News Summary
Generated by OK AI. Editorially reviewed.- वीरगञ्जको त्रिभुवन राजपथको सडक मध्यरेखा निर्धारण कार्य मंगलबारदेखि सुरु हुने भएको छ।
- सडक डिभिजन कार्यालय हेटौँडाले प्राविधिक सामग्री उपलब्ध गराउने र नापी कार्यालयले नक्सा तथा मापन कार्य गर्नेछ भने संयुक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्म सहकार्य गर्नेछ।
१४ वैशाख, वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ अन्तर्गत सडकको दायाँ-बायाँ पर्ने मध्यरेखा (बीच भाग) निर्धारण कार्य मंगलबारदेखि सुरु हुने भएको छ।
सोमबार वीरगञ्ज महानगरपालिकामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तार कार्यलाई अघि बढाउन सडकको मध्य रेखा निर्धारण गरी स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो ।
बैठक महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा तथा नापी कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
हालसम्म सडक विस्तारका क्रममा सडकछेउका केही संरचनाहरू हटाइए पनि सडकको वास्तविक मध्य रेखा स्पष्ट नभएकाले स्थानीय बासिन्दाहरूमा अन्योलता देखिएको थियो । विशेषगरी ‘कहाँसम्म संरचना हटाउनुपर्ने हो’ भन्ने विषयमा स्थानीयले निरन्तर जानकारी माग्दै आएका थिए ।
अब भने उक्त समस्या समाधान गर्न त्रिभुवन राजपथको आधिकारिक नक्साअनुसार सडकको मध्य लाइन पहिचान गरिनेछ । मध्यलाइन निर्धारण भएपछि दायाँ–बायाँ बराबर दुरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ । यसले सडक विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ।
नाप-जाँचका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराउनेछ भने नक्सा तथा मापनसम्बन्धी कार्य नापी कार्यालय पर्साले गर्नेछ।
सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला प्रसाद साहका अनुसार मंगलबार बिहानदेखि नै नापजाँचको कार्य औपचारिक रूपमा सुरु हुनेछ ।
साथै, नापजाँचका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको उनले जानकारी दिए।
उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सबै चरणहरूमा सहकार्य गर्नेछ। यसअघि सडक फराकिलो बनाउने क्रममा सडक डिभिजन कार्यालयले गत आइतबार गण्डकदेखि भन्सारसम्म पर्ने घर–टहरामा डोजर प्रयोग गरेको थियो।
प्रतिक्रिया 4