News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन मेघौलीमा ११ देखि १३ वैशाखसम्म सम्पन्न वाइल्ड नेपाल सफारी मार्ट २०२६ ले नेपालको वन्यजन्तु पर्यटनलाई नयाँ उचाइ दिएको छ।
- पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनमा संरक्षण र समुदाय सशक्तीकरणलाई जोड दिँदै उत्तरदायी पर्यटनको दृष्टिकोण प्रस्तुत गरे।
- नीतिगत विषयमा बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले \'ग्रेटर चितवन\' अवधारणाले विभिन्न गन्तव्य एकीकृत गर्दै सशक्त पर्यटन सर्किट निर्माण गर्ने बताए।
१३ वैशाख, काठमाडौं । परम्परागत गन्तव्य प्रवर्द्धन ढाँचाबाट बाहिरिँदै नेपालले आफ्ना राष्ट्रिय निकुञ्जहरूलाई विश्व पर्यटन बजारमा सशक्त रूपमा प्रस्तुत गरेको छ ।
‘रेयर, रिमार्केबल एन्ड रेस्पोन्सिबल’ भन्ने मूल नारासहित चितवन मेघौलीमा ११ देखि १३ वैशाख (२४–२६ अप्रिल २०२६) सम्म सम्पन्न ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ ले नेपालको वन्यजन्तु पर्यटनलाई नयाँ उचाइ दिएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा भरतपुर महानगरपालिका र रिजनल होटल एसोसिएसन नेपाल चितवनको सहकार्यमा सम्पन्न मार्टमा भारत, बंगलादेश, थाइल्यान्ड, टर्की र जर्मनीबाट गरी ३० भन्दा बढी विदेशी पाहुना सहभागी थिए ।
अन्तर्राष्ट्रिय खरिदकर्ता, संरक्षणविद् तथा पर्यटन व्यवसायीको सहभागिताले मार्टलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको थियो । वन्यजन्तु, संरक्षण र पर्यटन केन्द्रमा राख्दै आयोजित मार्टमा बीटुबी बैठक, स्थलगत भ्रमण र सांस्कृतिक प्रस्तुति समेटिएका थिए । जसले स्वदेशी तथा विदेशी सहभागीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो ।
कार्यक्रममा विश्व पर्यटन मञ्च अध्यक्ष बुलुट बाग्चीले पर्यटनलाई ‘ग्रिन इनर्जी’ को संज्ञा दिए । ‘पर्यटन देशका लागि हरियो इन्धन हो,’ उनले भने, ‘यसले गन्तव्यमा प्रत्यक्ष वैदेशिक लगानी भिर्त्याउँछ ।’
उनले नेपालको भौगोलिक विविधताले सिर्जना गरेको मौसमी फरकपनलाई अद्वितीय विशेषता भन्दै छोटो दुरीमै तराई, जंगल र पहाडको अनुभव लिन सकिने पक्षको प्रशंसा गरे । ‘चितवन प्रकृति, संस्कृति र जैविक विविधताको उत्कृष्ट संगम हो,’ उनले थपे ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटनको नयाँ दृष्टिकोण प्रस्तुत गरे । ‘आज हामी गन्तव्यमात्र प्रवर्द्धन गरिरहेका छैनौं, संरक्षण र पर्यटन सँगसँगै अघि बढ्ने दृष्टिकोणलाई पनि स्थापित गरिरहेका छौं,’ उनले भने, ‘उत्तरदायी पर्यटन भनेको पर्यावरण संरक्षण, समुदाय सशक्तीकरण र दिगो अभ्यास सुनिश्चित गर्नु हो ।’
विभिन्न संरक्षित क्षेत्रका वार्डेनहरूले आ–आफ्ना अनुभव र सम्भावना प्रस्तुत गरे । कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन भूपेन्द्र यादवले यसलाई एसियाको प्रमुख बर्डिङ गन्तव्य बनाउन सकिने बताए ।
‘कोशी टप्पुमा ५ सय ३५ भन्दा बढी प्रजातिका चरा पाइन्छन्, यो एसियाकै प्रमुख बर्डिङ हब बन्न सक्छ,’ उनले भने, ‘हामीले उच्च मूल्य र न्यून प्रभाव पर्ने पर्यटनमा ध्यान दिनुपर्छ ।’
त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्रशेखर चौधरीले विशाल घाँसे मैदान र समृद्ध वन्यजन्तु स्रोतलाई पर्यटन विकासको आधारका रूपमा औँल्याए ।
पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र खतिवडाले चितवन र पर्साबीच समन्वय आवश्यक रहेको बताए । ‘चितवन र पर्साबीच प्रतिस्पर्धा छैन, सहकार्य छ, संयुक्त प्याकेज मार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पनि चितवनलाई उदाउँदो उच्चस्तरीय वन्यजन्तु गन्तव्यका रूपमा मूल्यांकन गरेका छन् । उनीहरूले नेपालको मौलिक अनुभव, व्यवस्थापन र आतिथ्यताको प्रशंसा गरे ।
नीतिगत र रणनीतिक विषयमा बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले ‘ग्रेटर चितवन’ अवधारणा अघि सारे ।
‘हामी अब गन्तव्यको विशेषता अनुसार लक्षित बजारमा केन्द्रित हुने रणनीतिमा अघि बढिरहेका छौं,’ उनले भने, ‘ग्रेटर चितवन अवधारणाले विभिन्न गन्तव्य एकीकृत गर्दै सशक्त पर्यटन सर्किट निर्माण गर्ने छ ।’
उनले सीमापार पर्यटनको सम्भावनामा जोड दिए । ‘भारतसँगको खुला सिमाना हाम्रो ठूलो अवसर हो, कम्तीमा ६ वटा राष्ट्रिय निकुञ्ज जोडेर एकीकृत सफारी अनुभव विकास गर्ने लक्ष्य छ,’ उनले भने, ‘सफारी पर्यटनलाई राष्ट्रिय उत्पादनका रूपमा स्थापित गर्नुपर्छ ।’
कार्यक्रममा सांस्कृतिक प्रस्तुति र स्थलगत भ्रमणले सहभागीलाई स्थानीय संस्कृति र प्रकृतिसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गर्यो । व्यावसायिक छलफल र अनुभवात्मक यात्रा संयोजनले कार्यक्रमलाई प्रभावकारी बनाएको देखियो ।
समग्रमा वाइल्ड नेपाल सफारी मार्ट २०२६ ले नेपालको वन्यजन्तु पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ । पर्यटन बोर्डका अनुसार नेपाल अब केवल गन्तव्य प्रवर्द्धन गर्नेमात्र नभई उत्तरदायी र दिगो पर्यटनको मोडेल प्रस्तुत गरिरहेको छ ।
प्रतिक्रिया 4