+
+
Shares

४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बुढीगंगा, पाठ्यपुस्तक खरिद अन्योल

प्रकाश सिंह प्रकाश सिंह
२०८३ वैशाख ८ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजुराको बुढीगंगा नगरपालिकामा करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक काम र आर्थिक कारोबार प्रभावित बनेका छन्।
  • नगर प्रमुख रामबहादुर बानियाँले प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताए।
  • अधिकृत अभावले योजना स्वीकृति, बजेट निकासा, तलब भुक्तानी र पाठ्यपुस्तक खरिद जस्ता काम ठप्प भएका छन्।

८ वैशाख, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावमा दैनिक सेवा प्रवाहसँगै प्रशासनिक काम ठप्प भएको छ ।

नगर प्रमुख रामबहादुर बानियाँले करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको बताए । उनले भने, ‘कात्तिकबाट करार कर्मचारीको पनि म्याद नथप्ने निर्णय गर्‍यौँ, त्यसलगत्तै धेरै कर्मचारी अख्तियारको निलम्बनमा परे र त्यसमाथि अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलबभत्ता, सिफारिसलगायतका अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ भइरहेको उनले जनाए ।

चालु आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावका कारण कामकाज प्रभावित भएको स्थानीयले बताएका छन् । कर्मचारीहरूका अनुसार महत्त्वपूर्ण फाइल निर्णयको प्रतीक्षामा थन्किएका छन् भने विकास निर्माणसम्बन्धी कामसमेत ठप्प भएका छन् ।

शैक्षिक सत्र सुरु भइसक्दा पनि सामुदायिक विद्यालयले पाठ्यपुस्तक खरिद गर्न सकेका छैनन् । पाठ्यपुस्तक खरिदबापतको रकम नगरपालिकाले भुक्तानी नदिँदा समस्या भएको विद्यालयले जनाएका छन् । ‘बिक्रेतालाई उधारोमा पाठ्यपुस्तक दिन भनेका छौँ, नगरपालिकाले रकम निकासा गर्न नसक्दा पाठ्यपुस्तक खरिद अन्योल भएको छ,’ दुधिर आधारभूत विद्यालयकी प्रअ चन्द्रकला शाहले बताइन् ।

चार महिनादेखि अधिकृत नहुँदा कर्मचारीहरूले तलब समेत पाएका छैनन् ।

२०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोजबहादुर ऐडीलाई खटाएको थियो । तर ऐडी भने चैतमा एक साता पनि नगरपालिकामा नबसेर फिर्ता भएका थिए । त्यसपछि उनी नफर्किएको नगरपालिकाले जनाएको छ ।

फेरि चैत तेस्रो साता मन्त्रालयले पुन: बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा भोजबहादुर ऐडीलाई खटाए पनि हालसम्म हाजिर नभएको नगर प्रमुख बानियाँले जानकारी दिए ।

चार महिनादेखि अधिकृत नहुँदा कर्मचारीहरूले तलब पाएका छैनन् भने योजना सम्झौतालगायत प्रशासनिक काम प्रभावित भएको उनले बताए । नगर प्रमुख बानियाँले दुर्गम भनेर धेरै कर्मचारी आउनै नमान्ने र आए पनि टिकाइराख्न चुनौती रहेको बताए ।

त्यस्तै, चार महिनादेखि अधिकृतविहीन नगरपालिकामा धेरैजसो शाखाका कर्मचारी निलम्बनमा हुँदा झन् समस्या भएको स्थानीयले बताएका छन् । नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित कर्मचारीहरूविरुद्ध मुद्दा दर्ता गरेपछि पालिकामा कार्यरत ७ जना कर्मचारी निलम्बनमा परेका थिए ।

यस्तै, महिनौँसम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावले पालिका र वडामा सेवा प्रवाह प्रभावित भएको छ भने केही स्वास्थ्य संस्थासमेत बन्द भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि हारगुहार गरे पनि अहिलेसम्म व्यवस्थापन नभएको बताएको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?