News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्ने बताए।
- पाण्डेले ८३ प्रतिशत मध्यम वर्गलाई उपेक्षा गरेर कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा गरे।
- उनले अबको राष्ट्रियता \'आर्थिक राष्ट्रियता\' हुनुपर्ने र पुरानो भूमिगतकालीन मानसिकता नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने चेतावनी दिए।
१४ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको बदलिँदो सामाजिक संरचना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर मात्रै अबको राजनीति सफल हुने बताएका छन् ।
मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित ‘मदन भण्डारी, सामाजिक एकता र राष्ट्र निर्माण’ विषयक विचार गोष्ठीमा बोल्दै पाण्डेले पुरानो शैलीको राजनीतिले आजको आवश्यकता पूरा गर्न नसक्ने तर्क गरे ।
साथै, उनले नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । केवल १७ प्रतिशतको मात्र कुरा गरेर र ८३ प्रतिशत डोमिनेन्ट मध्यम वर्गलाई उपेक्षा गरेर अब कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा पनि उनले गरे ।
‘२००६ सालमा पार्टी स्थापना हुँदा ९० प्रतिशतभन्दा बढी मानिस गरिब थिए, तर आज परिस्थिति फेरिएको छ । अहिले १७.४ प्रतिशत मात्र गरिबीको रेखामुनि छन् भने ८३ प्रतिशत जनसंख्या मध्यम वर्गमा उक्लिएको छ । हामी केवल किताब र यान्त्रिक कुराबाट समाधान खोज्ने कि वास्तविक जीवनबाट ? जीवन मुख्य कुरा हो, किताब होइन,’ उनले भने ।
जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता चर्चा गर्दै पाण्डेले मदन भण्डारीले जहिले पनि शास्त्रभन्दा जीवन्त यथार्थलाई महत्त्व दिएको स्मरण गरे । पार्टीहरूले हिजोको भूमिगतकालीन मानसिकता र नियन्त्रणमुखी शैली नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने उनको चेतावनी छ ।
‘मदन भण्डारीले विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला जीवन्त तथ्यहरूबाट निष्कर्ष निकालेर नेपाली क्रान्तिलाई नयाँ उचाइ दिनुभएको थियो,’ उनले भने ।
नेता पाण्डेले अबको राष्ट्रियता ‘आर्थिक राष्ट्रियता’ हुनुपर्ने बताए ।
प्रतिक्रिया 4