+
+
Shares

आर्थिक स्थितिपत्र : स्वदेशमा रोजगारी अवसर कम,  वैदेशिक रोजगारीमा बढ्दो निर्भरता

विगत एक दशक अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली श्रमिक संख्या वार्षिक औसत २८.६ प्रतिशतले वृद्धि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता बढेको जनाएको छ।
  • आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
  • सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्नुपर्ने बताएको छ।

१४ वैशाख, काठमाडौं । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता बढ्दो रहेको देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ मा स्वदेशमा रोजगारीका पर्याप्त अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता बढिरहेको उल्लेख छ ।

चौथो नेपाल जीवनस्तर सर्वेक्षण अनुसार नेपालमा बेरोजगारी दर १२.६ प्रतिशत छ । विगत एक दशक अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली श्रमिक संख्या वार्षिक औसत २८.६ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति ५ लाख ६ हजार र पुन: श्रम स्वीकृति ३ लाख ३३ हजार गरी जम्मा ८ लाख ३९ हजार नेपाली श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

चालु आव १२ चैतसम्म नयाँ श्रम स्वीकृति २ लाख ८३ हजार र पुन: श्रम स्वीकृति २ लाख ७४ हजार गरी ५ लाख ५७ हजार नेपाली श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

रोजगारीका लागि विदेशिने संख्या उच्च हुँदा उनीहरूले पठाउने विप्रेषणले वाह्य क्षेत्र सन्तुलन, गरिबी निवारण, आन्तरिक माग तथा सामाजिक क्षेत्रमा अल्पकालीन राहत दिएको जनाएको छ ।

यसले देशभित्र दक्ष तथा अर्धदक्ष जनशक्ति अभाव र समष्टिगत मागमा कमी ल्याउनुका साथै दीर्घकालमा मानव पूँजी ह्रास हुने जोखिम बढेको जनाएको छ ।

स्वदेशमा रोजगारीका पर्याप्त अवसर सिर्जना गरी बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने समेत सरकारले जनाएको छ ।

सेवा क्षेत्र विस्तार भए पनि मर्यादित रोजगारीका अवसर पर्याप्त मात्रामा सिर्जना हुन नसकेको उल्लेख गरिएको छ । सेवा क्षेत्र विस्तार खासगरी व्यापार, आवास, सार्वजनिक प्रशासन र परम्परागत वित्तीय सेवामा केन्द्रित रहेको जनाइएको छ ।

उच्च मूल्य अभिवृद्धि गर्ने सूचना प्रविधि, ज्ञानमा आधारित सेवा र नवप्रवर्तनात्मक सेवा क्षेत्रको विकास र विस्तार अपेक्षाकृत कमजोर रहेको स्थितिपत्रमा उल्लेख छ ।

त्यस्तै कृत्रिम बौद्धिकता, रोबोटिक्स, डाटा सेन्टर, डिजिटल प्रविधि लगायत आधुनिक सेवा क्षेत्रको विस्तार गरी सिपयुक्त रोजगारी सहित प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्नुपर्ने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?