News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले पहिलोपटक आदिवासी जनजाति समुदायका भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको छ।
- आङ्देम्बेले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्रीका रूपमा निर्वाचित भई दोस्रो पटक संसदीय यात्रा सुरु गरेका छन्।
- उनले संसद्मा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने र राम्रो कामको समर्थन गर्ने बताए।
१४ वैशाख, काठमाडौं । झन्डै आठ दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले पहिलो पटक आदिवासी जनजाति समुदायबाट संसदीय दलको नेता पाएको छ ।
कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५३ औं दिनमा सोमबार आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने नेता भीष्मराज आङ्देम्बेलाई दलको नेता चयन गरेको हो ।
समानुपातिक प्रणालीतर्फ पाँचथरबाट प्रतिनिधिसभा सदस्य आङ्देम्बेलाई कांग्रेसले सर्वसम्मत संसदीय दलको नेता बनाएको छ । पहिलो संविधानसभा सदस्य निर्वाचनपछि कांग्रेसले पहिलोपल्ट दलको नेता सर्वसम्मत चयन गरेको हो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सहमहामन्त्री एवं नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले ६१ वर्षीय आङ्देम्बेलाई सर्वसम्मत नेता चयन गरिएको घोषणा गरेका थिए ।

त्यसअघि सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आङ्देम्बेलाई सर्वसम्मत दलको नेता चयन गर्ने निर्णय गरेको थियो । बैठकमा सभापति गगनकुमार थापाले आङ्देम्बेको नाम घोषणा गरेपछि सहमहामन्त्री रसाइली सिंहदरबारका लागि निस्किएका थिए ।
उनले सानेपाबाट निस्किने क्रममा भनेको थिए, ‘सभापतिज्यूले नाम प्रस्ताव गर्नुभएको छ । हामी निर्वाचन समितिले सिंहदरबारमा सांसदहरूसँग छलफल गर्छौं । सभापतिज्यू नै बसेर सांसदहरूलाई सर्वसम्मतका लागि अनुरोध गर्नुहुन्छ । त्यसलाई निर्णयार्थ पेश गर्नुहुन्छ । कुनै सांसदको असहमति भए निर्वाचन प्रक्रियामा अगाडि बढ्छौं ।’
तर, छलफलका क्रममा सांसदहरू कसैले पनि कार्यसम्पादन समिति बैठकले गरेको निर्णयप्रति असहमति जनाएनन् । उनीहरूले असहमति नजनाएपछि सहमहामन्त्री रसाइलीले आङ्देम्बेलाई सभापति थापाको उपस्थितिमा निर्विरोध दलको नेता घोषणा गरेका थिए ।
सभापति थापाले आङ्देम्बेको नाम दलको नेताका लागि सर्वसम्मत प्रस्ताव गर्दा सबै नेताहरूले सम्मानका साथ स्वीकार गरेको बताए ।
‘कार्यसम्पादन समितिमा पार्टीको तर्फबाट उहाँको नामलाई सर्वसम्मत प्रस्ताव गरिरहँदै गर्दा सबै नेताहरूले बडो सम्मानका साथमा निर्णयलाई स्वीकार गर्नुभएको छ,’ उनले भने ।

सभापति थापाले दलको नेता चयनका लागि अल्छी र लाचार भएर ढिलाइ नगरेको पनि प्रष्टीकरण दिए । पार्टीका नेताहरूसँग छलफल गर्नुपरेका कारण निर्णयमा पुग्न समय लागेको उनको भनाइ छ ।
‘यो ढिलाइ अल्छी गरेर गरेको ढिलाइ पनि होइन, यो लाचार भएर गरेको ढिलाइ पनि होइन । यो निर्णयमा पुर्याउनुपर्ने थियो,’ थापाले भने, ‘निर्णयमा पुर्याउन निम्ति सबै साथीभाइसँग संवाद–छलफल गर्नुपर्ने, केही समय लिएर गर्नुपर्ने भएकाले समय लागेको हो ।’
दलको नेता चयनका लागि समय लागेका कारण टिका–टिप्पणी हुनु स्वाभाविक भएको उनको भनाइ छ । बहुसंख्यक सांसद र पार्टीको नेतृत्वमा रहेका बहुसंख्यक नेताहरूको चाहना सर्वसम्मत दलको नेता चयन गर्नुपर्ने भएका कारण समय लागेको सभापति थापाले बताए ।
‘केही समय बढी लाग्यो । समय बढी लागेको हुनाले टिका–टिप्पणी हुनु स्वाभाविक हो । निर्वाचनको प्रक्रियाबाट भोलिपल्टै हामी संसदीय दलका नेता टुंग्याउन सक्थ्यौं,’ उनले भने, ‘तर, यो पटक बहुसंख्यक सांसद साथीहरूको पनि सर्वसम्मत दलको नेता चयन होस् भन्ने थियो । र, पार्टीको नेतृत्वमा रहेका बहुसंख्यक साथीहरूको चाहना पनि त्यही थियो ।’
सभापति थापाले कांग्रेसमा प्रतिष्पर्धा गर्ने विषय स्वाभाविक हुन थालेको पनि बताए । पार्टीमा प्रतिस्पर्धा गर्ने विषय सजिलो र सर्वसम्मत निर्णय गर्ने विषय बडो गार्हो रहेको अनुभव पनि उनले सुनाए ।
‘नेपाली कांग्रेसभित्र प्रतिस्पर्धा गर्ने कुरा स्वाभाविक हुन थालिसक्यो । त्यहाँभित्र प्रतिस्पर्धा गर्ने–गराउने कुरा बडो सजिलो छ । सर्वसम्मति गराउने कुरा सबैभन्दा गाह्रो छ,’ थापाले भने, ‘बाहिर ढिलो भयो भनिरहँदा हामी यसलाई परिपक्व बनाइरहेका थियौं । जसले गर्दा आज बडो सहजतापूर्वक यो स्थितिमा आएको छ ।’

कांग्रेसको १४ औं महाधिवशेनमा नेता आङ्देम्बे निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट आदिवासी–जनजाति कलस्टरअन्तर्गत सहमहामन्त्रीमा निर्वाचित भएका थिए । उनको अहिले दोस्रो संसदीय यात्रा हो ।
आङ्देम्बे संविधानसभा सदस्य निर्वाचन २०७० मा संविधानसभाका सदस्य थिए । तत्कालीन समयमा उनले संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समिति सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
२०३६ सालमा उनी पाँचथरको फिदिम माध्यामिक विद्यालयमा अध्ययनरत थिए । जनमत संग्रहको समयमा उनले विद्यालयमा प्रार्थनाका लागि सहपाठीहरू पंक्ति –लाइनमा उभिएका बेला टाउकोमा कालो रूमाल बाँधेर विद्रोह गरेका थिए ।
तत्कालीन समयमा टाउकोमा कालो रूमाल बाँधेको प्रसंगबारे उनी भन्छन्, ‘त्यसको स्पष्ट सन्देश थियो– भद्र र शान्तिपूर्ण विद्रोह । २०३९ सालको राष्ट्रिय पञ्चायतको चुनावमा आङ्देम्बेले आफ्ना बाजे देउमान आङ्देम्बे (पूर्वमन्त्री) बाट पैसा लिएर कांग्रेस समर्थित पाँचथरका उम्मेदवार मानबहादुर जबेगूलाई आर्थिक सहयोग गरेका थिए ।
२०४२ सालमा कांग्रेस नेताहरू सत्याग्रह बसे । तत्कालीन समयमा आङ्देम्बेले नौ महिना जेल बस्नुपरेको थियो । त्यसपछि उनी पटक–पटक गरी डेढ वर्ष जेल बसेका थिए । २०४२ तिरै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए ।
२०४२ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएका आङ्देम्बेले पहिलो जनआन्दोलनमा केन्द्रीय सदस्यको रूपमा पूर्वाञ्चलको कमाण्ड सम्हालेका थिए ।
२०४९ को स्थानीय निकायको निर्वाचनताका आङ्देम्बेको नाम जिल्ला विकास समिति पाँचथरको सभापतिका लागि चर्चामा आयो । तर, उनले अग्रह नेता भूविक्रम नेम्बाङलाई समर्थन गरेर जिल्ला विकास समितिको सदस्यमा बसे ।
जिल्ला विकास समिति सदस्य आङ्देम्बेका लागि पहिलो जनप्रतिनिधिको रूपमा काम गर्ने अनुभव थियो । त्यसपछि उनी पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को कांग्रेस सभापति भए ।
२०५१ सालतिर आङ्देम्बे कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष भए । अध्यक्ष बालकृष्ण खाँण थिए ।
२०५६ सालदेखि आङ्देम्बेले पाँचथर–२ बाट संसदीय निर्वाचन लडेका थिए । उनी दोस्रो संविधानसभा सदस्य निर्वाचन (२०७०) मा निर्वाचित भए । उनी पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए ।

संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि आङ्देम्बेले नेताहरूप्रति आभार व्यक्त गरे । ‘सभापतिज्यू, सम्पूर्ण केन्द्रीय कार्यसमिति र शीर्ष नेतृत्वहरूलाई हार्दिक धन्यवाद ज्ञापन चाहन्छु,’ उनले भने, ‘र हामीहरूसँग पार्टी र पार्टीले नयाँ ढंगबाट लिएको बाटोलाई निष्कर्षमा पुर्याउने चुनौतीहरू छन् ।’
आङ्देम्बेले संसद्मा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए । ‘संसद्मा सरकारले गरेका राम्रा कामको समर्थन गर्दै अन्यथा कहीँ कतै भएको अनुभूति मात्रै भयो भने पनि मुलुकको निम्ति हामीले सशक्त ढंगबाट प्रतिवाद गर्नुछ,’ उनले भने, ‘सम्पूर्ण जनताले आशा पनि हामीमाथि गरेका छन् । प्रतिपक्षको रूपमा नेपाली कांग्रेसले आफ्नो अनुभवबाट खारिएको विचारले नेतृत्व गरोस् भन्ने चाहना छ । त्यसलाई पनि सम्मान गर्दै हामीहरू सशक्त ढंगबाट राम्रो कामको समर्थन र नराम्रो कामको प्रतिवाद गर्ने छौं ।’
प्रतिक्रिया 4