News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुदूरपश्चिम प्रदेशको कैलालीबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ खरिद सुरु गरेको छ।
- कम्पनीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३९४५ रुपैयाँमा ३ सय ५ रुपैयाँ थप गरी प्रतिक्विन्टल ४२५० रुपैयाँमा गहुँ खरिद गर्दैछ।
- प्रारम्भिक चरणमा धनगढीबाट १० हजार क्विन्टल गहुँ खरिद गरिने र प्रतिकिसान ७० क्विन्टल तथा सहकारीबाट ५ सय क्विन्टलसम्म खरिद गर्ने योजना छ।
१७ वैशाख, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गहुँ खरिद सुरु गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सुदूरपश्चिम प्रदेशको कैलालीबाट गहुँ खरिद सुरु गरेको हो ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा गहुँ पाउन मुस्किल भएपछि कम्पनीले किसानलाई प्रोत्साहन हुने गरी आफैले थप रकम दिएर खरिद थालेको जनाएको छ ।
सरकारले गत मंसिरमै गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ तोकेको थियो । तर, बजारमा गहुँको भाउ उच्च रहेकाले कम्पनीले सरकारले तोकेको उक्त मूल्यमा ३ सय ५ रुपैयाँ थप गरी खरिद प्रक्रिया अघि बढाएको छ ।
बुधबारदेखि प्रादेशिक कार्यालय धनगढीमार्फत कैलालीका दुई स्थानबाट गहुँ खरिद सुरु भइसकेको छ । कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार खुला बजारमा गहुँको मूल्य धेरै भएकाले सरकारी मूल्यमा गहुँ नपाउने अवस्था आएसँगै आन्तरिक स्रोतबाट रकम थप गरिएको हो ।
‘सरकारी समर्थन मूल्यमा खरिद गर्दा किसानबाट गहुँ आउने सम्भावना न्यून देखिएपछि कम्पनीले थप गरेर प्रतिक्विन्टल ४ हजार २ सय ५० रुपैयाँमा खरिद गर्दैछ,’ खरिद विभाग प्रमुख पौडेलले भने, ‘अहिले अन्य ठाउँमा बजार मूल्य अत्यधिक उच्च भएको र हामीले मूल्य थप गर्दा पनि गहुँ नआउने अवस्था छ, अर्कोतर्फ आन्तरिक बजेट पनि कम भएकाले हाल धनगढीबाट मात्रै खरिद सुरु गरेका छौं ।’
प्रारम्भिक चरणमा प्रादेशिक कार्यालय धनगढीमार्फत १० हजार क्विन्टल खरिद गरिनेछ । गहुँ खरिदका लागि अन्य प्रादेशिक कार्यालयहरूबाट पहल भइरहेको कम्पनीले जनाएको छ ।
गहुँ खरिद प्रक्रियालाई व्यवस्थित बनाउन कम्पनीले खरिदको सीमासमेत तोकेको छ । जसअनुसार प्रतिकिसान बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५ सय क्विन्टलसम्म मात्र गहुँ खरिद गर्ने योजना कम्पनीको छ ।
प्रतिक्रिया 4