१२ वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण उच्च जोखिम बढेपछि बीपी राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएको र लेदो (माटो–पहिरो) खस्दा सवारी साधन बीच बाटोमै होल्ड गरिएको प्रहरीले जनाएको छ ।
बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड तथा सिन्धुलीको आँपघारी क्षेत्रका विभिन्न स्थानका डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार रोशी खोलाले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा तथा माम्तीमा अस्थायी डाइभर्सन बगाएको छ ।
सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा डाइभर्सन बगाएको छ । अत्यधिक वर्षा भइरहेकाले रातिको समयमा थप जोखिम हुनसक्ने भएका कारण सवारी होल्ड गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले राजमार्गका डाइभर्सन बगेको, विभिन्न ठाउँमा पहिरो जान सक्ने, ढुंगा खस्ने जोखिम बढेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
हाल काभ्रेको मंगलटार, भकुन्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपाल थोक र खुर्कोटमा सयौं सवारी साधन होल्ड राखिएका छन् ।

मौसममा सुधार आएर सडक सुरक्षाको सुनिश्चितता नभएसम्म सवारी आवागमन रोकिने प्रहरीको भनाइ छ । सो सम्बन्धमा अर्को सूचना जारी गर्ने प्रहरीले जनाएको छ ।
यात्रु तथा सवारी चालकलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

थप जानकारीका लागि नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
यस्तै बाटोमै रोकिएका यात्रुलाई प्रचलित मूल्यभन्दा महँगोमा उपभोग्य सामग्री नबेच्न पनि राजमार्ग क्षेत्रका पसल सञ्चालक र होटेललाई प्रहरीले सुझाएको छ ।
एसपी शाहले विपद्का बेला अलपत्र यात्रुलाई सहयोग गर्नुको सट्टा कालोबजारी गरे कारबाही गर्ने र त्यसो गरिएको पाइए तुरुन्त प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न भनेका छन् ।

प्रतिक्रिया 4