्यसविरुद्ध पात्रले कसरी संघर्ष गरिरहेका छन् भन्ने कथा यसमा छ । रवीन्द्रसिंह बानियाँले फिल्ममा साहुको भूमिका निर्वाह गरेका छन् ।

आफूलाई लगातार सामाजिक कथा र पात्रमा प्रस्तुत गर्दै आएकी स्वस्तिमाको बहुआयामिक अभिनय र चरित्रले दर्शकको मन जित्ने विश्वास निर्माता म्याक्स दिपेश खत्रीको छ । म्याक्स र रवीन्द्र यो फिल्मका निर्माता पनि हुन् ।

फिल्ममा मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, अभय बराल लगायतको पनि अभिनय छ । यसअघि टलकजंग भर्सेस टुल्के, जात्राका तीन श्रृंखला र महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

‘लालीबजार’ १८ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?