२१ वैशाख, काठमाडौं । एटलान्टिक महासागरमा सञ्चालित एक पानीजहाजमा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा एक जनामा मुसाबाट सर्ने दुर्लभ रोग ‘हान्ताभाइरस’ पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अर्जेन्टिनाको उशुआयाबाट केप भर्डेतर्फ गइरहेको एमभी होन्डियस क्रुज जहाजमा हान्ताभाइरसको सम्भावित प्रकोपबारे अनुसन्धान भइरहेको छ ।
आइतबार सार्वजनिक वक्तव्यमा डब्लूएचओले एक जनामा संक्रमण पुष्टि भएको र थप कम्तीमा पाँच जना यात्रुमा संक्रमणको आशंका गरिएको जनाएको छ ।
‘६ जना प्रभावितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने एक जना दक्षिण अफ्रिकामा सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्,’ वक्तव्यमा उल्लेख छ ।
डब्लूएचओका अनुसार थप प्रयोगशाला परीक्षण तथा महामारीसम्बन्धी अनुसन्धान जारी छ । यात्रु र चालक दललाई आवश्यक स्वास्थ्य सेवा तथा सहयोग उपलब्ध गराइँदैछ भने भाइरसको जिन सिक्वेन्सिङ पनि भइरहेको छ । साथै, लक्षण देखिएका अन्य दुई यात्रुलाई उद्धार गर्न देशहरूबीच समन्वय गरिरहेको जनाएको छ ।
हान्ताभाइरस संक्रमित मुसाको दिसा वा पिसाबमार्फत मानिसमा सर्ने दुर्लभ रोग हो । गम्भीर अवस्थामा यसले रगत बग्ने ज्वरो (हेमोरेजिक फिभर) निम्त्याउन सक्छ र ज्यानसमेत जान सक्छ।
दम्पतीको पनि मृत्यु
दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले आइतबार यसअघि ‘गम्भीर तीव्र श्वासप्रश्वास सम्बन्धी रोग’को प्रकोप भएको र कम्तीमा दुई जनाको मृत्यु भएको जनाएको थियो । तेस्रो व्यक्ति जोहानेसबर्गमा आईसीयूमा उपचाररत रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेका अनुसार जोहानेसबर्गमा उपचाररत बिरामीमा हान्ताभाइरस पुष्टि भएको छ ।
पहिलो पटक लक्षण देखिएका ७० वर्षीय पुरुषको जहाजमै मृत्यु भएको थियो । उनको शव हाल दक्षिण एटलान्टिकस्थित बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा राखिएको छ ।
उनकी ६९ वर्षीया श्रीमती पनि बिरामी परेपछि दक्षिण अफ्रिका लगिएको थियो, जहाँ उनको जोहानेसबर्गस्थित अस्पतालमा मृत्यु भएको मोहालेले जानकारी दिएका छन् ।
मृतकहरूको राष्ट्रियता हालसम्म पुष्टि नभएको जनाइएको छ । तर आईसीयूमा रहेका बिरामी ६९ वर्षीय बेलायती नागरिक भएको एएफपीले जनाएको छ ।
प्रतिक्रिया 4