+
+
Shares

किशोरी हत्याको आशंकामा अमेरिकी पपस्टार डीफोरभिड पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी गायक डेविड एन्थोनी बर्कलाई १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेजको हत्या आशंकामा लस एन्जलस प्रहरीले पक्राउ गरेको छ।
  • सेप्टेम्बरमा बर्कको टेस्ला कारको फ्रन्ट ट्रंकबाट किशोरीको शव अवशेष भेटिएको थियो र उनी बिना जमानत हिरासतमा छन्।
  • बर्कका वकिलहरूले भनेका छन्, 'यस घटनामा डेविड बर्कले सेलेस्टे रिभासको हत्या गरेका होइनन् भन्ने कुरा प्रमाणले देखाउनेछ।'

लस एन्जलस । अमेरिकी गायक डीफोरभिडलाई गत वर्ष हराएकी एक किशोरीको हत्या आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको वास्तविक नाम डेविड एन्थोनी बर्क हो । १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेजको हत्या प्रकरणमा ग्रान्ड ज्यूरीबाट अनुसन्धान भइरहेका बेला उनी पक्राउ परेका हुन् ।

सेप्टेम्बरमा उनको टेस्ला कारबाट ती किशोरीको अवशेष भेटिएको थियो । लस एन्जलस प्रहरी विभागका अनुसार २१ वर्षीय बर्कलाई बिना जमानत हिरासतमा राखिएको छ । यो मुद्दा आगामी सोमबार जिल्ला वकिलको कार्यालयमा पेश गर्ने तयारी छ ।

बर्कका वकिलहरूले अमेरिकी सञ्चारमाध्यमसँग भनेका छन्, ‘यस घटनामा डेविड बर्कले सेलेस्टे रिभासको हत्या गरेका होइनन् भन्ने कुरा प्रमाणले देखाउनेछ । उनको मृत्युको कारण पनि उनी होइनन् ।’

उनीहरूले थपेका छन्, ‘यस मुद्दामा अहिलेसम्म कुनै ग्रान्ड ज्यूरीबाट अभियोग दर्ता भएको छैन, न त कुनै आपराधिक मुद्दा नै दायर गरिएको छ । उनलाई केवल शंकाको आधारमा पक्राउ गरिएको हो ।’ यसअघि प्रहरीले बर्कलाई “सेलेस्टे रिभासको हत्या आरोपमा पक्राउ गरिएको” जनाएको थियो ।

गत सेप्टेम्बर ८ मा हलिउडको एक टोइङ यार्डमा राखिएको गाडीबाट दुर्गन्ध आएको जानकारीपछि अनुसन्धान सुरु भएको थियो । त्यस क्रममा टेस्ला कारको अगाडिको बुट (फ्रन्ट ट्रंक) भित्र शव राखिएको झोलामा किशोरीको टाउको र शरीरको भाग भेटिएको अदालतका कागजातमा उल्लेख छ ।

डीफोरभिड को हुन् ?

टेक्सासको ह्युस्टन निवासी डीफोरभिड ‘हियर विथ मी’ र ‘रोमान्टिक होमिसाइड’ जस्ता इन्डी-पप गीतबाट चर्चित गायक हुन् ।

उनले किशोरावस्थामै भिडियो गेम ‘फोर्टनाइट’ खेल्दै आफ्ना भिडियोहरू पोस्ट गरेर पहिचान बनाएका थिए । पछि आफैं संगीत निर्माण सिकेर सन् २०२३ मा ‘पेटल्स टु थोन्र्स’ नामक पहिलो ईपी सार्वजनिक गरेका थिए ।

उही वर्ष उनी ‘भेराइटी’को ‘यंग हलिउड’ सूचीमा परेका थिए र गायिका एसजेडएको ‘एसओएस’ टुरमा प्रस्तुति दिने अवसर पाएका थिए । अप्रिल २०२५ मा उनले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका थिए । स्पोटिफाइमा उनका मासिक श्रोता करिब २ करोड २० लाख छन् भने टिकटकमा झन्डै ४० लाख फलोअर छन् ।

उनले ‘फोर्टनाइट’ खेलका लागि ‘लक्ड एन्ड लोडेड’ शीर्षकको आधिकारिक गीत पनि तयार पारेका थिए । किशोरीको शव भेटिएलगत्तै उनले आफ्नो विश्व भ्रमण रद्द गरेका थिए र सार्वजनिक जीवनबाट केही समय टाढा बसेका थिए ।

प्रहरीका अनुसार उनी बस्दै आएको हलिउड हिल्सस्थित घरमा पनि छापा मारिएको थियो । त्यसपछि उनलाई अमेरिकी ब्रान्ड हलिस्टर र क्रोक्ससँगको विज्ञापन सम्झौताबाट समेत हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?