News Summary
Generated by OK AI. Editorially reviewed.- धितोपत्र बोर्डको प्रतिवेदनअनुसार दीपक भट्टले विभिन्न डिबेन्चर सस्तोमा खरिद गरी मूल्य बढाएर पब्लिक कम्पनीहरूलाई बेचेको देखिएको छ।
- भट्टले १ लाख कित्ता नबिल डिबेन्चर–८५ लाई १० करोड ८० लाखमा किनेर आफ्ना निकटका कम्पनीलाई ११ करोड ८१ लाख २१ हजारमा बेचेको प्रतिवेदनले उल्लेख गरेको छ।
- प्रतिवेदनअनुसार भट्टलाई सहयोग गर्ने अन्य आरोपितमा सन्दीदप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह रहेका छन्।
८ वैशाख, काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले विभिन्न डिबेन्चर सस्तोमा आफ्नो नाममा खरिद गरी मूल्य बढाएर पब्लिक कम्पनीहरूलाई बेच्ने गरेको धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनले देखाएको छ ।
धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले तयार गरेको उक्त प्रतिवेदन अनुसार भट्टले नेपाल रिइन्स्योरेन्सको सेयर मात्रै होइन, नबिल बैंकको डिबेन्चर एनबीएलडी–८५ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डिबेन्चर एनआईएमबीडी ९०, एसबीआई बैंकको डिबेन्चर एसबीआईडी ८३ तथा सिद्धार्थ बैंकको डिबेन्चर एसबीएलडी ८९ आफ्नो नाममा खरिद गरेका थिए ।
प्रतिवेदन अनुसार भट्टले एनबीएलडी–८५ ऋणपत्र हिमालयन रिइन्स्योरेन्सबाट ९ नोभेम्बर२०२५ मा १ हजार ८० प्रतिकित्तामा खरिद गरेका थिए ।
हिमालयनमा भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङस् प्रालिको ४.५ प्रतिशत स्वामित्व छ । उक्त सेयर नोभेम्बर १६ मा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीलाई प्रति कित्ता १ हजार १ सयदेखि १ हजार १ सय ६० सम्ममा बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।
सोही कम्पनीमा भट्टको १५ प्रतिशत स्वामित्व रहेको प्रतिवेदनमा उल्लेख छ । त्यही डिबेन्चर क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सलाई प्रतिकित्ता १ हजार १ सय ६० देखि १ हजार १ सय ८२ सम्म र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सलाई प्रतिकित्ता १ हजार १ सय ८५ मा बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ ।
ती दुई माइक्रोइन्स्योरेन्समा हिमालयन रिइन्स्योरेन्सको क्रमश: १५ प्रतिशत र २१.४३ प्रतिशत स्वामित्व रहेको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
‘यसबाट धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४ र ९५ बमोजिमको कसुर भएको हुन सक्ने देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी अन्य ऋणपत्रमा पनि भट्टले कारोबार गरेका छन् । एसबीएलडी ८९ ऋणपत्र हिमालयन रिइन्स्योरेन्सबाट ३ लाख ३८ हजार ४ सय ४१ कित्ता खरिद गरी आफ्नै १५ प्रतिशत स्वामित्व रहेको नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीलाई ९० हजार कित्ता, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सलाई ८० हजार, हिमालयन रिइन्स्योरेन्सकै १५ प्रतिशत स्वामित्व रहेका क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सलाई १५ हजार कित्ता, हिमालयन रिकै २१.४३ प्रतिशत स्वामित्व रहेको प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीलाई १५ हजार ८ सय १४ कित्ता बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ । यसबाट धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४ र ९५ बमोजिमको कसुर भएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
भट्टले १ लाख कित्ता नबिल डिबेन्चर–८५ लाई कुल १० करोड ८० लाखमा किनेर आफ्ना निकटका कम्पनीलाई ११ करोड ८१ लाख २१ हजारमा बेचेको प्रतिवेदनले उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार १० प्रतिशत एनआईएमबी डिबेन्चर १२ करोड ९५ लाख ६४ हजार १ सय २३ रुपैयाँमा किनेर १४ करोड ८७ लाख ५५ हजार ७ सय ४ रुपैयाँमा बेचेका छन् । १०.२५ प्रतिशतको एसबीआई डिबेन्चर ०८३ लाई ४ करोड ९० लाख ६० हजार रुपैयाँमा खरिद गरेर ५ करोड ३९ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा बेचेका छन् ।
यस्तो कारोबारमा भट्टलाई सहयोग गर्ने अन्य आरोपित व्यक्तिमा सन्दीदप चाचान (भृकुटी स्टक ब्रोकिङ), शुभी अग्रवाल (बालुवाटार), ऋषिराज मोर (बानेश्वर) र राजबहादुर शाह (टौखेल) रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै कसुर गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थामा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्व, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फन्ड, नेपाल माइक्रोइन्स्योरेन्स, रोहित गुप्ता, शेखर गोल्छा रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसरी डिबेन्चर खरिद गरेको रकम उनले ब्रोकर कम्पनीलाई नबुझाई उधारोमा राख्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तो सेयर भट्टसमेत संस्थापक भएका पब्लिक कम्पनीहरूले नै महँगो मूल्य हालेर ती धितोपत्र खरिद गर्ने गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।
भृकुटी स्टक ब्रोकिङले भट्टबाट धितोपत्र खरिद गर्दा नलिएको पैसा पब्लिक कम्पनीहरूलाई बेचेपछिको रकमबाटै मिलान गर्ने गरेको प्रतिवेदनले उल्लेख छ ।
प्रतिक्रिया 4