+
+
Shares

‘छोरो विदेशमै ढल्यो, यता उसको कमाइको घरै रहेन’ 

'के हामी यस्तै अपमानका लायक थियौँ ?’

गोपाल नेपालीका छोराले साउदी अरबमा दुईवर्ष मिहिनेत गरेर पैसा पठाए । त्यही पैसाबाट घर बनाइदिए । छुट्टीमा आएर गएपछि उनी उतै बिते । गोपालको लागि मनोहरा बस्तीको घर ढुङ्गा र इँटाको थुप्रो मात्रै थिएन, उनको छोराको सम्झनाको पोको थियो ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख १४ गते ७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मनोहरा सुकुमवासी बस्ती डोजर चलाएर भत्काएको छ र बस्तीबासीलाई कुनै औपचारिक सूचना नदिइएको छ।
  • गोपाल नेपालीले २६ वर्षदेखि बसोबास गरेको घर भत्किँदा आफ्नो सम्पूर्ण सामान र छोराको मेहनतले ल्याएको गहना गुमाएको बताए।
  • सुकुमवासीहरुलाई नगरपालिकाले दशरथ रंगशालामा होल्डिङ सेन्टरमा राखेर नाम टिप्ने काम गरिरहेको छ र नागरिकता भएका मात्र नाम टिप्न सक्ने व्यवस्था गरिएको छ।

१४ वैशाख, काठमाडौं । सूचना पर्याप्त थिएन । आएका हल्ला पहिलेजस्तै होलान् भन्ने अनुमानले अल्झायो। सरकार अधिकारीहरूले  सिधै आएर सामान निकाल्नु, यसरी व्यवस्थापन गर्छौं भनेनन् । आफू मनोहरामा नरहँदा दिइएको सूचना गाउँबाहिर रहेका गोपाल नेपालीले सुन्ने कुरै भएन । एकाएक घरका भित्तामा डोजर बज्रियो । वर्षौंको मिहिनेतले ठड्याएको घर ढल्यो ।

दिउँसो घर भत्कँदै थियो । बिहानसम्म उनी भकुण्डेबेसीमा छोरीको कोठामा थिए । नातिलाई पढाउन गएका थिए । जब मनोहराको सुकुमवासी बस्ती फर्किए, त्यहाँ डोजर चल्न थालिसकेको थियो । आफ्नो सामान निकाल्ने मौकासमेत उनले पाएनन् ।

यसरी गुनासो सुनाइरहेको गोपाल रुँदै बोल्थे । बीचबीचमा रोकिन्थे । घाँटी सफा गर्थे र फेरि आफ्ना गुनासो सुनाउन थाल्थे । ‘कति धेरै सम्झना थिए, कति धेरै महत्वपूर्ण सामान थिए । आफैँले भोट दिएर पठाएको सरकारले सत्यानास पारिदियो,’ आफ्नो गोप्य मतदानसमेत खुलाउँदै उनले आक्रोश पोखे ।

गोपालका अनुसार, २६ वर्ष अगाडि उनी मनोहरा सुकुमवासी बस्तीमा बस्न थालेका हुन् । त्यसबेला उनी कुनै घर किनेर बसेका थिएनन् । जसोतसो जस्ताको छानो भएको छाप्रो बनाएर त्यहीँ अडिएका उनले त्यसमै छोरा हुर्काए ।

विस्तारै छोरा साउदी पुगे । जसोतसो कमाएको पैसाले त्यही झुप्रोमा ब्लक लगाउन थाले । कोठा थपे । अन्तमा चार कोठाको पक्की घर भयो । छोराले दु:ख गरेर पठाएको पैसाबाट उनले ढोकामा राम्रा काठका चौकोस लगाएका थिए ।

यो घर ठडिनु उनको लागि सबैभन्दा ठूलो कुरा थियो । सपनाको कुरा थियो । अझ जुन घर बन्यो, त्यसमा पोखिएको पसिना सम्झँदा गोपालका आँखा रसाए ।

कतिपय छिमेकी आएर सघाइरहेका थिए भने कतिपय ‘रमिता हेर्न’ भन्दै सुकुमवासीलाई हियाउँदै बसेको ‘दर्शक’ पनि त्यहीँ देखिए ।

कारण त्यसमा छोराको मिहिनेतले काम गरेको थियो, जसले विदेशमा मिहिनेत गरे, पैसा कमाए, नेपाल पठाए । दुई वर्ष बसेपछि छुट्टीमा घर आएर आफैँ लागि परेर घर बनाइदिए । तर, दु:खको कुरा त्यसपछि फेरि कमाउन विदेश गएको छोरा फर्किएर आएनन् । त्यसैले त्यो घर गोपालको लागि ढुङ्गा र ईँटाको थुप्रो मात्रै थिएन, त्यो उनको छोराको सम्झना थियो ।

शनिबार नेपाल सरकारले सुरक्षाका दस्तासहित घेरेर बस्ती भत्काइरहँदा गोपाल घरमा थिएनन् । त्यहाँ रहेको टेलिभिजन सेट, कम्प्युटर, दुईटा स्टिलका दराज, पकाउने भाँडाकुँडा, ग्यास चुलो सबै पुरियो । सँगै थियो, केही सुनका गहना, जुन उनै साउदीमा बितेका छोराले विदेशबाट मिहिनेत गरेर ल्याइदिएको थियो ।

‘गहना, कागजपत्र, घरको सामान, छोराले छोएका चिजहरू केही निकाल्न पाइएन । जब डोजर आयो, तब घरमा कोही थिएन । मेरो सर्वस्व लुटियो,’ गोपालले गहभरी आँसु बनाउँदै भने, ‘श्रीमतीलाई अगाडि जाँदै गर् त भनेको थिएँ । तर म पछि फर्केर आउँदा त घर नै थिएन ।’

सुकुमवासी बस्ती भत्काउने यत्रो हल्लखल्ल हुँदा पनि गोपालले सूचना किन पाएनन् त ? उनका अनुसार, बस्ती भत्काउँछन् भन्ने हल्ला सुनेका थिए । तर सुन्नु र ढोकामा कागज टाँसिनु फरक हो । कुनै औपचारिक सूचना आएन, कुनै सरकारी अधिकारी आएर भनेनन् । डोजर आएको कुरा पनि पछि छिमेकीले फोन गरेर भनेपछि बल्ल थाहा पाएको उनले बताए ।

यसरी आफूसँगै सबैका घर ढल्दा उनका मनमा विभिन्न प्रश्न आए । सरकारले दिने भनेको आवासबारे पनि उनलाई चित्त बुझेको छैन । अपार्टमेन्टमा साँघुरो कोठामा के गर्ने/नगर्ने थाहा छैन । त्यो पनि सरकारले लगेर राख्छ या राख्दैन स्पष्ट छैन ।

गोपाल सोध्छन्, ‘विदेशीलाई यो देशले टहरा नै बनाएर भएपनि शरण दिन सक्छ भने, नेपालमा जन्मेको नेपाली नागरिकले आफ्नै देशमा बस्न नपाउने ?  म आकाशमा होइन, यही धर्तीमा जन्मिएको हुँ । मैले के गल्ती गरेँ र यति अपमानित गरेर अपराधी झैँ बनाएर हतारोमा निकाल्दै छ ?’

गोपालले सरकारको नियतप्रति सन्देह र प्रश्न गर्दैगर्दा रास्वपा सभापति रवि लामिछानेले चुनावमा बोलेका कुरा पनि सम्झिए ।

‘सुकुमवासीको लागि डोजरको अगाडि छाती थाप्छु’ भनेर भोट मागेका उनले पार्टीलाई मत दिएको पनि बताए । ‘तर अहिले उनकै पार्टीको सरकार छ, उनकै मान्छेले यसरी डोजर चलाएको छ । खै कहाँ छन् उनी ?’

यसरी एक दम्पती भत्किको घर र पुरिएका सबै सम्झनाले भावविह्वल भइरहँदा अन्य दृश्य पनि समान थिए । अधिकांश रुँदै सकिनसकी सामान बोकिरहेका थिए ।

कतिपय छिमेकी आएर सघाइरहेका थिए भने कतिपय ‘रमिता हेर्न’ भन्दै सुकुमवासीलाई हियाउँदै बसेको ‘दर्शक’ पनि त्यहीँ देखिए । अझ बस्तीबासी भन्दा धेरै हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति मनोहरामा देखिन्थ्यो ।

मनोहराभित्र डोजर चलिरहँदा हेर्न आउनेको भिडले छेउछाउका बालीनाली पनि नष्ट गरिरहेका थिए । प्रहरीले आफैँ सामान निकालेर तिनै बारीमा राखिदिएको थियो ।

सुकुमवासी बस्तीबाट निकालिएका मानिसहरुलाई नगरपालिकाले दशरथ रंगशालामा रहेको होल्डिङ सेन्टरमा लगिरहेको थियो । यसको लागि जडिबुटी–लोकन्थली सडकको छेउमा नामहरू टिपिरहेका थिए । ‘आफूसँग नागरिकता हुनेले मात्र नाम टिपाउनुस् है । नत्र पुगेर फर्कनुपर्ला फेरि । त्यसैले नागरिकता चाहिँ बोक्नु,’ नगर प्रहरीले सम्झाइरहेको थियो ।

सबै सर-सामान यत्रतत्र भएको अवस्थामा आफ्नो नागरिकता नभेट्नेहरु चिन्तित देखिन्थे । नागरिकता पछि दिने सर्तमा जान पाएपनि हुनेमा कतिपय थिए । प्रहरीले पनि सोहीअनुसार मिलाएर सहजीकरण गरिरहेको थियो ।

थापाथली र गैह्री गाउँको तुलानामा मनोहरामा कोठा भाडामै लगाएर बस्ने ‘सुकुमवासी’को संख्या पनि धेरै रहेको अन्य स्थानीयले बताइरहेका थिए । त्यस्ता घर पनि शनिबार भत्किए । क्रिश्चियनहरुको चर्च र नयाँ शैक्षिक सत्रको मुखमा ‘सरस्वती आधारभूत विद्यालय’ पनि भत्कियो ।

मनोहरा भावविह्वल बन्दा कतिपय छिमेकीहरु चिन्तित सुनिन्थे । उनीहरू फोन गरेरै आफन्तलाई दु:खेसो पोखिरहेको दृश्य देखिन्थ्यो । ‘सबै घर गयो । सामान गयो । रोडभरी सामान छ । सबै उठाइरहेको छ,’ भत्किरहेको सुकुमवासी बस्ती देखाउँदै जनकपुरमा रहेकी आफ्नी आमासँग भिडियोकलमा बोल्दै स्थानीय सञ्जु सहनी दु:खेसो पोख्दै थिइन् ।

यसरी शनिबार बिहान थापाथलीबाट सुकुमवासी भत्काउन थालेको सरकारले गैह्रीगाउँ हुँदै मनोहराको सुकुमवासी बस्ती पनि शनिबारसम्म आइपुग्दा सबै भत्काएको छ । र, होल्डिङ सेन्टरमा राखेर सुकुमवासीको ‘स्क्रिनिङ’को काम गरिरहेको छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?