१२ वैशाख, सप्तरी । सप्तरीको चन्द्रनहर क्षेत्रको अतिक्रमित जग्गा खाली गराउन कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयले तयारी अगाडि बढाएको छ ।
सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्र नहरको हेडबाँधमा सरोकारवालाहरूको बैठक बसेर अतिक्रमित जग्गा खाली गराउने तयारीबारे छलफल भएको हो ।
उक्त बैठकले पहिलो चरणमा चन्द्रनहरको डिलको क्षेत्र भित्र पर्ने पहिचान भएका १२६ घरटहरा भत्काउने भनेको छ ।
कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजले गत चैत १६ गते सार्वजनिक सूचना जारी सात दिनभित्र जग्गा खाली आह्वान गरेको थियो । सो सूचनाअनुसार अतिक्रमण नहटेपछि कार्यालयले सरोकारवालासहितको बैठक बोलाएको हो ।
कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर वीरेन्द्र यादवले नहर क्षेत्रमा बसेकामध्ये वास्तविक सुकुमवासी पहिचान गर्ने र १५ दिनभित्र उपयुक्त जग्गा छनौट गर्ने जिम्मा सप्तकोशी नगरपालिकालाई दिइएको छ ।
बैठकमा सप्तरी–१ का प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सप्तकोशी नगरपालिका मेयर कृष्ण ढकाल, चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादवलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4