+
+
Shares

माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म हलमा लाग्नुअघि नै विवादमा

यो फिल्ममा माइकलको परिवारको प्रत्यक्ष लगानी र संलग्नता छ । माइकल ज्याक्सनको भूमिका उनका आफ्नै भतिजा जाफर ज्याक्सनले निभाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रख्यात गायक माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ अब हलहरूमा लाग्दै छ र व्यापारिक दृष्टिकोणले सफल हुने अनुमान छ।
  • फिल्ममा माइकलका नराम्रा पक्षहरू लुकाउने आरोप लागेका छन् र परिवारको प्रत्यक्ष लगानी तथा संलग्नताका कारण विवाद उत्पन्न भएको छ।

विश्वप्रख्यात गायक माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ अब हलहरूमा लाग्दै छ । माइकल ज्याक्सन स्वयंको ओजका कारण यो फिल्म चल्ने अनुमान स्वभाविक छ ।

तर, हलहरूमा लाग्नुअगावै यो फिल्मलाई लिएर केही विवाद सुरु भएका छन् । विशेष गरी फिल्मले माइकलको जीवनका नराम्रा पक्षहरूलाई लुकाउन खोजेको भन्दै विवाद सुरु भइरहेको हो । यसमा निर्माता पक्षको गतिविधि पनि शंकास्पद नै देखिने अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् ।

यसअघि क्वीन ब्यान्डका फ्रन्टम्यान फ्रेडी मर्करीको बायोपिक ‘बोहेमियन र्‍यापसीडी’ बनाउने ग्राहम किङ ‘माइकल’को निर्देशकको भूमिकामा छन् । त्यसबेला उक्त फिल्म सुपरहिट बनेको थियो । र, फिल्ममा फ्रेडीको राम्रो/नराम्रो सबै पक्ष देखाइएको थियो । त्यसो हुँदा माइकलको पनि उस्तै फिल्म बन्ने अपेक्षा थियो ।

तर, पोस्ट प्रोडक्सनको समयमा फिल्मलाई लिएर गरिएको ‘जज्’का कारण भने दर्शकहरूले फिल्मलाई शंकाको नजरबाट हेर्न थालेका छन् ।

विवादको कारण के हो ?

माइकल ज्याक्सन आफ्नो संगीतका लागि जति चर्चित थिए, उनीमाथि लागेका केही गम्भीर आरोपका कारण त्यति नै विवादास्पद पनि थिए । उनीमाथि साना बच्चाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । भलै त्यसबारे सन् २००५ मा अदालतले उनलाई सफाइ दिएको थियो । यद्यपि त्यस विषयले अहिलेसम्म पनि चर्चा पाउने गर्छ ।

यस्ता कुरा फिल्ममा नआउने सम्भावना ज्यादा छ । त्यसमाथि यो फिल्ममा माइकलको परिवारको प्रत्यक्ष लगानी र संलग्नता छ । माइकल ज्याक्सनको भूमिका उनका आफ्नै भतिजा जाफर ज्याक्सनले निभाएका छन् । त्यसैले फिल्ममा माइकलका नराम्रा कुराहरू नदेखाउने, राम्रो मात्र देखाउने भन्दै आरोपहरू लागेका हुन् ।

तर, प्रि-पोडक्सनको समयतिर फिल्म निर्माताहरूले माइकलका सबै राम्रा-नराम्रा पक्ष देखाउने भनेका थिए । यद्यपि हालै आएर फिल्ममा माइकलको बाल्यकाल, उनले गरेको मेहनत र सन् १९८८ को चर्चित ‘ब्याड’ कन्सर्टसम्मको यात्रा मात्र देखाइने बताइएको छ । विवादित विषयहरूलाई फिल्मबाटै हटाइएको पनि जनाइएको छ ।

त्यस्तै परिवारले असहमति जनाएपछि फिल्मको केही दृश्यका लागि पुन: सुटिङ समेत गरिएको छ । सन् १९९४ मा माइकलले आफूलाई आरोप लगाउनेसँग एउटा सम्झौता गरेका थिए, जसअनुसार ती व्यक्तिको बारेमा कुनै फिल्ममा कुरा गर्न मिल्दैनथ्यो । उक्त दृश्यहरू हटाएर नयाँ दृश्यहरू थप्न २०२५ मा २२ दिनसम्म फेरि सुट गरिएको थियो । त्यसले फिल्म लागत बढाउनुका साथै फिल्म आउने मिति पनि सरेको थियो ।

यी परिमार्जनका बाबजुद पनि व्यापारिक दृष्टिकोणले यो फिल्म सफल हुने पूर्वानुमानहरू गरिएका छन् । किनकि आजको दिनमा पनि माइकल ज्याक्सन संसारकै सबैभन्दा धेरै सुनिने गायक हुन् । उनको कला, गला, प्रचारप्रसार र क्रेज आदिका कारण नयाँ पुस्तमा पनि उनी उत्तिकै लोकप्रिय छन् । त्यसैले उनको जीवनमा आधारित फिल्म चल्ने त करिब पक्का छ ।

तर, फिल्मले उनको वास्तविक र पूरा कथा देखाउला त ? भन्ने शंका भने रहिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?