+
+
Shares

जब पञ्चमले नेपाली गीत ‘ए कान्छा मलाई सुनको तारा..’ बाट धुन बनाए

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आशा भोसले र पञ्चमले सन् १९६६ को फिल्म \'तीसरी मञ्जिल\' बाट आफ्नो सांगीतिक सहकार्य सुरु गरेका थिए।

आशा भोसले २३ र पञ्चम भनेर चिनिने आरडी बर्मन १७ वर्षको हुँदा उनीहरूको पहिलो भेट भएको थियो । त्यसबेला पञ्चम आफ्ना बुबा सचिन देव बर्मनको सहायकका रूपमा काम गर्थे । आशा आफ्ना केही गीतहरूका कारण चर्चामा आउन थालिसकेकी थिइन् ।

पञ्चमले उनका गीतहरू रेडियोमा सुनेका थिए । त्यसैले उनले आशालाई देख्न साथ दौडिएर अटोग्राफ लिन गएका थिए । पछि गएर यही जोडीले हिन्दी फिल्म संगीतको इतिहास नै बदल्यो ।

‘तीसरी मञ्जिल’

आशा र पञ्चमको सांगीतिक यात्रा सन् १९६६ को फिल्म ‘तीसरी मञ्जिल’ बाट सुरु भएको थियो । यो फिल्ममा पञ्चमका लागि संगीत दिने अवसर परीक्षाभन्दा कम थिएन । किनकि फिल्मका निर्देशक शम्मी कपुर पहिले नै शंकर जयकिसनसँग काम गरिसकेका व्यक्ति थिए ।

तर, पञ्चमले आफ्नो धुन सुनाएपछि उनी प्रोजेक्टमा इन भए । त्यसबेला पञ्चमले नेपाली गीत ‘ए कान्छा मलाई सुनको तारा’ बाट प्रेरणा लिएर धुन बनाएका थिए । जुन कुरा शम्मी कपुरले तुरुन्तै चिनिहाले ।

यो फिल्ममा आशालाई मुख्य गायिकाको रूपमा छानिएको थियो । र, यो फिल्म नै आशा-पञ्चमको सहकार्य गराउने पहिलो फिल्म बन्यो । तर, यस फिल्ममा संलग्न ‘आजा आजा मैं हूँ प्यार तेरा’ गीत रेकर्ड गर्न आशाले धेरै दिनसम्म अभ्यास गर्नुपरेको थियो ।

एकफेर त आशाको आवाज सुनेर उनका ड्राइभरले ‘म्याडम, तपाईंको स्वास्थ्य त ठीक छ नि ?’ भनेर सोधेका थिए ।

स‌ंगीतमा आधारित सम्बन्ध

पञ्चमले सधैं आशाको स्वरको तारिफ गर्थे । उनी आशालाई गोप्य रूपमा फूल पठाउने गर्थे । र, एक दिन त उनले आफ्नो भावना नै व्यक्त गरे । त्यसपछि जगजाहेर छ, उनीहरूको सम्बन्ध कस्तो रह्यो ।

उनीहरूको सम्बन्धलाई लिएर आशाले कतै भनेकी छिन्, ‘हाम्रो सम्बन्धको जग संगीत थियो । हामी बिटल्सदेखि भारतीय शास्त्रीय संगीत, ज्याज र रक संगीतसम्म सँगै सुन्ने गर्थ्यौं ।’

८० को दशकको अन्त्यतिर उनीहरू अलग बस्न थाले । यसको ठोस कारण थाहा नभए पनि उनीहरूले जीवन जिउने शैली फरक भएको बताउने गर्थे । तर पनि उनीहरूबीचको आपसी सम्मान र काम भने जारी नै रहेको थियो ।

आशाका लागि पञ्चमका चुनौती

पञ्चमले आशाका लागि सधैं नयाँ र कठिन प्रयोगहरू गरिरहे । त्यसमा फरक-फरक शैलीको गीत दिने कुराहरू बढी मात्रामा हुने गर्थ्यो ।

जस्तो, सन् १९७० को फिल्म ‘द ट्रेन’ मा एउटा क्लब गीत थियो- ‘ओ मेरी जाँ मैंने कहा’ यसमा आशाले आफ्नो आवाज काँपेको जस्तो बनाउनुका साथै उच्च स्वरमा गाउनुपर्ने थियो ।

त्यसैगरी फिल्म ‘कारवा’ को ‘पिया तू अब तो आ जा’ र ‘कटी पतङ्ग’ को ‘मेरा नाम है शबनम’ जस्ता गीतहरूले आशाको स्वरको बहुआयामिक पक्षलाई बाहिर ल्याएको थियो ।

गुलजारसँगको सम्बन्ध

सन् १९७२ देखि पञ्चम र गुलजारले सँगै काम गर्न थालेका थिए । गुलजार शब्द लेख्थे । पञ्चम संगीत भर्थे । र, आशा गाउँथिन् । ‘परिचय’, ‘खुशबू’ र पछि ‘इजाजत’सम्म पुग्दा यो तीन जनाको जोडीले धेरै राम्रा गीतहरू बनाएका थिए । ‘इजाजत’ फिल्मको ‘मेरा कुछ सामान’ गीतका लागि आशाले फिल्मफेयर पुरस्कार समेत पाएकी थिइन् ।

यो गीतको शब्द सुन्दा पञ्चमले ठट्टा गर्दै गुलजारलाई ‘भोलि त तिमीले पत्रिका नै लिएर आउछौ होला । र यसलाई धुन बनाइदेऊ भन्छौ होला !’ भनेका थिए । तर आशाले ‘लौटा दो’ भन्ने शब्द गुनगुनाउने बित्तिकै पञ्चमले त्यसको धुन मिलिकभरमा तयार पारेका थिए ।

यसरी आशाको पूरै जीवन संगीतमै डुबिरह्यो । विशेषत: उनकी दिदी लता मङ्गेशकर, जो विशाल रुखभन्दा कम थिइनन्, उनैको छायामुनि आफ्नो हिस्साको घाम खोज्ने यात्रा जस्तै रह्यो ।

त्यसैले उनले कठिन र प्रयोगात्मक बाटो रोजिन् । त्यसमा पञ्चम एउटा जादु झैं भनेर आएका थिए । कालान्तरमा उनीहरू दुवै नयाँ प्रयोग र चुनौतीहरूलाई पछ्याउने यात्री बने । त्यसैले त उनीहरूका गीतहरू आज पनि उत्तिकै अमर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?