११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले एक स्टाटस लेख्दै वास्तविक सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताएका छन् ।
‘देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं,’ बालेनले भनेका छन्, ‘वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ । ढुक्क हुनुहोस् ।’
साथै, उनले वर्षाको बेलामा हुनसक्ने दुर्घटना आउनुअघि नै सचेत हुनका लागि यो काम भएको बताएका छन् ।
‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैं गरिरहने ?,’ बालेनले प्रश्न गरेका छन् ।
साथै, उनले सुकुमवासीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बताए ।
‘उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नू ?,’ बालेनले प्रश्न गरेका छन्, ‘नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो ।’
सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ ।
भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् ।
उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् ।
प्रतिक्रिया 4