News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सुकुमवासी व्यवस्थापनमा डोजर आतंक तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।
- सांसद शर्माले सुकुमवासी पहिचान नगरी डोजर चलाउँदा खोला किनारका बस्तीहरूमा मानवीय सङ्कट उत्पन्न भएको बताएकी छिन्।
- सांसद शर्माले सशस्त्र द्वन्द्व अन्त्य भएको दुई दशक पुग्न लाग्दा पनि बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन नसक्नु दु:खद् भएको बताइन्।
२१ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सुकुमवासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ भइरहेको भन्दै तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बैठकमा आफ्नो धारणा राख्दै सांसद शर्माले वास्तविक सुकुमवासी र हुकुमवासीको पहिचान नगरी बस्तीहरूमा डोजर चलाउँदा मानवीय सङ्कट उत्पन्न भएको बताएकी हुन् ।
‘वास्तविक सुकुमवासी को हो भन्ने पहिचान नगरी र उचित विकल्प नदिई डोजर चलाउँदा अहिले खोला किनारका बस्तीहरूमा चिल्लीबिल्ली भएको छ । आज बालबालिकाहरू स्कुल जान पाएका छैनन्, कक्षा १२ को परीक्षा चलिरहेको छ,’ उनले भनिन्, ‘सुत्केरी र गर्भवती महिलाहरूको अवस्था दयनीय छ । हाम्रो समिति मानव अधिकार समिति पनि भएकाले यसतर्फ गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’
सरकारले पहिला सुकुमवासी पहिचानका लागि टोली खटाउनुपर्ने र उचित व्यवस्थापन गरेपछि मात्रै संरचना हटाउनुपर्नेमा उनको जोड थियो । ‘यो जमिन सरकारको हो भने हामी नागरिक चाहीँ कसका हौँ ?’ भन्ने सुकुमवासीहरूको प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
सांसद शर्माले सशस्त्र द्वन्द्व अन्त्य भएको दुई दशक पुग्न लाग्दा पनि बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन नसक्नु दु:खद् भएको बताइन् ।
‘गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा दोषीलाई सजाय र अन्य हकमा आममाफी दिएर भएपनि शान्ति प्रक्रियालाई पूर्णता दिनु जरुरी छ । अब यसलाई धेरै लम्ब्याउनु हुँदैन,’ उनले भनिन् ।
प्रतिक्रिया 4