News Summary
Generated by OK AI. Editorially reviewed.- रानाघाटकी रानू मण्डलले २०१९ मा लता मंगेशकरको गीत गाएर सामाजिक सञ्जालमा ख्याति पाएकी थिइन्।
- मुम्बईको रियालिटी शोमा सहभागी भएर प्लेब्याक गायनको अफर पाएकी रानू अहिले आर्थिक र स्वास्थ्य समस्यामा छिन्।
- उनको परिवारबाट टाढा बस्दै रानूले संगीतको औपचारिक तालिम नलिई रेडियो सुनेर गीत सिकेकी थिइन्।
कुरा ५/६ वर्षअघिको हो ।
पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा उनी आफ्नो गुजाराका लागि लता मंगेशकरका गीतहरू गाउने गर्थिन् । सन् २०१९ मा अतिन्द्र चक्रवर्ती नामक एक युवकले उनको स्वरमा ‘एक प्यार का नगमा है’ गीत रेकर्ड गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदिए ।
उनको आवाजमा लता मंगेशकरको जस्तै जादु र सादगीपन देखिएपछि त्यो भिडियो भाइरल भयो । लाखौं/करोडौं पटक हेरियो । त्यसपछि मान्छेहरूले उनलाई ‘रानाघाटकी लता’ भन्न थाले ।
उनलाई गीत गाउने र स्टेज शोहरूमा पनि प्रस्तावहरूको ओइरो लाग्यो । मुम्बईको एउटा रियालिटी शोमा पनि उनलाई आमन्त्रित गरियो । त्यहाँ संगीतकार हिमेश रेशमियाले उनको स्वर मन पराए र आफ्नो फिल्ममा ‘प्लेब्याक गायन’को अफर दिए ।
तर, केही समयमा नै उनी ओझेल पर्दै गइन् । हालैका वर्षहरूमा त उनी गुमनाम नै छिन् ।
उनी हुन्, रानू मण्डल । केही वर्षअघि उनी सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा व्यापक छाएकी थिइन् । यस्तो लाग्थ्यो, उनको भविष्य बदलियो । तर हालैको बीबीसी हिन्दीको पछिल्लो रिपोर्टिङका अनुसार उनको अवस्था उस्तै नै छ । सायद पहिलेको तुलनामा झन् बढी पीडादायी ।
000
पश्चिम बंगालको नदिया जिल्लाको रानाघाटकी बासिन्दा रानूको सानैदेखि संगीतमा रुचि थियो । उनी लता मंगेशकर, आशा भोसले, किशोर कुमार र मोहम्मद रफीका गीतहरू सुनेर हुर्किएकी थिइन् । ती गीतहरू गाउने पनि गर्थिन् ।
गाउने यही सोखले रानू मण्डललाई इन्टरनेटमा ख्याति दिलाएको थियो । तर, उनको चर्चा दिगो भएन । पश्चिम बंगालबाट मुम्बई पुगे पनि उनी गाउँ नै फर्किइन् । अहिले उनी दुई कोठाको एकतले घरमा एक्लै बस्छिन्।

जहाँ कुनै समय मिडियाको भीड लाग्थ्यो । तर अहिले परिस्थिति बदलिएको छ । स्थानीय बासिन्दाका अनुसार उनको स्वास्थ्य अहिले राम्रो छैन । आर्थिक अवस्था पनि कमजोर छ । आफन्तहरू पनि साथमा छैनन् । उनको हेरचाह छिमेकीहरूले नै गरिरहेका छन् ।
केही समयअघि त उनको घरको अवस्था पनि ठीक थिएन । एक शुभचिन्तकले घर मर्मत गरिदिएका थिए ।खाना र कपडाको व्यवस्था पनि अरूले नै गरिदिन्छन् ।
यद्यपि अचेल पनि युट्युबर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरू उनलाई खोज्दै आउने गर्छन् ।
000
संगीतको कुरा गर्दा, उनले कहिल्यै पनि संगीतको औपचारिक तालिम लिइनन् । रेडियोमा गीत सुनेरै सिक्न सफल भइन् । उ बेला; उनको फुपाजुसँग एउटा रेडियो थियो । दिउँसो रेडियो बज्दा उनी ध्यान दिएर सुन्थिन् । अनि म पनि गाउन सक्छु भनेर गाउन कोसिस गर्थिन् । गीत गाउँदा दु:ख भुल्न सजिलो हुने उनको भनाइ छ ।
उनको निजी जीवन उतारचढावले भरिएको छ । सानै उमेरमा विवाह भएको थियो । उनका दुई सन्तान थिए । श्रीमान् मुम्बईमा भान्सेको काम गर्थे । छोराछोरी हुर्काउन उनले धेरै संघर्ष गर्नुपर्यो । तर, अहिले उनीहरू कोही पनि रानूको साथमा छैनन् ।
त्यो दु:ख भुलाउन उनी कुनै समय चर्च जाने गर्थे । अहिले भने जाादिनन् । सुरुमा उनलाई यो कुराको पछुतो हुन्थ्यो । अहिले छैन । बरु परिवारबाट टाढा हुनुको पीडा उनमा ज्यादा छ ।
अब सायदै उनलाई फेरि भाइरल हुन मन छ !
प्रतिक्रिया 4