+
+
Shares

‘लालीबजार’ बारे के भन्छन् वादी अभियन्ता र चलचित्र निर्माता संघ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बादी समुदायले फिल्म 'लालीबजार' लाई आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् र कुनै अपमानजनक विषय नरहेको बताएका छन्।
  • केन्द्रीय चलचित्र जाँच समितिले 'लालीबजार' लाई युनिभर्सल सर्टिफिकेट दिएर सबैले हेर्न मिल्ने गरी पास गरिसकेको छ।
  • चलचित्र निर्माता संघले फिल्म प्रदर्शनमा अवरोध हुनु उद्योगका लागि नकारात्मक भएको र 'लालीबजार' निर्वाध प्रदर्शनको माग गरेको छ।

काठमाडौं । षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । फिल्मको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुग्ने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग फिल्ममा नरहेको देवीसरा वादीले बताइन ।

काठमाडौँमा आयोजित निर्मातासँगको संयुक्त पत्रकार सम्मेलनमा सरादेवीले आफ्नो संस्थाका महिलालाई फिल्म देखाउने बताइन ।

उनले भनिन्, ‘हामीले फिल्म हेरिसकेका छौँ । केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो निर्माण पक्षले हटाउनुभयो, हामी कृतज्ञ छौँ । यो कथाले वा लालीबजार फिल्मले हाम्रो समुदायको भावनामा ठेस पुर्‍याउने कुनै काम गरेको छैन । उल्टै यसमा हाम्रो सङ्घर्ष र विद्रोहको कथा देखाइएको छ । यसले हामीलाई हाम्रो अधिकारको लागि लड्न झनै हौसला दिएको छ ।’

उनले फिल्ममार्फत आफ्नो लागि लड्न प्रेरित गर्ने आमाको कथा देख्न पाइने बताइन । यस्तै, बादी समुदायका अभियन्ताको रुपमा परिचित हिक्मत बादीले पनि फिल्म हेरेपछि समुदायको भावनालाई ठेस पुग्ने कुनै आशय ‘लालीबजार’ मा नरहेको प्रस्ट्याए ।

उनले भने, ‘यो तराईको आमाको कथा हो । हामीलाई आपत्ति लागेको शब्द हटाएपछि फिल्मलाई लिएर आपत्ति मान्नुपर्ने, रोक्नुपर्ने कुनै कारण छैन । हामीले हाम्रो विरुद्ध भएको शोषणको आवाज अब उठाउने बेला आएको छ, हामीले सडकमा उठाईरहेका छौँ । फिल्ममा पनि कलाका मध्यमले हाम्रो विरोधको आवाज सुनिन थालेको छ, यसमा नराम्रो छ भन्ने मलाई लाग्दैन ।’

उनले फिल्ममा शासक र शोषकबाट आमाले बचाउन गरेको सङ्घर्षले बादी महिलासँगै अन्य समुदायका महिलालाई पनि अन्याय विरुद्ध लड्न बल दिने बताए । जबसम्म लुकेको घाउ देखाइँदैन, तबसम्म डाक्टरले उपचार गर्न नसक्ने रमा बादीले बताइन ।

‘हामी फिल्म हेर्ने मनसायले आएका थिएनौं, हामी हाम्रो सरकारसँग गरिएको सम्झौता किन कार्यन्वयन भएन् भनेर सिंहदरबार पुगेका थियौँ । त्यहाँ हाम्रो समुदायको कथामा फिल्म बनेको छ भन्ने थाहा पाएपछि हामीले हेरेका हौँ । हामीले हाम्रो राय पनि दिईसकेका छौँ । यो फिल्म मूलतः आमा र छोरीको कथा हो । शासकले शोसन गरेको आमाले आफ्नो छोरीका लागि लड्ने लडाई हामी सबैका लागि प्रेरणा छ । यो हाम्रो आमाको कथा हो, जसले हाम्रो लागि लडिन्’, उनले भनिन् ।

पत्रकार सम्मेलनमा सहभागी पदम राना बादी, रमेश गन्दर्भ बादी लगायतले पनि फिल्म हेरिसकेको र समुदायलाई आपत्ति हुने कुनै दृश्य र संवाद नरहेको बताए ।

यस्तै, राय र सुझावका आधारमा केन्द्रीय चलचित्र जाँच समितिले ‘लालीबजार’ लाई सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ सर्टिफिकेट दिदै पास गरिसकेको छ । ‘लालीबजार’ अघि नै बादी समुदायको कथामा फिल्म ‘पण्डित बाजेको लौरी’ सहित दुई उपन्यासहरु ‘नथिया’, ‘ऐलानी’ प्रदर्शन तथा प्रकाशन भइसकेका छन् ।

सेन्सर बोर्डबाट पास भइसकेकाले यो फिल्मले बादी समुदाय लगायत कुनै पनि जात, धर्म, वर्ण, क्षेत्र, सम्प्रदायका मानिसको मान मर्यादा, इज्जत-प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने, कसैप्रति घृणा, द्वेष वा वैमनस्यता उत्पन्न गर्ने, साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता कार्य नगरेको सहजै बुझ्न सकिन्छ ।

चलचित्र निर्माता संघका अध्यक्ष उदय कुमार ईङ्नामद्वारा मंगलबार जारी विज्ञप्तिमा फिल्म केवल मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्तिको स्वतन्त्रताको सशक्त माध्यम भएको उल्लेख गरिएको छ । करोडौँ रुपैयाँको लगानी र सयौँ प्राविधिक तथा कलाकारको वर्षौँको मेहनतबाट निर्माण भएको फिल्मलाई प्रदर्शनको अन्तिम तयारीमा रहँदा अवरोध सिर्जना हुनुले समग्र उद्योगलाई नै सशंकित बनाएको संघको ठहर छ ।

राज्यको वैधानिक निकाय ‘केन्द्रीय चलचित्र जाँच समिति’ ले प्रदर्शनका लागि अनुमति दिइसकेको अवस्थामा अदालतमा रिट दर्ता हुनुले स्वतन्त्र लगानीकर्ता र सर्जकको मनोबल कमजोर पार्ने विज्ञप्तिमा जनाइएको छ । ‘प्रदर्शनको मुखमा आएर फिल्मलाई रोक्ने वा प्रभावित पार्ने मनसायले रिटको प्रक्रिया सुरु हुनुले लगानीकर्ताको आत्मबल कमजोर बनाउने र सिर्जनशीलतालाई कुण्ठित गर्ने जोखिम रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले विधिको शासन र न्यायपालिकाप्रति पूर्ण निष्ठा व्यक्त गर्दै सिर्जनामाथिको बन्देज वा अवरोध हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेको छ । फिल्मको मर्म, लगानीको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतालाई मध्यनजर गर्दै ‘लालीबजार’ निर्वाध रूपमा प्रदर्शन हुने वातावरण निर्माण गरिदिन संघले अदालत र सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

यो फिल्मको प्रदर्शन वैशाख १८ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?