+
+
Shares

‘वर्ल्ड अफ डान्स नेपाल’ को दोस्रो संस्करण घोषणा, ‘ग्रान्ड जज’ मा बलिउडका टेरेन्स लुइस

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को दोस्रो संस्करण घोषणा गरिएको छ।
  • बलिउडका कोरियोग्राफर टेरेन्स लुइसलाई 'सेलिब्रेटी ग्रान्ड जज'को रूपमा ल्याइएको छ।
  • वैशाख १९ देखि जेठ २ गतेसम्म पाँच सहरमा अडिसन हुनेछ र जेठ २३ मा फिनाले आयोजना गरिनेछ।

काठमाडौं । विश्व प्रसिद्ध ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा घोषणा, ग्रान्ड जजको रूपमा भारतका टेरेन्स लुइस आउने काठमाडौं । विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ ।

आयोजित कार्यक्रममा प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो ।

सन् २००८ मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो विश्वस्तरीय फ्रेन्चाइजलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको छ ।

पत्रकार सम्मेलनमा ट्रेलर प्रदर्शन गरिनुका साथै जजको परिचय गराइएको थियो । समारोहको मुख्य आकर्षणका रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई कार्यक्रमको ‘सेलिब्रेटी ग्रान्ड जज’को रूपमा घोषणा गर्दै उनको परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।

लुइस ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता ठूला भारतीय रियालिटी शोका चर्चित निर्णायक हुन् । नेपालमा उनको उपस्थितिलाई लिएर आयोजकले उत्कृष्टताको प्रतीक र उदीयमान डान्सरका लागि प्रेरणाको रूपमा लिएका छन् ।

अन्य जजमा ‘वाइल्ड रिपर्ज क्रू’ का किरण थापा र ‘वल्र्ड अफ डान्स नेपाल’ का कलात्मक निर्देशक जेडी तमु छन् । कार्यक्रममा बोल्दै ‘वल्र्ड अफ डान्स नेपाल’का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरले पनि उत्सव मनाउन सक्ने स्तरको अन्तर्राष्ट्रिय प्लेटफर्म नेपालमै आओस् भन्ने चाहना अनुरूप यो कार्यक्रम ल्याइएको बताए ।

कलात्मक निर्देशक जेडी तमुले नेपाली कलाकारले विदेशमा जसरी नेपाली कला र संस्कृति प्रस्तुत गरे, त्यसैबाट प्रभावित भएर यो फ्रेन्चाइज नेपाल ल्याउने अफर आएको खुलाए । उनका अनुसार यस प्रतियोगितामा नेपालको रैथाने संस्कृति र नृत्य नै मुख्य केन्द्रमा रहनेछ भने अडिसनमा भारतीय डान्सरले समेत सहभागिता जनाउन पाउनेछन् ।

यो कार्यक्रमसँग अमेरिकी दूतावासले पनि सहकार्य गरेको छ । दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले रचनात्मक उद्योगको क्षेत्रमा दूतावास सधैँ दृढ साझेदार रहँदै आएको बताउँदै ‘वर्ल्ड अफ डान्स’ आफ्नै गृहनगर लस एन्जलसबाट सुरु भएकोले यसको हिस्सा हुन पाउँदा खुसी लागेको बताए ।

उनले यसलाई दुई राष्ट्रबीचको सांस्कृतिक आदानप्रदान र नेपाली कलाकारलाई ग्लोबल स्टेजमा पुर्‍याउने महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरे ।

कार्यक्रममा नेपाली फिल्मकर्मी पनि सहभागी थिए । अभिनेता दयाहाङ राईले नृत्यलाई आफूलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम बताउँदै आफ्नो रहनसहन र संस्कृतिलाई सँगै लिएर हिँड्न नवप्रतिभालाई आह्वान गरे । अर्का अभिनेता बुद्धि तामाङले नृत्य र नाटक दुवैले सुरुदेखि नै कला र संस्कृतिलाई बोक्ने धारणा राखे ।

नृत्यांगना कविता नेपालीले लुकेर रहेका प्रतिभाका लागि यो सुनौलो मौका भएको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा पुग्न तयार रहन आग्रह गरिन् । अभिनेत्री परीक्षा लिम्बुले नृत्य मनोरञ्जन मात्र नभई यसले धेरै कुरा बोकेको हुने बताइन् ।

अभिनेता प्रशान्त ताम्राकारले अन्तर्राष्ट्रिय च्याम्पियनसिप नेपाल ल्याएकोमा आयोजकलाई धन्यवाद दिए । कन्टेन्ट क्रिएटर सिसन बानियाँले प्रतियोगिताको फिनाले विश्वमै पहिलो पटक ‘प्याराडाइम टिभी युट्युब च्यानलमार्फत आउन लागेको जानकारी दिए ।

समारोहमा ट्रफी सार्वजनिक गरिएको थियो । निर्णायक किरण थापाले उक्त ट्रफी हेर्दा मात्र आकर्षक नभई २४ क्यारेट सुनको जलप लगाइएको (रियल गोल्ड प्लेटेड) रहेको जानकारी दिए । प्रतियोगितालाई मुख्य गरी चार वटा डिभिजनमा विभाजन गरिएको छ- अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन ।

प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ ।

नेपालभरका प्रतिभालाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ । सार्वजनिक तालिका अनुसार वैशाख १९ गते नेपालगन्ज, वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौं र जेठ २ गते इटहरीमा अडिसन हुनेछन् ।

अडिसनबाट छानिएका डान्सरबीच २१ जेठमा सेमिफाइनल प्रतिस्पर्धा हुनेछ । फिनाले २३ जेठमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?