+
+
Shares

सुधन गुरुङले सात लाखमै पाए भेडेटारमा २० रोपनी जग्गा ?

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार गुरुङले जग्गा किनेको ठाउँ सडकले छोएको छैन । तर उनले जग्गा खरिद गरेको क्षेत्रमा ५ लाख रुपैयाँ प्रति रोपनीमा खरिद बिक्री हुने गरेको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ वैशाख ९ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले चैत ११ गते धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा १९ रोपनी १५ आना जग्गा किनेका थिए।
  • मालपोत कार्यालयले जग्गाको मूल्यांकन ६ लाख ९० हजार रुपैयाँ गरी राजस्व बुझाएको जनाएको छ।
  • साँगुरीगढी गाउँपालिकाले सो क्षेत्रको जग्गाको बजार मूल्य प्रतिरोपनी ५ लाख रुपैयाँ रहेको बताएको छ।

९ वैशाख, धनकुटा । बुधबार पदबाट राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङले धनकुटामा करिब २० रोपनी जग्गा किन्दा खरिद मूल्य (थैली) कम राखेको देखिएको छ ।

चैत १३ गते मन्त्री बनेका उनले चैत ११ गते धनकुटाको मुख्य पर्यटकीय क्षेत्र भेडेटार नजिक साँगुरीगढी गाउँपालिका–६ (साविक कार्कीछाप–५) मा  कित्ता नम्बर १६७ रहेको १९ रोपनी १५ आना जग्गा किनेका थिए ।

मालपोत कार्यालय धनकुटाका अनुसार गुरुङले उक्त जग्गा जुनु लिम्बूबाट खरिद गरेका हुन् ।

जुनु लिम्बुका ससुरा कर्णबहादुर मगरले गुरुङलाई आफ्नो बुहारीको नाममा रहेको जग्गा बेचेको जानकारी दिए । यद्यपि उनले बिक्री मूल्य खुलाउन चाहेनन् । कर्णबहादुरले आफूहरू बीच गोप्य सहमतिमा भएको कुरा खोजी नगर्न अनुरोध गरे ।

गोरखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित गुरुङले जग्गा पास गर्दा ६ लाख ९० हजार रुपैयाँको मूल्यांकन गरी सोही बराबरको राजस्व बुझाएको मालपोत कार्यालय धनकुटाका प्रमुख कमलबहादुर थापाले बताए । उनले जग्गा खरिद गरेको ठाउँको मालपोत कार्यालयको मूल्यांकनलाई आधार बनाएर राजश्व तिरेको थापाले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार गुरुङले जग्गा किनेको ठाउँ सडकले छोएको छैन । तर उनले जग्गा खरिद गरेको क्षेत्रमा ५ लाख रुपैयाँ प्रति रोपनीमा खरिद बिक्रि हुने गरेको छ । प्रति रोपनी ५ लाखको दरले हिसाब गर्दा उनले खरिद गरेको जग्गाको मूल्य करिब एक करोड हुन्छ ।

साँगुरीगढी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष दिपक मगर, गुरुङले किनेको क्षेत्रमा प्रतिरोपनी ५ लाखका दरले कारोबार भइरहेको बताउँछन् । उनले त्यसक्षेत्रको जग्गालाई गाउँपालिकाले ‘व्यवसाय गर्न उपयुक्त रहेको’ भनेर मूल्यांकन गरेको बताए ।

वडाध्यक्ष मगरका अनुसार गुरुङले खरिद गरेको १९ रोपनी १५ आना जग्गा ६ लाख ९० हजारमा कुनै हालतमा नपाइने बताए । यद्यपि ठ्याक्कै कतिमा किनेको भन्ने यकिन जानकारी भने आफूलाई नभएको उनको भनाइ छ ।

गुरुङले खरिद गरेको जग्गा भेडेटारबाट करिब ३ किलोमिटर पूर्वमा पर्छ । वडा कार्यालयले ‘बाटो नभएको’ सिफारिस गरेपछि न्यूनतम सरकारी मूल्यांकनका आधारमा पास गरिएको मालपोत कार्यालय धनकुटाले जनाएको छ ।

साँगुरीगढी गाउँपालिकाको मूल्यांकन अनुसार सो ठाउँमा प्रतिरोपनी ५ लाख रुपैयाँ रहेको सोही अनुसारको कारोबार रहेको गाउँपालिकाले जनाएको छ । सरकारी मूल्यांकन र वास्तविक बजार मूल्य फरक हुने भएकाले यस्तो अन्तर देखिने भएको मालपोत कार्यालय धनकुटाका प्रमुख थापाले बताए ।

निवर्तमान मन्त्री गुरुङले  सम्पत्ति विवरणमा  उक्त जग्गा खरिदको  उल्लेख गरे पनि वास्तविक मूल्य र स्रोत भने सार्वजनिक गरेका छैनन् ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?