News Summary
Generated by OK AI. Editorially reviewed.- आन्ध्र महासागरमा यात्रारत एमभी होन्डियस क्रुज पानीजहाजमा हन्टाभाइरसको प्रकोप फैलिएको छ र विश्व स्वास्थ्य संगठनले तीन जनाको मृत्यु पुष्टि गरेको छ।
- डब्लुएचओले एक जनामा संक्रमण पुष्टि गरेको र पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ भने दक्षिण अफ्रिकाले बेलायती संक्रमितलाई आईसीयूमा राखेर उपचार गरिरहेको छ।
- विश्व स्वास्थ्य संगठनले भाइरसको आनुवंशिक संरचना पत्ता लगाउन अनुसन्धान गरिरहेको र जहाज सञ्चालक तथा सदस्य राष्ट्रसँग समन्वय गर्दै उद्धार र जोखिम मूल्याङ्कनमा सहयोग गरिरहेको छ।
२१ वैशाख, काठमाडौं । आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ।
दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले एक बेलायती यात्रुमा संक्रमण पुष्टि भएको र उनलाई हाल आईसीयूमा राखेर उपचार भइरहेको बताएको छ । यसले गर्दा जहाजमा रहेका अन्य यात्रुहरूमा समेत सन्त्रास फैलिएको छ।
यस प्रकोपबाट मृत्यु हुने पहिलो व्यक्ति ७० वर्षीय पुरुष हुन् । उनलाई जहाजमै अचानक ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने जस्ता लक्षण देखिएका थिए र सेन्ट हेलेना टापु पुगेपछि उनको मृत्यु भएको थियो।
त्यसको केही समयपछि उनकी ६९ वर्षीया श्रीमतीमा पनि सोही लक्षण देखिएको र दक्षिण अफ्रिकी अस्पतालमा उपचारका क्रममा उनको पनि ज्यान गएको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।
विश्व स्वास्थ्य संगठनले यस घटनालाई गम्भीरतापूर्वक लिँदै आन्ध्र महासागरमा भइरहेको यस जनस्वास्थ्य संकटमा अनुसन्धान र सहयोग सुरु गरेको विज्ञप्ति मार्फत जनाएको छ।
संगठनले प्रयोगशाला परीक्षण र महामारी सम्बन्धी अनुसन्धानहरू जारी रहेको बताउँदै भाइरसको आनुवंशिक संरचना पत्ता लगाउन वैज्ञानिकहरू सक्रिय रहेको जानकारी दिएको छ। डब्लुएचओले जहाज सञ्चालक र सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै बिरामी परेका यात्रुहरूको उद्धार र बाँकी रहेकाहरूको जोखिम मूल्याङ्कनमा समेत सहयोग गरिरहेको छ।
डच झण्डा बोकेको यो पानीजहाज करिब तीन हप्ताअघि अर्जेन्टिनाको उशुआयाबाट प्रस्थान गरेको थियो जसमा विभिन्न देशका करिब १५० पर्यटकहरू सवार थिए। यो जहाजले अन्टार्कटिका, फकल्याण्ड टापु, दक्षिण जर्जिया र सेन्ट हेलेना जस्ता टापुहरूको भ्रमण गरिसकेको छ र आइतबार राति केप भर्डेको राजधानी प्रैयामा आइपुगेको छ।
बेलायती विदेश मन्त्रालयका प्रवक्ताले पनि आफ्ना नागरिकहरूको अवस्थाबारे स्थानीय अधिकारीहरूसँग नियमित सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।
प्रतिक्रिया 4